आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनको ३४ औं दिन वीरगञ्जबाट आयो दुखद खबर, र्‍यापिड टेस्टमा काेराेना देखिएकी युवतीको मृत्यु

प्रकाशित
2.8K
SHARES

वीरगञ्ज ।  र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो,’ उनले भने, ‘पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं ।’

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गर्‍यो ।

लकडाउन सुरु भएको दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरु बताउँछन् ।

त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।

उनको इङ्गेजमेन्ट (टीकाटालो) भइसके पनि बिहे हुन बाँकी थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।

यस्तै वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

प्रतिक्रिया