आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तत: स्वास्थ्यमन्त्री बर्खास्त, कारणसहित हेर्नुहाेस

प्रकाशित
1.2K
SHARES

एजेन्सी । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् ।

दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।

स्वास्थ्यमन्त्री हेनरिक मनडेटाले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका छन् । उनले आ–आफ्ना प्रदेशमा लकडाउन गरेको भन्दै गभर्नरहरुको प्रशंसा पनि गरेका छन् ।

तर ब्राजिलका राष्ट्रपति भने यी कुराहरुबाट सहमत छैनन् । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने उनको भनाइ छ । उनको भनाइअनुसार मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्छ ।

यसअघि नै बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए । हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । साथै उनले लेखेका छन्– कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।

अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो । अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुम्यो । यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया