आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फ्रान्सको लकडाउन ११ मेसम्म लम्बियो

प्रकाशित
4.2K
SHARES

काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् ।

फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा करिब १५ हजार पुगेको छ । फ्रान्समा ४ हजार १ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार गरे ।

उनले भने, ‘अन्य देशहरुमा जस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो । धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ । उनले ११ मे पछि स्कुलहरु खोल्न सकिने बताए । फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी उनले दिए ।

विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २४ हजार ६७९ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७२ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ६० हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५१ हजार ७४० को अवस्था चिन्ताजनक छ । ४ लाख ४४ हजार १७ जना भने उपचारपछि घर फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६४० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको हो । इटालीमा एकैदिन ३हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३५ हजार ४३५ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ३ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ । डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गरे । अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

कोभिड–१९ फैलिँदा जति छिटो फैलिएको थियो, नियन्त्रण भने निकै सुस्त गतिमा आएको डब्ल्यूएचओको निष्कर्ष छ । त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न नसकिने बताइएको छ । गेब्रियससले सही समय नआउँदासम्म सामाजिक कडाइको नियम जारी राख्नुपर्ने बताएका छन् । पूर्णरुपमा यो महामारी हटाउन भने प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया