आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस केन्द्रीय समितिमा सरकारको कडा आलोचना

प्रकाशित
871
SHARES

काठमाडौँ । सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रमक देखिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको घोटलादेखि अध्यादेश प्रकरणसम्म आइपुग्दा सरकारले वैधता गुमाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले सरकारप्रति आफ्नै पार्टीको नेतृत्वसमेत लचक बनेकोमा असन्तुष्टि जनाएका छन् ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेलललगायतले सकारको कडा आलोचना गरेका थिए । उनीहरुले पछिल्ला घटनाक्रममा राष्ट्रपतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएका छन् ।

सरकारका गलत कदमलाई आक्रमक ढंगले अघि बढाउन नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाबसमेत दिएका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीको नियन्त्रणमा सम्पूर्ण शक्ति एकिकृत गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउने दिशामा लागेको भन्दै आपत्ति जनाए ।‘संविधानको मर्म र भावनाविपरित संवैधानिक परिषद्‍लाई आफ्नो मुठीमा ल्याउने र पार्टीहरुमा तोडफोड मच्चाउने नियतले दल त्यागसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थीरता, अराजकता र भाँडभैलो मच्चाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?’ पौडेलले बैठकमा राखेको लिखित मन्तव्यमा भनेका छन् ।

उनले पार्टी फोर्न सांसद अपहरण गर्ने बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेका सांसदलाई आश र त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? भन्दै प्रश्न गरेका छन् ।

सरकारले सिफारिस गरेको अध्यादेशलाई अध्ययन नै नगरी मिनेटभरमा पारित गर्ने राष्ट्रपतिको भूमिकासमेत विवादस्पद रहेको पौडेलको भनाई थियो । ‘संविधानका संरक्षक नै ‘धृतराष्ट्र’बनेपछि ‘हस्तिनापुर’को संरक्षण कसले गर्ला ?’ पौडेलले भनेका छन् ।

आफू अपहरित भएको र आफ्नो सांसद अपहरित गरिएकोमा उजुर लिएर पुलिस र सरकारी वकिल कहाँ उजुरी दर्ता गर्न जाने सांसद र नेताहरुलाई रित्तै फर्काउने सरकार देशको कानूनी प्रकृयामा स्वयं बाधक र स्वेच्छाचारी भएको आरोप बैठकमा पौडेलले लगाएका थिए ।

पूर्व महामन्त्री सिटौलाले चिनियाँ राष्ट्रपतिसँगको राष्ट्रपतिको टेलिफोन संवाद, प्रधान्यायधीशसँग प्रधानमन्त्रीको भेटलगायतका राजनीति घटनाक्रमले मुलकलाई असंवैधानिक र निरंकुश बाटोमा लैजाने तयारी भइरहेको आरोप लगाएका थिए । यसतर्फ पार्टी नेतृत्वलाई गम्भीर हुनसमेत सिटौलाले सुझाए ।

प्रतिक्रिया