आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन गर्ने निर्णय

प्रकाशित
1K
SHARES

काठमाडौँ । कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित देखिएको पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालनको निर्णय भएको छ । अहिलेसम्म ६४ जना संक्रमित देखिएको पर्सामा मंगलबार एकै दिन ३९ जना संक्रमित थपिएपछि निषेधाज्ञा कडिकडाउ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त सेना परिचालनको पनि निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएपछि त्यसको पूर्ण पालना हुन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय भएको जनाएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

यस्तै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको हो।

मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए। तर अब सो सुविधासमेत रोकिएको छ। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइने बताए ।

‘कार्यालयको परिचय पत्रको आधारमा हिडडुल गर्न पाइन्न। यो बुझाइ गलत भयो,’ उनले भने’ सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको,बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बै‌ंक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुन्छ।’

सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको उनले बताए । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

प्रतिक्रिया