आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदै

प्रकाशित
644
SHARES

काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए-नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ । पत्रकारलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको संसद सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो केस १० चैतमा देखियो, जुन बढेर अब १०१ पुगेको छ । उनीहरु मध्ये १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया