आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा पहिलोपटक ४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि, काे हुन उनीहरू ?

प्रकाशित
2.5K
SHARES

काठमाडौं । पर्सामा आज (मंगलबार) एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ । नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म ४ जना पत्रकारहरु रहेको खुलेको छ । ‘मंगलबार संक्रमण पुष्टि भएका सबैको विषयमा हामीले डिटेल लिने काम गरीरहेका छौं,’ डा सिंहले भने, ‘आज भेटिएका संक्रमितहरुमध्ये पत्रकारहरु पनि हुनुहुन्छ भन्ने कुरा आएको छ, केही समयमा थप जानकारी आउँछ ।’

एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएकाले पर्सामा समुदायमा कोरोना संक्रमण फैलिएको अवस्था भएको डा सिंहले बताए । डा सिंहका अनुसार पर्सामा संकलन भएका थ्रोड स्वाब परीक्षणको क्रम अझै जारी रहेको छ । त्यसैले पर्सामा संक्रमितको संख्या अझै बढ्न सक्छ ।

‘आज देखिएको केसलाई हेर्दा कोरोना संक्रमण अब समुदायमा फैलिएको अवस्था हो, आज देखिएका जति नै संक्रमित भोली पनि देखिन सक्छन्,’ डा सिंहले भने, ‘आज त आधा थ्रोट स्वाबको मात्र नतिजा आएको छ, भोली यो भन्दा बढी केस देखिने सम्भावना छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डे पनि अब नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने बताउँछन् । उनले भने, ‘भारतका सीमा नाकाबाट आउने जाने क्रम चलिरहेको छ, त्यसैले अब संक्रमित बढ्न सक्छन् ।’ कोरोना समुदायमा फैलिएको हो वा होइन भन्नेबारे भने कन्ट्याक्ट ट्रेसिङको काम सकिए पछि मात्र यकिन हुने उनले बताए ।

‘संक्रमति देखिएका क्षेत्रहरुमा अहिले त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ गर्दै हुनुहुन्छ,’ डा पाण्डेले भने, ‘संक्रमितलाई कोरोना सर्ने स्रोत थाहा नहुँदा मात्र समुदायमा फैलिएको भन्ने हो । त्यसैले कन्ट्रयाक ट्रेसिङको काम नसकिँदै समुदायमा संक्रमण फैलिएकोभन्न मिल्दैन ।’ खबरहबबाट साभार

यसैबीच उता छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले मंगलबार बिहानैदेखि प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्‍चितकालका लागि सिल गरेको छ । कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आउजाउ बन्द गरेको हो । सोमबार एकैदिन कपिलवस्तुमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरेको छ । शीतगंगा नगरपालिकाको कपिलवस्तुसँग सीमा जोडिएका गाउँमा स्वयंसेवक परिचालन भएका छन् ।

‘कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका हौं, सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविष्णुराज बेल्वासेले भने । मुख्य बाटो छलेर जंगलबाट आउने संभावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । साथै पाल्पा, गुल्मी र प्युठानका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।

अत्यावश्यक बाहेक अरु गाडीलाई आउजाउमा पास नदिने पनि उनले बताए । सरकारले विश्‍वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि जेठ ५ गतेसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया