आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

प्रकाशित
2.1K
SHARES

काठमाडौँ । विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका शनिबार २ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार साँझसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ७ पुगेको छ र यो बढ्ने क्रममा छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या २८ लाख ६६ हजारभन्दा धेरै छ । हजारौं अझै बिरामी छन् भने हालसम्म ८ लाख १० हजार निको भएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५२ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख २४ हजारभन्दा बढी छ । अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या २३ हजार पुगेको छ । फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ ।

कोभिड–१९ संक्रमणका कारण पहिलो मृत्यु भाइरस उद्गमस्थल वुहानका ६१ वर्षीय पुरुषको जनवरी ११ मा भएको थियो भने अमेरिकाले फेब्रुअरी २९ मा पहिलो पटक वासिङ्टन राज्यका एक पुरुषको मृत्यु भएको घोषणा गरेको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस (कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि सर्वसुलभ हुनुपर्ने बताएका छन् । ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दु:ख पाएकाले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ,’ उनले शुक्रबार ट्वीट गरेका छन् ।

विश्वका केही देशले कोभिड–१९ को खोप मानिसमा परीक्षण गरेको समाचार सार्वजनिक भएसँगै महासचिव गुटेरेसको भनाइ आएको हो । भाइरविरुद्धको खोप निर्माणको प्रतिस्पर्धा चलिरहेका बेला बेलायत र अमेरिकाले मानिसमा परीक्षण सुरु भएको बताइसकेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले मानिसमा भाइरसको खोपको पहिलो परीक्षण सुरु गरिएको जनाइसकेको छ ।

प्रतिक्रिया