आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरीसँग कु’टाकु’ट गरेर आफ्ना नागरिक पक्राउ परेपछि चीनले मुख खोल्यो, गर्यो यस्तो दावी

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । शुक्रबार सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ । चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको दाबी गरेका छन् ।

दूतावासले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।प्रवक्ता लुअनका अनुसार चिनियाँ पक्षले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्नु पर्ने भन्दै आइरहेको छ ।

‘चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएको छ । साथै आफ्ना उचित मागहरु तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि भन्दै आएको छ,’ प्रेस नोटमा लेखिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको समयमा चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई बारम्बार सरकारको नियममा सहकार्य गर्न सम्झाउँदै आएको छ । अनावश्यक बाहिर ननिस्किन र उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न आग्रह गर्दै आएको छ ।’

दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको जनाएको छ ।

प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको बताएका छन् । ‘अनावश्यक कुरालाई छाडी अन्तर्राष्ट्रिय हवाई उडान नखुल्दासम्मको अवस्थासम्म चिनियाँ नागरिकलाई पर्खन भनिएको छ,’ उनले भनेका छन् । साथै, चिनियाँ दूतावासले नेपाली पक्षलाई चिनियाँ नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न अनुरोध गरेको छ ।

‘त्यसका लागि हामी नेपालको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार विभाग, नेपाल पुलिस र अन्य सहयोग गर्ने विभागहरुलाई पनि धन्यवाद दिन चाहन्छौं,’ प्रवक्ता लुअनले भनेका छन् ।

उनले सीमित उडानका कारण धेरै चिनियाँहरु अझै नेपालमा अड्किएको बताएका छन् । नेपालले मे ३१ सम्मको लागि अन्तर्राष्ट्रिय उडानलाई रद्द गरेको र चिनियाँहरुले विभिन्न माध्यमबाट घर फर्कनका लागि आग्रह पनि गरिरहेको बताएका छन् ।

‘हामी नेपाली पक्षसँग सम्पर्कमा भइरहेनै छौं । यो संकटको घडीमा हामी आशा गर्न सक्छौं कि चीन र नेपालले एक अर्कालाई बुझ्न सक्छन् र साथमा लकडाउनमा आउन सक्ने विभिन्न घटनाहरुलाई सम्हाल्न सक्छौं,’ उनले भने

चिनियाँ नागरिकले आफ्नो मुलुक फर्कन पाउनु पर्‍यो भन्दै शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेटअगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप हुँदा केही चिनियाँ नागरिक र प्रहरी घाइते भएका थिए ।

प्रहरीले उक्त स्थानबाट करिब ४५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने प्रहरीमाथि हातपात गर्नेविरुद्ध मुद्दासमेत लगाउन लागेको छ । चिनियाँ नागरिकहरु शुक्रबार बिहान चिनियाँ दूतावासअघि पुगेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिवार बिहानसम्म २ हजार ९३० जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा १ हजार ९८५, पाकिस्तानमा ६१८, बंगलादेशमा २०६, अफगानिस्तामा १०९, श्रीलंकामा ९ र माल्दिभ्समा ३ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा मृत्यु हुनेको संख्या २ हजार ९११ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म १ लाख २ हजार ७७४ जना संक्रमित भएका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत चौथो स्थानमा छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ६ हजार ५४१ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ४ हजार ६३३ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा ३ हजार ६८९ जना, चौथो नम्बरमा रहेको भारतमा १ हजार ९८५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएका छन् ।

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ६१८ जनाको मृत्यु भएको छ भने २७ हजार ४७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७ हजार ५३० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १८ हजार ३०६ जनाको उपचार भइरहेको छ ।

बंगलादेशमा थप ७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २०६ पुगेको छ । त्यहाँ थप ७०९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १३ हजार १३४ पुगेको छ । बंगलादेशमा संक्रमित मध्ये २ हजार १०१ जना उपचारपछि निको भइसकेको छन् । १० हजार ९८२७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अफगानिस्तामा हालसम्म १०९ जनाको मृत्य भएको छ भने ३ हजार ७७८ जना संक्रमित भएका छन् । अफगानिस्तामा विहीबार थप २ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो । विहीबार थप १०३ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या १ हजार २७९ पुगेको छ । अफगानिस्तानमा संक्रमितमध्ये १७९ जना उपचारपछि निको भएका छन् । १ हजार ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंकामा कोरोना भाइरसको संक्रमणले १२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ थप १२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ८३५ पुगेको छ । त्यसमध्ये २४० जना उपचारपछि निको भएका छन् भने ५८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

माल्दिभ्समा कोरोना भाइरसले ३ जनाको मृत्यु भएको छ भने ७४४ जना संक्रमित भएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । माल्दिभ्समा अहिलेसम्म २२ जना उपचारपछि ठीक भइसकेका छन् भने ७२१ जना विभिन्न अस्पताहरुमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको हो । अहिलेसम्म ३० जना उपचारपछि घर फर्किएका छन् भने ७९ जनाको उपचार भइरहेको छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण देखिएको भुटानमा अहिलेसम्म ७ जना संक्रिमत भएका छन् । संक्रमितमध्ये ५ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया