आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेनाबारे डब्लुएचओले दियाे फेरी अर्काे कडा चेतावनी, अमेरिका र चीनसहित विश्वचर हलचल

प्रकाशित
5.6K
SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ । डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गरे । अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

कोभिड–१९ फैलिँदा जति छिटो फैलिएको थियो, नियन्त्रण भने निकै सुस्त गतिमा आएको डब्ल्यूएचओको निष्कर्ष छ । त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न नसकिने बताइएको छ । गेब्रियससले सही समय नआउँदासम्म सामाजिक कडाइको नियम जारी राख्नुपर्ने बताएका छन् । पूर्णरुपमा यो महामारी हटाउन भने प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको उनको भनाइ छ ।

विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ विरुद्ध चीनले फेरी खोप पत्ता लागाएको छ । उक्त तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि समेत अनुमति दिएको छ। सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन्।

सरकारमातहत रहेका यी कम्पनीले कोरोनाभाइरस विरुद्धको खोप तयार गरेसँगै चीनले खोप मानवमाथि परीक्षण गर्न अनुमति दिएको हो। यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले सो घोषणा गरेको थियो।

यस्तै विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २४ हजार ६७९ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७२ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ६० हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५१ हजार ७४० को अवस्था चिन्ताजनक छ । ४ लाख ४४ हजार १७ जना भने उपचारपछि घर फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६४० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ । एकै दिन ४ हजार १८८ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २७ हजार ७१८ जना उपचारपछि निको भएका छन् । ६ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ ।

इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको हो । इटालीमा एकैदिन ३हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३५ हजार ४३५ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ३ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया