आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने बिषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा बाहिरियो

प्रकाशित
3.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन नसकिने बताएका छन् । अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने ओलीले बताए ।

भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए ।

चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै त्यहाँ रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।

सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको विश्लेषण थियो ।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए । अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको स्रोतले बतायो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका आधारमा हरियो, पहेँलो र रातो क्षेत्र निर्धारण गर्ने मापदण्ड बनाएको छ । तर पर्याप्त परीक्षण नभएकाले यो लागू हुनेमा भने शंका छ ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि चार दिन बाँकी छ । साथै आइतबार मात्र २६ गतेबाट सुरु हुने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गरिएको छ । त्यसैले २५ वैशाखपछि लकडाउन केही खुकुलो हुने अनुमान छ ।

तर अबको लकडाउन मोडल कस्तो हुन्छ भन्ने अझैसम्म प्रष्ट भइसकेको छैन । आइतबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे गृहकार्य गर्न कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको अवस्था, लकडाउनको प्रभावलाई समेत ध्यानमा राखेर अब कुन मोडलको लकडाउनमा जाने भन्ने रणनीति बनाउन थालेको छ । दिनहुँ बैठक भइरहेको छ । आइतबार पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग र केही स्वतन्त्र विज्ञसँग लकडाउनको मोडलबारे छलफल भएको थियो । तर अहिलेसम्म यो मोडलमा जाने भन्ने निष्कर्षमा पुगेको छैन ।

बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार विज्ञहरुको रायसमेत बाझिएको छ । कोही विज्ञले अझै लकडाउन खोल्न नहुने मत राखेका छन् भने कोहीले निश्चित मोडल लकडाउन खुकुलो बनाउनुपर्ने बताएका छन् । ‘केही विज्ञहरु लकडाउन खोल्न टेस्ट पर्याप्त भएको छैन भन्छन् भने कोही विज्ञहरु अब नखोले आर्थिक संकट हुन्छ भन्नेमा छन्’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘सम्भवत भोलिसम्म एउटा निष्कर्षमा पुग्छौं ।’

अधिकांश विज्ञहरु हरियो, हेलो र रातो क्षेत्र मार्किङ गर्ने मोडलमा सहमत भएपनि कुन क्षेत्रलाई रातो, कुनलाई पहेलो र कुनलाई हरियो बनाउने भन्नेमा अन्यौलमा छन् । केही विज्ञहरुले मार्किङ नगरी संक्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो र संक्रमण देखिएको क्षेत्रमा कडा बनाउन सुझाएका छन् ।

प्रतिक्रिया