आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देश कोरोना महामारीकाे चपेटमा फसेका बेला डोनाल्ड ट्रम्पले यस्ताे घाेषणा गरेपछि अमेरिकी जनता आक्रोशित

प्रकाशित
1K
SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुनः खुलाउन थाल्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफल टुंगिएपछि बिहीबार यसबारे घोषणा हुने उनको भनाइ छ । ‘हामी फेरि फर्किन चाहन्छौं,’ उनले भनेका छन्, ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’

अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजारभन्दा धेरैको मृत्यु भएको छ । ‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ,’ उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ,’ उनले भनेका छन् ।

तर देशमा काेराेनाले हजाराैंकाे ज्यान लिंदा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर नबनेकाे भन्दै अमेरिकी जनता भने आक्रोशित बनेका छन् । उता जर्मनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न जारी राखेको लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

जर्मन चान्सलर एन्जेला मार्केलले देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छन् । जारी लकडाउनले कोरोना महामारी नियन्त्रणउन्मुख रहेकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको मार्केलको भनाइ छ । ‘कोरोनाविरुद्ध लड्न हामीले अवलम्बन गरेको उपायबाट मध्यम सफलता हात लागेको छ,’ मार्केलले कोरोना नियन्त्रण प्रयासको सफलताबारे चर्चा गर्दै भनेकी छन् ।

मार्केललाई उधृत गर्दै बीबीसीले जनाएअनुसार, आगामी सातादेखि त्यहाँका केही निश्चित पसलहरू खुला रहने छन् । आगामी मे ४ देखि विद्यालयहरू पनि विस्तारै पूर्ववत् सञ्चालनमा ल्याइने मार्केलले उल्लेख गरेकी छन् ।

धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध भने आगामी अगस्ट ३१ सम्म जारी रहने बताइएको छ । लकडाउन खुकुलो पारिए पनि मानिसहरूको भीडभाड हुने बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्यु भने हाललाई बन्द नै रहने छन् ।

लकडाउन खुकुलो पारिए पनि सोसियल डिस्ट्यान्सलगायतका नियम भने आगामी मे ३ सम्म यथावत् रहने उनको भनाइ छ । किनमेल र सार्वजनिक यातायात प्रयोगको दौरानमा मास्कलगायतका सुरक्षात्मक उपाय निरन्तर अवलम्बन गरिराख्न पनि मार्केलले सुझाएकी छन् ।

जर्मनी कोरोनाबाट प्रभावित हुने विश्वको चौथो मुलुक हो । जोन हप्किन्स युनिभर्सिटीका अनुसार, हालसम्म यहाँका १ लाख ३४ हजार ७ सय ५३ जना मानिसमा यसको संक्रमण देखिएको छ । यहाँका ३ हजार ८ सय ४ मानिसले भने यो प्राणघातक रोगका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया