आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि १ हप्ता लकडाउन थपिने निश्चित

प्रकाशित
1.1K
SHARES

काठमाडौं ।कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि थप निर्णय गर्न (आज) बुधबार मन्त्रिपरिषदको बैठक बस्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिइए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

समितिका सदस्य सचिव समेत रहेका विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’ बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने निर्णयमा समिति पुगेको हो । यसैबीच विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ ।

भारतमा पनि कोरोना भाइरसको संक्रमणले लकडाउन गरिएकाले उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको मस्जिदमा क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिद बसेका १२ जना भारतीयमध्ये ६ जनाको तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

मन्त्री घिमिरेका अनुसार डिस्चार्ज हुनेहरुमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्मद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।

प्रतिक्रिया