आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनको हस्तक्षेपपछि ओलीले प्रचण्डलाई यसरी दिए चक्मा, अब प्रधानमन्त्री पदबाट राजिनामा दिन्छन कि दिदैनन ?

प्रकाशित
1.8K
SHARES

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादमा चीनले हस्तक्षेप गरेको खुलासा भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई दुवै पदबाट हटाउन प्रचण्ड र माधव नेपाल समुह सक्रिय भएपछि ओलीले चीन गुहारेका हुन् । नेकपा उच्च स्रोतले  संचारकेन्द्रलाई दिएको जानकारी अनुसार केहिदिनअघि चिनियाँ पक्षले ओलीको बिरुद्ध नजान प्रचण्डलाई दवाव दिएको थियो ।

त्यसपछि नेकपामा आन्तरिक विवाद झन् बल्झिदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता गरिन् । कोरोना संक्रमण र लकडाउन बेला पनि राजदूत याङछीले शुक्रबार बिहान मात्रै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले शुक्रबार प्रचण्ड र नेपालसँग भेट गरेकी हुन् । यान्छी सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुगेकी थिइन् । त्यहाँबाट उनले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गरेकी थिइन् । दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपटक टेलिफोन संवाद गरेकाे समेत खुलासा भएको छ ।

यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा उनीहरुबीच के कुराकानी भयो भन्ने बाहिर आएको छैन ।

शनिबार अपराह्न ४ बजे बोलाइएको सचिवालय बैठकअगाडि नेकपा नेताहरूले समूहगत छलफल गरे । प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर मनाउने प्रयास गरिरहँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच ललितपुरमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले गौतम, रामबहादुर थापा र विष्णु पौडेलसँग बालुवाटारमा छलफल गरेका थिए । ओलीले दिनभरको छलफलमा गौतमलाई कन्भिन्स पनि गरे ।

गौतम कन्भिन्स भएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगे । शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्केका ओलीले सचिवायलको बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवासकै गोप्य कोठामा प्रचण्डसँग करिब ४० मिनेट कुराकानी गरे । त्यसपछि प्रचण्ड समेत बैठकमा आउदा उज्यालो मुहार लिएर आएको एक नेताले बताए ।

प्रधानमन्त्रीको आत्मालोचना
स्रोतका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले छोटो सम्वोधन गरेका थिए । उनले अहिलेसम्म जे-जे तीतामीठा भए, त्यसलाई बिर्सिन र मिलेर अगाडि बढ्न प्रस्ताव गरे । ‘म पार्टीको अध्यक्ष पनि हुँ, सरकारको नेतृत्व पनि मैले नै गरेको हुनाले अहिलेसम्म जेजस्ता कमजोरीहरु भए, त्यसको जिम्मा मैले लिनैपर्छ,’ बैठकमा आत्मालोचना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मिलेर जानुको विकल्प छैन । यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुन्न ।’

प्रधानमन्त्रीपछि कार्यकारी अध्यक्ष अध्यक्ष प्रचण्ड बोले । प्रचण्डले पनि सहमतिका साथ अगाडि बढ्नुपर्ने बताए । साथै अब स्थायी कमिटी बैठक राख्ने र त्यहाँ छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा प्रचण्डले बैठकमा राखे । सचिवालय बैठकले नेता वामदेव गौतमलाई प्रतिनिधिसभाको चुनाव लडाउने राजनीतिक निर्णय लिएको छ । जहाँ जहिले खाली हुन्छ, त्यहीँबाट चुनाव लडाउने नेकपाको तयारी छ ।

सचिवालय बैठकले आगामी २५ वैशाखमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । गत ११ वैशाखमा स्थायी समितिका २० सदस्यले अध्यक्षद्वयलाई पत्र लेखेर अविलम्ब बैठक बोलाउन माग गरेका थिए । स्थायी समिति बैठकको तयारीका लागि २४ वैशाखमा सचिवालय डाकिएको छ ।

भारत काेराेनाकाे अलमलमा, चीनले पायाे खेल्ने ठाँउ

सधैजसाे भारतीय प्रभाव बढी देखिने नेकपाको राजनीतिमा यसपटक भने चीन हावी भएको छ, त्यो पनि ओलीको पक्षमा । यसअघि पूर्व एमाले र पूर्व माओवादीको एकता हुने बेलामा पनि  २ पार्टीका नेताहरुलाई उत्तरी हावाले छोएकै थियो । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले भारत पनि आक्रान्त छ । यस्तो बेलामा भारतले नेपालको राजनीतिमा त्यति धेरै चासो दिन पाएको छैन । तर कोरोनासँग तंग्रिदै गरेको चीन भने नेपाली राजनीतिमा हावी भएकाे र फेरिन लागेकाे नेकपाभित्रको सत्ता समीकरण एकाएक रोकिएकोमा २ मत छैन ।

सधै कटाक्ष र कडा शब्द प्रहार गरेर प्रचण्ड पक्षमाथि कड्किदै आएका ओलीले शनिबारको बैठकमा एकाएक आत्मालोचना गर्नु, प्रचण्डलाई समान आसनमा राख्नु र बैठकपछि नाटकीय रुपमै भए पनि बाहिर सबै मिलेर गएको सन्देश दिन खोज्नु उत्तरी हावाको झोकाको कमाल भएको चर्चा नेपाली राजनीतिक वृतमा सुरु भएको छ ।

प्रतिक्रिया