आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना अस्थायी अस्पताल भरतपुरमा अख्तियारको छापा

प्रकाशित
1.6K
SHARES

चीतवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको हो ।

दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले जानकारी दिए ।

विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको कार्कीले बताए । चैत ७ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा सञ्चालनमा आएको हो । चैत २१ गते सो अस्थायी अस्पताल भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो ।

सोमबार कर्मचारीले सामानहरु ओसारेको भिडियो सार्वजनिक भएको थियो । अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभई प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ । कार्यदलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको हो ।

कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले सञ्चालन गर्ने सहमतिपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’ कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म अस्पतालमा एक करोड २६ लाख खर्च भएको विवरण पेश गरिएको थियो ।

यसैबीच विपद् व्यवस्थापन समिति बझाङलाई कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वर्ल्ड भिजनले आर्थिक सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री स्थानीय प्रगतीशिल युवा समाजले बझाङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उदेश्यले समितिलाई त्रिपाल एक सय ८० थान, पीपी फर्म ९ रोल, ब्लाङ्केट ९० थान, डोरी ९० रोल, झुल ९० थान, थर्मल गन ४ सेट, बाटा ४० सेट र पीपीई ४५ सेट हस्तान्तरण गरेको प्रगतिशिल समाजका अध्यक्ष रमेश केसीले बताए ।

सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा रोजगारीका लागि भारत गएका अधिकांश मानिसहरु हाल भन्सार नजिकै सीमानामा क्वारेन्टाइनमा बसिरहेका छन् । उक्त स्वास्थ्य सामग्री कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग गरिने बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

प्रतिक्रिया