आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकै गाउँका ११ स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि उदयपुरमा त्रास, सरकारले गर्यो यस्तो निर्णय

प्रकाशित
2.2K
SHARES

उदयपुर । एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरको भुल्के तथा आसपासको क्षेत्रमा त्रास बढेको छ । यसअघि १३ जना भारतीयमा संक्रमण फैलिएको भुल्केमा मंगलबार थप ११ जना स्थानीयवासीमै एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको ३ नम्बर वडा शिल गरिएको छ ।

सो क्षेत्रका ६५० जनाको स्वास्थ्य परीक्षणको तयारी गरिए पनि स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख नवराज सुवेदीकाअनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ ।

भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ । जसमध्ये अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको सुवेदीले जानकारी दिए ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने दबाब बढेको तर सामग्री नहुँदा समस्या भएको उनले बताए । सुवेदीकाअनुसार कोरोना संक्रमित बढ्दै गएपछि भुल्केवासी र गाईघाट बजारवासीले छिटोभन्दा छिटो सबै स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न माग गरिरहेका छन् ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको जानकारी दिएका छन् ।

उदयपुरमा अहिले भुल्के क्षेत्रबाहेक चौदण्डी नगरपालिकास्थित सिवाइ मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिद आसपासमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने ठानिएकाले परीक्षणका लागि उपकरण अत्यावश्यक भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो भने मंगलबार भुल्कैकै अरु ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यसैबीच सरकारले उदयपुरलाई सिलबन्दी गर्ने निर्णय गरेकाे छ। स्थानीवासीमा कोरोना संक्रमण देखिएपपछि सरकारले जिल्लालाई सिल गरेको हो । अब जिल्ला बाहिर जान र जिल्ला आउन प्रतिबन्ध लागेको छ ।

यसैबीच उदयपुरकै त्रियुगा नगरपालिका- ३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ । भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै पछिल्लो समय भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका थिए । उनीहरुको दाबी छ कि चार महिना यता नेपालबाहिर गएका छैनन् ।

धेरैले भने जमातीहरु लकडाउनको समयमा भारतबाट छिरेका त होइनन् भन्ने प्रश्न गरेका छन् । तर सरकारी अधिकारीहरुले न त त्यसलाई पुष्टि गर्न सकेको छैन भने न त उनीहरुमा भेटिएको कोरोनाको स्रोत पत्ता लगाउन सकेको छ । तर त्यही मस्जिदमा आउ-जाउ गर्नेहरुको परीक्षण गर्ने क्रममा थप संक्रमित भेटिएका छन् । भुल्केमा मात्र संक्रमितको संख्या २४ पुगेको छ र केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

मंगलबार भेटिएका संक्रमितमध्ये तीन जना विदेशबाट फर्किएका युवक हुन् । एक जना दुबईबाट फागुन ११ मा आएको खुलेको छ दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएको बताइएको छ । तर भुल्केमा देखिएको कोरोनाको स्रोत जमाती हुन् कि विदेशबाट फर्किएका युवक हुन् भन्ने प्रश्न उठेको छ । तर कन्ट्याक्ट ट्रेसिङ लगायतका काम नगरी भन्न नसकिने अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘एकजना दिल्ली, एकजना युपी -उत्तरप्रदेश) र एकजना दुबईबाट आएको पाइएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ विदेशबाट फर्किएपछि उनीहरु मस्जिदमा रहेका जमातीहरु कहाँ आउजाउ गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया