आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो योजनाअनुसार ओली सरकारले गर्यो सेना परिचालन

प्रकाशित
1.2K
SHARES

काठमाडौं । सरकारले पाँच हजार ३०० स्वाब संकलन गरी कोभिड-१९ परीक्षण गर्ने योजनाअनुसार विभिन्‍न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित नेपाली सेनाको टोली परिचालन गरेको छ।

नेपाली सेनाको छाउनीस्थित कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई स्वास्थ्य मन्त्रालयले आज प्रदेश नं १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का जोखिम तथा सम्भावित संक्रमणयुक्त जिल्लामा पठाइएको हो ।

उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परीक्षण गर्ने योजना छ।

यसैबीच मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु पुगेको छ ।

आजै कपिलवस्तु पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको छ। प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरेको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ । अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै उता आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षणले तीव्रता पाउन सकेको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएको भएपनि एक हजारको मात्र कोरोना परीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

तीमध्ये अहिलेसम्म एक हजार १२० जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । ४३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको हो भने ७९० जनाको द्रुत परीक्षण गरिएको हो । कोरोना जाँच गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।

जिल्लामा भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भए पनि आरडीटी किटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, “जिल्लाका सबै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको द्रुत परीक्षणबाट कोरोना जाँच गर्ने भनिएको भए पनि किटको अभावमा सो कार्य अघि बढ्न सकेको छैन् ।”

लकडाउनपछि मात्रै भारतबाट दुई हजार ९२ जना जिल्ला भित्रिएका छन् । कतिपयलाई प्रशासन आफैले सीमानाकाबाट उद्धार गरेको हो भने केही नागरिक ट्युबमार्फत महाकाली तरेर जिल्ला भित्रिएका हुन् ।

लकडाउनपछि जिल्ला भित्रिएकामध्ये पनि एक हजारभन्दा बढी नागरिकको कोरोना परीक्षण बाँकी नै छ । यद्यपि ती नागरिक क्वारेन्टाइनमा बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीको भनाइ छ ।

भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने वा थ्रोट स्वाब सङ्कलन गर्ने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । यही वैशाख १८ गते उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा बसेको एक हप्ता हुँदासम्म पनि कोरोना परीक्षण कसरी गर्ने भन्ने टुङ्गो लागेको छैन । क्वारेन्टाइनमा बसेका नागरिकले भने आफूहरुको छिटो जाँच गर्नुपर्ने बताएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा अहिले पनि एक हजार ३२४ जना बसिरहेका छन् ।

जिल्लामा आरडीटी किटको अभाव भएकाले प्रदेश सरकारसँग माग गरिएको छ तर त्यहाँ पनि किटको अभाव रहेको बताइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो । तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया