आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सबैलाई चकित पार्दै सप्तरीको क्‍वारेन्टाइनबाट १९ भारतीय बेपत्ता, जुत्ता, चप्पल र ब्याग कोठामै भेटियो

प्रकाशित
739
SHARES

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।  चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ । अवधेशकुमार झाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।

बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए । गायब भएका सबैको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ । उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो । ‘आफै भागेर कोही जान सक्ने अवस्था छैन, प्रहरीको यत्रो डयुटी छ,’ क्वारेन्टाइनमा रहेका बिहारका मुकेशकुमारले भने, ‘उनीहरुलाई खोज्नु अब नेपाल सरकारको दायित्व हो ।’

कोसी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर हो । गायब भएकाहरु सुनसरी प्रवेश गरेका छैनन् । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए । उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि उनीहरुको भनाइ छ । ‘उनीहरुको कोरोना परीक्षण पनि गरिएको थिएन । यसले नेपाली बस्तीतर्फ जोखिम बढ्यो,’ एक स्थानीयले भने, ‘प्रहरीको लापरबाहीले यस्तो भयो ।’

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताए ।सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनमध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताए । २४ घण्टा प्रहरीको ड्युटी रहेको स्थानबाट १९ जना कहाँ गए भन्ने प्रश्नमा डीएसपी भारतीले भने, ‘त्यो खोज्दै छु, बुझ्दै छु ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले यसबारे प्रतिक्रिया दिन मानेनन् । ‘सबै अड्डाका विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी हुँदैन,’ प्रजिअ खनालले भने, ‘त्यहाँ खटिएकाहरुलाई सोध्नुस् न, यसबारे म बोल्दिनँ ।’ उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित सम्पर्क हुन सकेन ।

स्रोतका अनुसार प्रमुख राइनसहित पाँच प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएको छ । राइनको स्थानमा नयाँ प्रहरी नायव निरीक्षक पठाइएको छ । डीएसपी भारतीले भने राइनसहित ५ प्रहरीलाई जिल्ला बोलाउनु आन्तरिक कुरा रहेको बताए ।

प्रतिक्रिया