आज : गते

ताजा शिर्षकहरु

उत्तर कोरियाली नेता किम जोङलाई मुटुमा गम्भीर समस्या, उपचार जारी, केछ अवस्था

प्रकाशित
2.3K
SHARES

काठमाडाैं । एक दक्षिण कोरियाली रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो।

उत्तर कोरिया समर्थकहरूले संचालन गर्दै आएको डेली एनके वेभसाइटका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए। सो वेबसाइटका अनुसार किम हाल पूर्वीय तटमा रहेको ह्यासाङ स्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने यसमा कुनै टिप्पणी दिन अस्वीकार गरेको छ। एकिकरण मन्त्रालयले अन्तर-कोरियाली मामिलाहरू सम्हाल्दै आइरहेको छ। दैनिक धुम्रपान, मोटोपन र अधिक कामका कारण किमको स्वास्थ्य केही महिना यता बिग्रिएको डेली एनकेले जनाएको छ।

‘मेरो बुझाइमा उहाँ गत अगस्टदेखि नै हृदय सम्बन्धी समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्थ्यो तर पेक्टु पर्वतमा बारम्बार भ्रमण गरेपछि उहाँको स्वास्थ्य झनै बिग्रियो,’ एक स्रोतले भन्यो। रिपोर्ट अनुसार अप्रिल ११ मा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए।

सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरोको बैठकको अध्यक्षता पछि उनी अस्पताल प्रस्थान गरेको बताइन्छ। यसैगरी अमेरिकी संचारमाध्यम सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ।

उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भिर भएपनि त्यो कति गम्भिर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ। सिएनएनले समाचारमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेको छ।

यसैगरी सिएनएनसँगको कुराकानीमा उत्तर कोरियाका लागि सिआइएका पूर्व उप-प्रमुख ब्रुस क्लिङ्गरले यसअघि पनि कयौं पटक किम र उनको पिताको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका खबरहरू हल्ला प्रमाणित भएकाले सत्यतथ्यका लागि पर्खनुपर्ने बताएका छन्।

यसैबीच विश्व नै प्राणघातक कोरोनासंग जुधिरहेका बेला उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना भाइरसका कुनै घटना नरहेको दावी गर्दै आएको छ। कोभिड-१९ को जोखिमलाई लिएर निकै सावधानी र कडाई गरेको उत्तरले पछिल्ला हप्तामा देशभित्रै विभिन्न नियम जारी गरेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोनाबाट बच्न के गर्नुपर्छ भन्नेबारे नागरिकहरुलाई विभिन्न निर्देशन दिइएको छ।

एन्टिभाइरल लगायतका औषधी चिकित्सकको सल्लाहबिना नखान भनिएको छ। रोग प्रतिरोध क्षमता कमजोर बनाउने भएकाले मानिसहरूलाई रक्सी नपिउन सुझाव दिइएको छ। रोग प्रतिरोधी क्षमता मजबुत गर्ने परम्परागत उपचारको अनुसरण गर्न भनिएको छ। सरकारले मानिसहरूलाई खाना र पेय पदार्थमा अधिक मात्रामा लसुन, प्याज र मह मिसाएर खान आग्रह गरेको छ। साथै अनिवार्य रुपमा मास्क लगाउन पनि सल्लाह दिएको छ।

लसुन लगायतका खानेकुराले रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले यसको प्रयोगमा जोड दिइएको बताइएको छ। हालसम्म विश्वभर कोरोनाको कुनै औषधी छैन। यस्तो बेला उत्तरले आफ्ना नागरिकलाई कोरोनाको औषधी भन्दै यस्तौ सुझाव दिएको हो। लसुनको सेवन लसुन खाएर कोरोना भाइरसको प्रभावलाई हटाउन सकिने उत्तरको यो सुझाव धेरैलाई अनौठो लागेको छ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार लसुन राम्रो र स्वस्थ खानेकुरामा पर्छ। यसले धेरै रोगहरूसँग लड्ने क्षमता समेत बढाउँछ। तर,लसुन खानाले कोरोना भाइरसको प्रभावलाई हटाउन सकिन्छ भन्ने कुराको कुनै प्रमाण छैन। लसुन खानाले कसैलाई हानी भने गर्दैन। कोरोना भाइरस लाग्न नदिने भन्दै बढि खाए पक्कै पनि स्वास्थ्यलाई असर गर्न सक्छ।

बाहिरि विश्वबाट अलग रहेको उत्तरले देशमा कुनै कोरोनाका घटना नरहेको दाबी गरेपनि केही विश्लेषकहरु भने उक्त दाबीप्रति सहमत छैनन्। चीनसँग सीमा जोडिएको उत्तरले कोरोनाका घटना यदि लुकाएको हो भने यसले विकराल अवस्था सिर्जना गर्ने विज्ञहरुको तर्क छ। बाँकी विश्व कोरोना महामारी विरुद्ध लडिरहँदा किम जोङ उनद्वारा शाषित उत्तरले भने पछिल्लो महिनामा ४ वटा क्षेप्यास्त्र परिक्षण गरेको छ।

प्रतिक्रिया