आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

प्रकाशित
777
SHARES

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।

यस तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि केन्द्रको बैठकले निर्णय गरेको छ । बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसरी निर्माण कार्य सञ्चालन गर्दा सम्बन्धित निर्माण व्यवसायीले कामदारलाई ग्रुप आइसोलेसन गरी सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया