आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप, यस्तो छ थप विवरण

प्रकाशित
1.5K
SHARES

नेपालगञ्ज । निषेधित क्षेत्र घोषित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ ।

बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए ।

प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने देशभर ८२ पुगेको छ। मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया