आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना अस्पतालमा कार्यरत नर्सले जर्मनीबाट नेपालीहरूलाई पठाइन यस्तो सुझाव, कोरोनाबाट बच्न चाहनेले पढ्नैपर्ने

प्रकाशित
4.5K
SHARES
bhanu bokhim.indd

मनिता पौडेल । नेपालमा स्वास्थ्यसम्बन्धी काम गर्नुहुने मेरा केही साथीहरुले कोरोनाको महामारीमा म कसरी, कुन तरिकाले काम गरिरहेकी छु भनेर सोधिरहनुभएको छ। दिनदिनै ८/९ सय मानिस मरिरहेको समचार हेर्दा/सुन्दा आत्तिनु स्वभाविक हो। तर एउटा सटिक गाइडलाइनमा टेकेर काम गर्दा डर त्यति नलाग्ने र आफूलाई सुरक्षित राख्न सकिन रहेछ भन्ने मैले बुझ्दैछु। त्यसैले म सबैलाई आफ्नो सानो अनुभव बाँड्न चाहन्छु।

म जर्मनीको एक अस्पतालमा काम गर्छु, जहाँ अहिले कोभिड १९ का बिरामीहरुको पनि उपचार भएरहेको छ। जसमध्ये भेन्टिलेटरमा तीन जना हुनुहुन्छ, उहाँहरु तीनै जनामा पुराना रोगहरु थुप्रै छन्। कोरोना भाइरस आउनुभन्दा पहिले पनि सरुवा रोगहरु थिए र यस्तो अवस्थामा कसरी आफूलाई बचाउँदै अरुलाई सेवा दिने भन्ने कुरा हामी सबैलाई ज्ञान छ।

युगौँदेखि जरा गाडेको इन्फ्लुएञ्जा (एक प्रकारको रुघाखोकी) जसरी सर्छ यो पनि त्यसरी नै सर्ने हो। सुरुमा अन्धाधुन्ध हावाहुरीझैं समाचार आए र हामी पनि आत्तियौं। निद्रा, भोक, प्यास सबै हरायो। तर, यो संक्रमण फैलिन थालेपछि दिनहुुँजसो हामीलाई आधिकरिक जानकारीहरु दिइँदै गयो। यो रोग थुकको छिटाबाट सर्ने हो र प्रत्यक्ष सम्पर्क रोक्ने हो भन्ने खास कुरा थाहा पाएपछि अनावश्यक भ्रम हटाउन मद्दत गर्यो।

म काम गर्ने अस्पतालको १० तलामध्ये एउटा बीचको तलालाई कोभिड १९ को लागि तयार गरिएको छ। इमर्जेन्सी अथवा ओपिडीबाट त्यो तलासम्म पुग्नको लागि एउटा बाटो र एउटा लिफ्टलाई छुट्ट्याइएको छ, जुन अन्य कसैले प्रयोग गर्न पाउँदैन।

सुरुमा कुनै नयाँ बिरामी आउँदा पहिलो चेकजाँच कक्षमा जान्छ र त्यहाँ ड्युटी गर्नुहुने साथीहरुले एफएफपी माक्स, पन्जा र एक पटक प्रयोग गरिने गाउन लगाएर काम गर्नुहुन्छ। कुनै शंकास्पद लक्षण भएमा यही कक्षबाट घाँटीको टेस्ट स्वाब लिइन्छ र बिरामीको अवस्था सामान्य भए रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा बस्नको लागि भनिन्छ र घर पठाइन्छ।

तर धेरै गाह्रो अवस्था भए अघि छुट्याइएको बाटो हुँदै तला पाँचमा लगेर एउटा कोठामा बसाइन्छ। तला पाँचलाई पनि दुई भागमा विभाजन गरिएको छ। टेस्ट पोजेटिभ एउटामा र शंकास्पद अर्कोमा। शंकास्पद बिरामीको तीन दिनको तीन वटा रिपोर्ट नेगेटिभ आयो भने उसलाई नर्मल वार्डमा सारिन्छ। अथवा अवस्था सामान्य छ भने घर पठाइन्छ।

हस्पिटलका अरु तलाहरुमा सधैंजसो कुनैमा सर्जरीका बिरामी छन् भने कुनैमा प्रसूतिका त कुनैमा मेडिसिनका। म सर्जरी वार्डमा छु। काम गर्दा नर्मल पन्जा र माक्स लगाउँछुु। कोभिड १९ बाहेक अरु सरुवा रोगका बिरामी आए हाम्रै तलामा आइसोलेसन गर्छौं र त्यो कोठामा जाँदा सरुवा रोगको प्रकार अनुसार सुरक्षाको सामान हरु (पिपिई) लगाएर जान्छौँ र बाहिर निस्किँदा ती सामनहरु भित्र नै एउटा बन्द भाँडामा मिल्काएर निस्किन्छौं।

पोजेटिभ बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने नर्स (स्वास्थ्यकर्मी) ले मात्र पिपिई लगाउँछ र बाहिर निस्किँदा भित्र नै फुकालेर निस्किइन्छ। किनभने यो एकपटक मात्र प्रयोग गरिने सामान हो। कोरोनाको बिरामीलाई राउन्ड लिन जाँदा डाक्टरले र नर्सले पिपिई लगाउँछन् र सकिएपछि भित्र नै त्यो सबै फालेर हात संक्रमणरहित बनाएर बाहिर निस्किन्छन्।

यो सबै हामीले आफू मनखुसीले गरेका होइनौं। बकाइदा रिसर्च गरेर प्रमाणित भएपछि स्वास्थ्य प्रशासनबाट पारित गरिएको नियमअनुसार सम्पूर्ण जर्मनी स्वास्थकर्मीहरु यसरी नै चल्ने हुन्।

पिपिई लगाएर एक पोजेटिभ बिरामीको सम्पर्कमा आइसकेपछि फेरि त्यही पोसाकले अर्को ठाउँ जाँदा वा अरुलाई छुँदा स्वास्थकर्मीले नै एउटाको रोग अर्कोलाई सारिदिन्छ भन्ने कुरा त हामी सबैलाई नै थाहा भएको कुरा हो। फेरि पनि म कोरोनाको बिरामी राखिएको कोठाभित्र जानुपर्दैन र त्यो कोठा बाहेक अन्त काम गर्नुपर्ने छ भने पिपिई लगाउनु आवश्यक छैन भनिएको छ र लगाइँदैन पनि।

चाहिने मेडिकल सामग्रीको अभाव यता पनि भएकाले यसको सर्ने माध्यम बुझेर सबैले आफ्नो तरिका अपनाएका छन्। जस्तै सर्जिकल माक्स यता पनि हाहाकार नै छ, त्यसैले ओटी, आइसियु, इमर्जेन्सी र प्रसूति कक्ष बाहेक अरु वार्डमा काम गर्ने डाक्टर तथा अन्य स्वास्थ्यर्मीहरुले कपडाको माक्स सिलाएर लगाएका छन्। दिनमा एक, दुई पटक फेर्छन् र भोलिपल्ट त्यही तातोपानीमा धोएर प्रयोग गर्छन।

काम चलाउन स्पेनका केही अस्पतालमा फोहोर फल्न बनाइएका प्लास्टिकका बोरालाई गाउन बनाएर लगाएर कोरोनाका बिरामीको काम गर्दैछन्। यो समयबाट भागेर जाने अर्को सुरक्षित ठाउँ छैन। त्यसैले आफूलाई बचाउन सबैले आफ्नो बानी परिवर्तन गरेका छन्। कोरोना आउनुअघि र पछिका दिनहरुमा मैले यताको स्वास्थ्य नियम अनुसार मेरा बानीहरुमा ल्याइएको परिवर्तन भने बस् यत्ति हुनः

१. पहिला बिरामी छुनुभन्दा अघि र छोइसकेपछि हात धुन्थें, अहिले यी बाहेक कुनै सामान, ढोका, झ्याल, लुगाफाटा छुँदा पनि हात धुन्छु। वा सेनिटाइजर लगाउँछु। केही छोइनँ भने पनि १०र१५ मिनेट मा हात संक्रमणरहित बनाइरहन्छु अस्पतालमा। घरमा त्यस्तै एक दुई घन्टामा हात धोइरहन्छु।

२. पहिला ड्युटीमा माक्स लगाइँदैनथ्यो, अहिले नर्मल माक्स लगाउँछु र हरेक दुईरतीन घन्टामा फेर्छु। ३. पहिला अल्छी लागे जे छ त्यही खान्थें, अहिले जागिर लाईझैं समय दिएर दाल, भात सबैथरी मसला मिसाइएका तरकारी, अचार, गेडागुडी बनाएर खान्छु। फलफूल खाइरहन्छु, गीतसंगीत सुनिरहन्छु र आफूलाई कुनै अर्को रमाइलो विषयमा लगाउँछु।

४. पहिला घरतिर तीनरचार दिनमा एक चोटी कुरा गर्थें, अहिले दिनमा दुईरचार चोटी कुरा गर्छु। यी ससाना दैनिक गरिने कुराहरुको परिमार्जनले अहिलेसम्म म ठिक छु र मेरा साथीभाइहरु पनि ठिक छन्।

कोरोना नाआउँदा पनि मानिसहरु मरिरहेका थिए र यसको खैलाबैला सकियेपछि पनि मानिसहरु मर्ने नै छन्। अहिलेसम्म मरेका भनिएकाहरु धेरैजसो कोरोना नआएको भए पनि ढिलोचाँडो मर्ने नै थिए। किनभने प्रायः मर्नेहरु दीर्घरोगी नै देखिएका छन्।

त्यसैले मेरा प्रिय स्वास्थ्यकर्मी साथीहरु, तपाइँहरु स्वस्थ, स्फुर्त र प्यारा त हुनुहुन्छ नै, तर अब अझै बढी आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस, साँचो अपटेड गराइराख्नुस् र डरलाई शक्तिमा बदल्नुहोस। म बुझ्छु, बिना सही सूचना, प्रविधि, स्रोत र सामग्री अनि सिस्टम बिना एकै चोटी यस्तो रोगसँग काम गर्नुपर्दा कति डर लाग्छ भनेर। मेरो यो अनुभवले तपाईंहरुलाई केही हौसला मिल्छ भन्ने विश्वास लिएकी छु। स्वास्थ्य खबरबाट साभार

प्रतिक्रिया