आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्ड फुटको संघारमा, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे यस्ता तीन ट्वीट, नेकपाभित्र तरंग

प्रकाशित
3.7K
SHARES

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा २ अध्यादेश ल्याएपछि सतहमा आएको उक्त पार्टीभित्रको आन्तरिक कलहले यतिबेला नेपाली राजनीति तातेको छ ।

राजनीतिक दल विभाजन र संवैधानिक परिषदमा विपक्षीको प्रतिनिधित्व आवश्यक नपर्ने संसोधनसहितका दुई अध्यादेश ल्याएपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचना भएपछि ३ दिनमै ओलीले फिर्ता गरे र राष्ट्रपति विद्या भण्डारीले दुवै अध्यादेश खारेज गरिन । अध्यादेश खारेज भए पनि नेकपाभित्रको आन्तरिक विवादमा भने अध्यादेशले नै घिउ थपेको छ ।

यतिबेला प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डबीच आन्तरिक द्वन्द उत्कर्षमा छ । त्यसको पछिल्लो उदाहरण हो बुधबारको सचिवालय बैठक । बुधबार अपरान्ह  वालुवाटारमा बसेको सचिवालय बैठक छोडेर ओली एकाएक बाहिए, जसकारण उक्त बैठक बिना कुनै निष्कर्ष सकियो भने बिहिबारका लागि बोलाइएको पार्टी स्थायी समिति बैठक पनि स्थगित भयो ।

अब पार्टीका २ अध्यक्षले छलफल गरेर फेरी स्थायी समित बैठकको नयाँ मिति तय गर्ने बताइएको छ । स्थायी समिति बैठक स्थगित भएपछि नेकपाका नेताहरुका बिभिन्न धारणाहरु बाहिर आइरहेका छन् । विधिबार मात्रै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् ।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।’उनले पहिलो ट्विटमा भने । यससँगै उनको अर्को ट्विट पनि आयो, ‘अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ-आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं।’

यसबाहेक उनको अर्को ट्वीटमा भनिएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन। यो त शोषित-श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने?’

बुधबार बसेको सचविालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका एजेन्डामा सरकारको समीक्षा र संगठनात्मक बाँडफाँटको विषय नपारेपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित छ । यसपछि नेकपाभित्रको विवद नयाँ तरिकाले मुखरित भएको छ ।

यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै अर्थपूर्ण दुई ट्वीट गरेका थिए । मंगलबार बिहान उनको ट्वीट थियो, ‘अस्तिको सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ । अत:अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मूख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प- यो हो निश्कर्ष।’

जबकि त्यसैदिन राति उनले अर्को ट्वीटमा लेखेका थिए,‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’

नेकपाका २० स्थायी कमिटी सदस्यको भेला, स्थायी कमिटी बैठक बसाल्न सचिवालय सदस्यलाई दबाब दिने
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटीका २० नेताले अध्यक्षसहित सचिवालयका नेताहरूलाई भेटेर तत्काल स्थायी कमिटीका बैठक बोलाउन दबाब दिने भएका छन् ।

पार्टी कार्यालय, धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरूले पार्टी विधानलाई लत्याएर स्थगित गरिएको भन्दै अध्यक्षद्वय केपी ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूलाई भेटेरै दबाब दिने निर्णय गरेका हुन् ।

नेकपाको स्थायी कमिटीका बैठक आज बिहान ११ बजेबाट धुम्बाराही पार्टी कार्यालयमा सुरु हुने गरी स्थायी कमिटीका नेताहरूलाई बोलाइए पनि बुधबार बसेको सचिवालय बैठकपछि अध्यक्ष ओली र प्रचण्डले स्थगित गर्ने निर्णय गरेका थिए । २० वैशाखको सचिवालयले तोकेको बैठक रोकिएकोमा सचिवालयकै नेताहरू पनि असन्तुष्ट छन् ।

‘विधानअनुसार १५ दिनभित्र बैठक बोलाउनुपर्थ्याे, तर साथीहरूले कुरा राख्छन् भनेर बैठकै नबोलाउने, स्थगित गर्ने कुरा पनि कहीँ हुन्छ ?’ असन्तुष्ट समूहका नेता देवेन्द्र पौडेलले भने, ‘बैठक बोलाइएको भए सरकारलाई सहयोग गर्ने कुरा, कमी–कमजोरी, संकट समाधानबारे छलफल हुन्थ्यो, समाधानका विभिन्न उपायहरू निकाल्न सकिन्थ्यो, त्यसैले तत्काल स्थगित बैठक बोलाउन माग गर्दै सचिवालयका सबै नेताहरूलाई भेटेरे कुरा राख्ने सहमति भएको छ ।’

अध्यादेश प्रकरणमा सरकार विवादमा परेपछि गत १० वैशाखमा २० सदस्यहरूले बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई छुट्टै ज्ञापनपत्र बुझाएका थिए । तर, लिखित मागलाई समेत नेतृत्वले बेवास्ता गरेपछि उनीहरू थप आक्रोशित भएका छन् । ‘फेरि नेताहरूलाई भेट्ने, सरसल्लाह गर्ने, कोरोना महामारी, जनताका जल्दाबल्दा समस्याहरूका बारेमा पार्टीमा छलफल हुनुपर्छ भनेर भेटौँ भन्ने समझदारी भएको छ,’ पौडेलले भने ।

धुम्बाराहीस्थित कार्यालयमा उनीहरूले करिब डेढ घन्टा छलफल गरेका थिए । १० वैशाखमा दुवै अध्यक्षलाई लिखित पत्र लेखेर बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएका थिए । उनीहरू मंगलबार पनि भेला भएर छलफल गरेका थिए ।

भेला गर्ने २० स्थायी कमिटी सदस्यहरूमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन् ।

नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपरेकाले अहिले अन्य विषयमा प्रवेश गर्न नसकिने भन्दै पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठकप्रति अनिच्छा देखाएका थिए । बैठकको बीचमा ओली उठेर हिँडेपछि सचिवालयले ठोस निर्णय गर्न सकेको थिएन । लगत्तै बैठक बिहीबारका लागि तोकिएको स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो ।

गत २० वैशाखमा बसेको सचिवालय बैठकले उत्कर्षमा पुगेको शीर्ष नेताहरूको विवाद समाधान हुने गरी पार्टीलाई विधि, प्रक्रिया र कम्युनिस्ट मूल्य–मान्यता तथा आदर्शअनुसार अघि बढाउने र सरकार पार्टीको मार्गदर्शनमा चल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसहित नेताहरूले सामूहिक आत्मालोचना गरेपछि एकतासहित पार्टीलाई अघि बढाउने सहमति गर्दै बिहीबार (आज) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

एक–दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौँ : प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् । स्थायी कमिटी बैठक स्थगित भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै बिहीबार उनले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको जानकारी दिए । संसद् भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक–दुई दिनभित्र बोलाउँछौँ ।’

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्ष प्रचण्डले आज नै संसद् सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिए । ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो, तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ,’ उनले भने ।

प्रतिक्रिया