आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन लम्ब्याउनेबारे उच्चस्तरीय समितिले गर्यो यस्तो निर्णय

प्रकाशित
1K
SHARES

काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । केहिसमय अगाडि मात्रै सकिएको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो ।

बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए ।

‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,’ बैठकपछि सचिव बिडारीले भने । नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल सचिव बिडारीले बताए ।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौं भन्ने निष्कर्ष बैठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न अपिल गरिएको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न पनि आग्रह गरिएको हो ।

मन्त्रालयमा आज (मंगलबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताए । ‘मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ,’ उनले भने ।

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरे । ‘मदिरा सेवनले कलेजोमा हानी गर्छ, त्यस्तै शरीरका अन्य अङ्गमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ,’ उनले भने । अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उनले सचेत गराए ।

प्रतिक्रिया