आज : गते

ताजा शिर्षकहरु

तातोपानी नाकाबाट निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामग्री भित्रिन सुरु

प्रकाशित
876
SHARES

काठमाडौं । निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आएयता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तत्कालका लागि स्वस्थ्य सामग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामग्री चीनतर्फबाट नेपाल भित्रिएका छन,’ भन्सार प्रमुख खत्रीले भने ।

कोरोना सर्तकता अपनाउँदै भन्सारले प्राथमिक चरणमा कारोबार गरिरहेको उनले बताए । हाल चिनियाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा क्वारेन्टाइनमा राखेपछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तत्कालका लागि अत्यावश्यक खाद्यान्न र फलफूलको आयात पनि गर्नेगरी तयारी भइरहेको उनले बताए । चीनमा कोरोना संक्रमण देखिएपछि माघ १४ गतेदेखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।

यसैबीच चीन सरकारले नेपालका चीनसँग सीमाना जोडिएका १४ जिल्लाका स्थानीय तहलाई सडक निर्माणका लागि उपलब्ध गराउने भनेको निर्माण उपकरण चालु आर्थिक वर्षका लागि रोकिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र तिब्बतस्थित नेपाली महावाणिज्यदूतबीचको वार्तामा चीन सरकारले यसवर्ष निर्माण उपकरण उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ । सोहीअनुसार १४ जिल्लालाई निर्माण सामग्री प्राप्त नहुने भएको हो ।

तिब्बत सरकारले चीनसँग सीमाना जोडिएका १४ जिल्लालाई सडक निर्माणको प्रयोजनका लागि एक/एक वटा एस्काभेटर उपलब्ध गराउने सम्झौता भएको थियो । तर, कोभिड-१९ का कारण चीन सरकारको वैदेशिक सहयोगका प्राथमिकता नै परिवर्तन गर्नुपरेका कारण सहयोग रोक्नु परेको जानकारी तिब्बत सरकारले गराएको छ ।

सबै आयोजनाबाट अब सहयोग कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुनुपर्ने भएकाले उत्तरी जिल्लालाई निर्माण सामग्री सहयोग नआउने भएको हो । चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी र दोलखाको बिगु गाउँपालिकालाई निर्माण सामग्री दिने सम्झौता भएको थियो ।

यसैगरी, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका र गोरखाको चुमनुब्री गाउँपालिकाले समेत उपकरण प्राप्त गर्ने सहमति थियो ।

मनाङको नार्पाभूमि, मुस्ताङको लोमन्थाङ, बझाङको तालकोट गाउँपालिका पनि यो सूचीमा थियो। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको नाम्खा गाउँपालिकाले पाउने भनेका सहयोग समेत रोकिएको हो ।

प्रतिक्रिया