आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकार महामारी नियन्त्रण गर्न छाडेर निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेकाे कांग्रेसको आरोप

प्रकाशित
716
SHARES

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले महामारी नियन्त्रणलाई छाडेर आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर सरकार लागेको आरोप लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरिएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले अहिले सरकारको पहिलो काम जनताको सुरक्षा भएको बताएका छन् । महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचारमा सरकारलाई सबैको सहयोग भएपनि सरकार गम्भीर नबनेको उनको आरोप छ ।

‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिँदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनले महामारी नियन्त्रणमा खटिएकाहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रहसमेत गरेका छन् । प्रमुख सचेतक खाडले लकडाउनका कारणले रोजगार गुमेपछि पैदल हिँडेर घर जान खोजेकाहरुलाई बसोवास तथा खानपिनको उचित व्यवस्थापन मिलाउन पनि सरकारसँग माग गरेका छन् ।

कांग्रेसले सरकार कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरे पनि उचित व्यवस्थापन गर्न असफल भएको आरोप लगाएको छ । खाणले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लकडाउनका समयमा सही व्यवस्थापन गर्न नसकेको कारणले जनता पीडामा रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको देखिएन । स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ ।’

प्रतिक्रिया