आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रौतहटमा थप दुईमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

प्रकाशित
0.9K
SHARES

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संत्रमण पुष्टि भएसँगै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका इमर्जन्सी विभागका प्रमूख डा उदयनारायण सिंहले जनाकारी दिए । ती दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम पनि शुरु गरिएको अस्पतालका डा सिंहले बताए ।

दुईजना संक्रमित थपिएसँगै नारायणी अस्पालमा उपचारत संक्रमितको संख्या ५ पुगेको छ । यसअघि नारायणी अस्पतालबाट ४ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि काठमाडौं र आसपास क्षेत्रमा छरिएर रहेका स्थानीय नागरिकलाई धमाधम जिल्ला भित्र्याउने काम अगाडि बढेको छ । गोसाइँकुण्ड एवं कालिका गाउँपालिकाले बसको व्यवस्था गरी जिल्ला भित्र्याएका स्थानीय बासिन्दाको संख्या ३१९ पुगेका छन् ।

सोमबार साँझसम्म रसुवा प्रवेश गर्नेमा १६५ पुरूष र १५४ महिला छन् । उनीहरूलाई आआफ्ना गाउँघरको पायक पर्ने स्थानमा स्थापित क्वारेन्टाइनमा राखिएको छ । रसुवाका सांसद मोहन आचार्यका अनुसार बसबाट ल्याइएका स्थानीयवासीलाई बेत्रावतीबाट जिल्ला प्रवेश गराउनुपूर्व लगत तयार गरिनाका साथै पायक पर्ने क्वारेन्टाइन तोक्न रसुवाको प्रवेशद्वारमै केही घण्टा रोकिने गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सावधानीअनुरूप जिल्ला प्रवेश गरेका सबै स्थानीय नागरिकलाई बेत्रावतीबाटै सम्बन्धित गाउँपालिकाका पदाधिकारीमार्फत क्वारेन्टाइनमा पठाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए । धुञ्चेको क्वारेन्टाइनमा गोसाइँकुण्ड गाउँपालिकाले ६७ जनालाई व्यवस्थापन गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले क्वारेन्टाइनमा खानपिनदेखि वाइफाईसम्म चाहिने आवश्यकता सबै पूर्ण बनाइएको जानकारी दिए । रसुवाका पाँच वटै गाउँपालिकाका विभिन्न स्थानमा १० क्वारेन्टाइन रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया