आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाकाे सचिवालय बैठक सुरू

प्रकाशित
812
SHARES

काठमाडाैं । आन्तरिक विवादको तनावका बीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ। बुधबार साँझ बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो।

बुधबार दिउँसो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूह(ओली समूह र प्रचण्ड-नेपाल समूह) ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन्।

नेकपामा पछिल्लो समय राजनीतिक तरंग आएको छ। प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको आरोप लगाएका छन्। ओली र नेपालनिकट नेताहरूले निकासका लागि मंगलबार दिनभरि प्रयास गरे पनि सफल हुन सकेको छैन। नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन्।

प्रधानमन्त्री ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् ।

पार्टी एकता जोगाउनकै लागि मुख्यमन्त्री शंकर पोखरेल बुटबलबाट काठमाडौं आएर कहिले कोटेश्वर त कहिले खुमलटार गरिरहेका छन् । उनले आवश्यक परे मुख्यमन्त्रीसमेत त्याग्न तयार रहेको नेतृत्वलाई बताएका छन् । अरू नेताहरू पनि दुरी घटाउन लागिपरेका छन् ।

तर, केपी ओलीकै निकटस्थ रहेका अन्य केही नेताहरू चाहिँ पार्टीमा एकताभन्दा पनि मुठभेड निम्त्याउने तयारीमा छन् । उनीहरू विभिन्न सांसदलाई लिएर बालुवाटार जाने र संसदीय दलमा प्रधानमन्त्रीलाई बहुमत पुर्‍याइन्छ, तपाईं नझुक्नोस् भन्दै उक्साउन सक्रिय बनेका छन्। प्रधानमन्त्री ओलीलाई संसदीय दलमा बहुमत देखाउने अभियानमा सांसद महेश बस्नेतसहितको टोली सक्रिय बनेको छ ।

नेकपाभित्र प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादी समूहमा पनि दुई धार देखिएको छ । नेकपाभित्र माधव पक्षले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चेतावनी दिइरहेका बेला पूर्वमाओवादी खेमाका केही नेताले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुन्न भन्दै ओली र प्रचण्डबीचको एकतामा जोड दिएका छन् ।

ओलीले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्रीबाट हटाउने चेतावनी नेपाल पक्षले दिइसकेको छ । प्रचण्डले पनि ओलीलाई निकास दिन सुझाइरहेका छन् । बुधबार साँझको सचिवालय बैठकबाट स्थायी कमिटी बैठक बोलाउन ओलीमाथि दबाब दिने रणनीति छ ।

प्रतिक्रिया