आज : गते

ताजा शिर्षकहरु

क्वारेन्टाइनमा बसेकाले यतिसम्म गरेपछि स्वास्थ्यकर्मी हैरान, पाेखे यस्ताे दुखेसाे

प्रकाशित
1.7K
SHARES

रौतहट । गुजरा नगरपालिकाकी उपमेयर रौशाना खातुन चन्द्रपुर-६ स्थित महिला फुटबल एकेडेमीमा निर्माण गरिएको क्वारेन्टाइनमा शुक्रबार अकस्मात पुगिन्। स्वास्थ्य जाँचका लागि बसेका कर्मचारीसमेत छक्क परे। उनी सिधै क्वारेन्टाइनमा बसेकाहरुको अवस्था हेर्न कोठाभित्र प्रवेश गरिन्। एकैछिनमा ‘सबै व्यवस्था राम्रो रहेछ’ भन्दै बाहिरिन्।

भारतबाट घर फर्केका गुजरा-४ का बाबुछोरा कोरोना संक्रमणको आशंकामा डेढ सातादेखि सोही क्वारेन्टाइनमा छन्। आफू बसेको कोठा नजिक शौचालयमा मिनिरल वाटरको बोतल घुसारिएको तस्बिर खिचेर उनीहरुले उपमेयर खातुनलाई म्यासेन्जरमा पठाएका थिए। सोही तस्बिरको आधारमा यहाँको अवस्था बुझ्न आफू आएको उपमेयर खातुनको भनाइ छ। क्वारेन्टाइनमा धेरैजसो गुजराकै बासिन्दा छन्।

चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले बाबुछोराले छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने भन्दै हैरान बनाएको बताए। ‘कहिले डिटोल साबुन गन्हायो भन्छन्, कहिले नुहाउन नयाँ बाल्टिन चाहियो भनेर कराउँछन्,’ उनले भने, ‘दिनहुँ एक न एक हर्कत गरेकै हुन्छन्।’ शिव पुरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

क्वारेन्टाइनमा रहेका ५६ जनामध्ये अधिकांश भारतबाट घर फर्केकाहरु छन्।उनीहरुलाई त्यहीँ मेस बनाएर बिहान-बेलुका खाना खाने व्यवस्था मिलाइएको छ। धेरैजसोले घरबाट खाना मगाएर खान पाउनुपर्ने माग गर्ने गरेको स्वास्थ्यकर्मीले बताए। ‘घर जान पाऊँ भनेर कराउँछन्, हामीलाई अनावश्यक दु:ख दिन्छन्,’ एक स्वास्थ्यकर्मीले भने।

क्वारेन्टाइनमा पुगेका कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले सबैलाई सम्झाउँदै अवधिभर बस्न आग्रह गरेका थिए। ‘घर जान हतार किन गरेको? अब घर परिवारलाई मार्ने विचार छ,’ उनले भने, ‘अब केही दिन धैर्य गर्नुस्। सबैको स्वाब टेस्ट भएर राम्रो नतिजा आयो भने घर पठाउँछौं।’क्वारेन्टाइनमा राखिएका ५० जनाको स्वाब टेस्टका लागि बुधबार जनकपुर पठाइएको छ।

यस्तै नेपाल छिर्न अनेक जुक्ति : कोही भैंसी धपाउँदै, कोही अन्‍नबालीको चिन्ता गर्दै शिर्षकमा कान्तिपुरमै मातृका दाहालले अर्को समाचार लेखेका छन् ।
‘हामी गहुँ काट्‍न आएका हौं, जान दिनुपर्‍यो । उता (नेपालमा) हाम्रो खेतीपाती छ ।’ भारतका विभिन्‍न स्थानबाट आएर नेपाल छिर्न खोजेकाहरु सीमामा खटिएका सुरक्षाकर्मीसँग अनुरोध गर्छन् । ‘अहिले नेपाल प्रवेश गर्न सक्नुहुन्न । अहिले लकडाउन छ, यता (नेपाल) आउन सक्नुहुन्न ।’ भनेर सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई उतै(भारततर्फ) फर्काइरहेका छन् ।

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् । यसक्रममा कहिलेकाहीं चर्कै विवाद पनि हुन्छ ।

कतिपय नागरिक भने सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिन्छन्। उनीहरूलाई स्थानीय तह र सुरक्षाकर्मीले खोजेर क्वारेन्टाइनमा राख्ने गरेका छन्। कतिपय ठाउँमा नेपाल प्रवेशका लागि सिमानामा आइपुगेकाहरूलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय नगरे उतैका क्वारेन्टाइनमा राख्ने गरिएको छ।

प्रदेश २ स्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी राजु अर्यालले बाली भित्र्याउने, गाईभैंसी हेर्ने बहानामा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको भीड नाकामा दिनहुँजसो लाग्ने गरेको बताए। ‘कोही मानिस एक सातासम्म हिँडेरै सीमा क्षेत्रमा आइपुगेका हुन्छन्,’ उनले भने, ‘कोही गाईबस्तु धपाउँदै आउँछन्,’ उनले भने, ‘लकडाउनभर आउजाउ गर्न नपाइने भन्दै फिर्ता गरिरहेका छौं।’

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले नेपाल–भारत सीमा नाका जोडिएका पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकी नाकासम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सीमा नाकाबाट हुने आउजाउ कडाइका साथ निषेध गर्न निर्देशन दिइसकिएको बताए। सीमा क्षेत्र वारपार गर्ने गोरेटोमा समेत अस्थायी चेकपोस्ट राखेर आउजाउ नियन्त्रण गरिएको उनले जानकारी दिए।

‘सीमा नाकाबाट हुुने आउजाउ नियन्त्रणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको छ,’ उनले कान्तिपुरसँग भने, ‘सरकारले यस विषयमा प्रभावकारी कदम चालिरहेको छ। नागरिकस्तर अझ सीमा क्षेत्रका बासिन्दाको पनि यसमा पूर्ण साथ र सहयोगको खाँचो छ।’

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले भने खुला सिमानाका कारण आउजाउ नियन्त्रणमा कठिनाइ भएको बताए। ‘एकातिर खुला सिमाना छ, अर्कातिर पाल र टेन्टमा अस्थायी पोस्ट राखेर जनशक्ति परिचालन गर्नुपरेको छ,’ उनले भने, ‘वारिका मानिसको खेती पारि, पारिको वारि हुँदा पनि निकै कठिनाइ छ। तर हामी आउजाउ नियन्त्रणमा केन्द्रित छौं।’

सशस्त्र प्रहरीले नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको सिमानामा ९ सय २५ स्थानमा चेकप्वाइन्ट खडा गरेको छ। त्यसमध्ये ४ सय ३९ चेकप्वाइन्ट लकडाउनपछि स्थापना गरिएका हुन्। गर्मीको समयमा लामखुट्टे र सर्पको जोखिम रहेको सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) का एक इन्स्पेक्टरले बताए। ‘नियमित ड्युटी पनि ६/६ घण्टाको रोटेसनमा मिलाउनुपरेको छ,’ उनले भने, ‘धेरैजसो स्थानमा सिमाना नछुट्टिँदा व्यवस्थापनमा कठिनाइ छ।’

डीआईजी अर्यालले दशगजा वारि तार र डोरी टाँगेर आउजाउ नियन्त्रण गरिएको बताए। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले प्रहरी र सशस्त्र प्रहरीले ‘साङ्लो’ जस्तो नै बनाएर सीमामा आउजाउ नियन्त्रण गरिरहेको बताए। ‘केही कठिनाइ छन्, गर्मीको समयमा मौसमी समस्या भए पनि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी राखेका छैनौं,’ उनले भने।

भारतीय सीमातर्फ सशस्त्र प्रहरीले ९ सय २५ स्थान र नेपाल प्रहरीले ४ सय ५ स्थानमा चेकप्वाइन्ट खडा गरेर सीमा सिल गरेका छन्। दुवै सुरक्षा निकायबाट करिब १० हजार जनशक्ति फिल्डमा तैनाथ छन्।

प्रतिक्रिया