आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेलायती प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि आईसीयूमै रहने

प्रकाशित
0.9K
SHARES

लन्डन । कोरोनाभाइरसको संक्रमणका कारण स्वास्थ्य समस्या बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उनी निकै उत्साहित रहेको बताएका थिए ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पेका छन् । कोरोना संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनले आईसीयूमा दोस्रो रात बिताएका छन् । तर चिकित्सकहरुले भने उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन सक्छन् भन्ने विषयमा भने केही बताएका छैनन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री मोदीले सबै दलहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्री परिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए । मन्त्रीपरिषद् बैठकमा उनले ‘लकडाउन’पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका थिए । कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो ।

आन्तरिक उत्पादनलाई जोड दिदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन उनले आह्वान गरेका हुन् । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लाग हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए ।

अहिलेको विषम परिस्थितिमा सवै राजनीतिक दलहरुले संयुक्त बल लगाएर मात्रै कोरोना भाइरस विरुद्धको लडाइलाई सफलता हासिल गर्न सकिने उनको भनाइ थियो । बैठकमा सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया