आज : गते

ताजा शिर्षकहरु

नेपालीहरुको हितलाई मध्यनजर गर्दै उच्चस्तरीय समितिले गर्यो यस्तो निर्णय, अब के गर्ला ओली सरकार ?

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो ।

केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। लकडाउन थप्ने की के गर्ने भन्नेबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।

‘केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ,’ उनले भने। शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए।

समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ। यसको अन्तिम टुंगो मन्त्रिपरिषद्‍ले लगाउनेछ।

लकडाउनसँगै अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।

सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् । त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् ।

नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्री एयरलाइन्सले मेडिकल सामग्री ल्यायो । सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि सुरूमा केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । अहिले त्यो क्रम ठप्प छ ।

नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा
यसैबीच नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो। ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन,’ उनले भने, ‘त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ। नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ। दुवैले आ-आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन्। यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ। ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो। अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ। अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा पीसीआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ। तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन्।

यसैगरी कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ। त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन्। अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन्। नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ।

अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन्। विश्वमा अहिले करिब २८ लाख व्‍यक्ति संक्रमित भइसकेका छन् भने एक लाख ९७ हजारभन्दा बढीको मृत्‍यु भइसकेको छ। त्‍यस्तै करिब ८ लाख निको भइसकेका छन्।

प्रतिक्रिया