आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाको सचिवालय बैठक बस्दै, यस्ताे छ तयारी

प्रकाशित
1K
SHARES

काठमाडौं । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुुटावारमा अपराह्न तीन बजेपछि बस्ने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ । सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए ।

यद्यपि अध्यक्षद्वय ओली र प्रचण्डबीच पुनः खटपट भएकाले सहमतिको प्रस्ताव तयार नभइसकेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली विगतको सहमतिबाट पछि हटेकाले एजेण्डा तयार हुन नसकेको स्रोतले बतायो । ओलीले एक व्यक्ति एक पद, नेताहरुको जिम्मेवारी हेरफेरलगायत विषयलाई बैठकका एजेण्डामा समावेश गर्न मानेका छैनन् ।

सरकार अलोकपि्रय भएको र प्रधानमन्त्रीको मनोमानी बढेको भन्दै असन्तुष्ट ओली इतर समूहले स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । स्थायी कमिटीमा करिब दुई तिहाइ सदस्यहरु ओलीको विपक्षमा देखिएका छन् ।

औपचारिक बैठकमै आफ्नो आलोचना हुने थाहा पाएपछि ओलीले सकेसम्म धेरै सदस्यहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । मंगलबार मात्रै ओलीले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका थिए । प्रचण्डले पनि नेपाल र खनाल समूहलाई आफूतिरै राख्ने प्रयास गरिरहेका छन् ।

यसैबीच माधव कुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्थायी कमिटी सदस्यहरूले बैठक २५ गतेको हुने पार्टीको स्थायी कमिटीको बैठकमा ‘एक व्यक्ति एक पद’को माग गर्ने निर्णय गरेका छन्।

पाटनमा मंगलबार बसेको उनीहरूको भेलाले यस्तो निर्णय गरेको प्रचण्ड निकट स्थायी कमिटी सदस्य गणेश साहले बताए। पाटनमा भएको यो भेलामा नेपाल-प्रचण्ड समूहका सबैजसो सदस्य सहभागी भएको साहको भनाइ छ।

उनले आफूहरूले लेखेको पत्रका आधारमा दुई अध्यक्षले बैठक बोलाएकाले बैठकमा आफ्नो धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न भेला भएको जानकारी दिए। उनले सो बैठकमा प्रधानमन्त्रीको राजिनामासम्म माग्ने विषयमा छलफल भएको जानकारी दिएका छन्।

प्रतिक्रिया