आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको लागि सरकारसँग आग्रह

प्रकाशित
888
SHARES

टर्की । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् ।

‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौँको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे ।

उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ ।

सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जानकारी दिए ।

टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए ।

यसैबीच कुबेतमा आवासीय भिसा उल्ल‌ंघन गरी बसेका नेपालीले भोलिबाट आममाफीको प्रकृयामा सहभागी हुन पाउने छन् । कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गर्न ढिलाइ गर्दा भने नेपाली कामदारलाई समस्या परेको छ ।

कुवेतले आवेदनका लागि अप्रिल २६ देखि ३० सम्म ४ दिनको समयसीमा तोकेको छ । कुबेतमा रोजगारदाता छाडेर अन्यत्रका कम्पनी वा घरमा काम गर्दै आएका नेपालीहरूको संख्या झण्डै ७ हजार रहेको छ ।

गत फेब्रुअरी २९ सम्म भिसाको म्याद सकिएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउनेछन् । उनीहरुले जरिवाना तिर्नुपर्दैन भने नेपालसम्म आउने हवाई टिकटसमेत कुवेत सरकारले नै दिनेछ । कुवेतले आममाफीमा सहभागी हुने नेपालीका लागि निश्चित केन्द्र तोकेको छ। जिलिव हसविया क्षेत्रमा पुरुष र महिला कामदारलाई छुट्टाछुट्टै केन्द्र छन्।

पुरुषले जिलिव अल सुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाले जिलिव अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा जानुपर्नेछ।

फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ। महिला कामदारलाई सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी स्कुलको ब्लक नम्बर १ तोकिएको छ। दूतावासले महावुल्ला क्षेत्रका कामदारलाई तोएिको केन्द्र भने अझै खुलाएको छैन।

आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्याग मात्र लैजान पाइनेछ। आवेदन स्वीकृत भएपछि तोकिएको अस्थायी आश्रय केन्द्रमा बस्न पाइनेछ। नेपाल नआएसम्म त्यहाँबाट निस्कन पाइनेछैन।

जोसँग म्याद भएको सक्कली राहदानी छ तिनले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) लिन दूतावास गइरहनु पर्दैन । उनीहरू सीधै तोकिएको केन्द्रमा गई आवेदन दिन पाउनेछन्। त्यस्तै जिलिव क्षेत्रमा बस्ने नेपालीले भने सक्कल राहदानी नभए पनि तोकिएकै केन्द्रमा ट्राभल डकुमेन्टका लागि आवेदन दिन सक्ने, दूतावास जानु नपर्ने व्यवस्था मिलाइएको छ।

राहदानी साथमा नभएकाले मात्रै ट्राभल डकुमेन्ट बनाउनुपर्छ। त्यसका लागि राहदानी, नागरिकता, सिभिल आईडीको फोटोकपी र चारप्रति फोटो लैजानुपर्छ। कुनै कागज नभएकाहरूको हकमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट लिई चारप्रति पासपोर्ट साइज फोटोसहित सोही स्थानमै आवेदन दिन सकिने नेपाली दूतावासले जनाएको छ।

जिलिव हसवियाबाहेक स्थानमा बसोबास गर्ने सक्कल राहदानी नभएका कामदारले भने ट्राभल डकुमेन्ट बनाउन दूतावासै जानुपर्नेछ। राहदानी, नागरिकता, सिभिल आईडको फोटोकपीसमेत नभएकालाई दजिजस्थित जनरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ।

दूतावासले जिलिव हसविया क्षेत्रमा बस्नेबाहेकका नेपालीलाई फरक–फरक समय तोकेको छ । फर्वानिया, खैतान, सुएख, रिगाई र कुवेत सिटीमा बस्नेलाई अप्रिल २५, फाहाहिल, मंगाफ र फिन्तास बस्नेलाई अप्रिल २६, ओफ्रा, अवदली, जाहरा, सालमिया र हवाली बस्नेलाई अप्रिल २७ को मिति तोकिएको छ।

यो क्षेत्रबाहेकका नेपालीलाई अप्रिल २८ देखि ३० सम्मको अवधि छुट्ट्याइएको छ। महाबुल्ला क्षेत्रका नेपालीलाई छुट्टै सूचना प्रकाशित नभएकाले दूतावासले यो दुई दिन छुट्ट्याएको हुन सक्छ।

प्रतिक्रिया