आज : गते

ताजा शिर्षकहरु

कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी

प्रकाशित
721
SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको फैलन नदिने परीक्षणको दायरालाई बढाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना परीक्षणको दायरालाई बढाइएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले चैत महिनामा विदेशबाट आएका काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिकोहरु कोरोना परीक्षणको दायरा बढाइएको बताए ।

परीक्षणको दायरालाई बढाउन हामीले काठमाडौं उपत्यका बाहिर पनि नमूना संकलनको कामलाई तीब्र बारेका छौं,’ डा देवकोटाले भने । देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा एक सय ९८ वटा नमूना संकलन गरिएको र उक्त नमुना र्‍यपिड टेस्ट किट र पीसीआर दुवै विधिबाट परीक्षण गरिने छ ।

यस्तै अछाम, जुम्ला, र सुर्खेतबाट ८ सय दुई जनाको नमूना संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइसकेको प्रवक्ता डा देवकोटाले बताए । यस्तै दिपायलमा पनि बुधबार बिहानदेखि नै करिव ३ सय नमूना संकलन गर्न टोली परिचालन गरिएको प्रवक्ता देवकोटाको भनाइ छ ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ सय ६५ र काठमाडौं उपत्यका बाहिर ४ सय १ वटा गरी २३ सय ६६ वटा परीक्षण भएको पनि बताए । डा देवकोटाका अनुसार बुधबार मात्र १ सय ८० वटा केसका नमूनाहरु परीक्षणकै क्रममा छन् ।

आइसोलेसनमा सय ३४ जना, ८ हजार भन्दा बढी क्वारेन्टाइनमा
कोरोना भाइरसको लक्षणसँग मिल्ले लक्षण देखिएका १ सय ३४ जना व्यक्ति आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । देवकोटाका अनुसार उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना गरी १ सय ३४ जना आइसोलेसनमा उपचारत छन् ।

देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको मोवाइल एप्समार्फत आफूमा देखिएको लक्षणबारे जानकारी गराउनेको संख्या पछिल्लो २४ घण्टामा ८ सय २९ जना रहेको छ । यो संख्या हालसम्म १२ हजार ६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा लक्षणबारे जानकारी गराएकामध्ये पछिल्लो २४ घण्टामा ३ जना रेड जोनमा परेका छन् भने हालसम्म १ सय ७५ जना रेडजोनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेका व्यक्तिलाई सम्पर्क गरी परीक्षणका लागि नमूना समेत संकलन गर्ने गर्छ ।

सबै जिल्लामा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले सबै जिल्लाहरुमा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना भएको जानकारी दिएका छन् । देशभरका सबै स्थानमा कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान र उपचार कार्य व्यवस्थित बनाउनका लागि सबै जिल्लामा सेन्टर स्थापना भएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

यस्तै केन्द्रमा रहेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट शशस्त्र प्रहरी र नेपाली सेनाको अस्पतालमा कोरोनाका बिरामी राख्न एकसय भन्दा बढी शय्या र ६ वटा आईसीयू तयारी अवस्थामा रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयले कोरोनाका बिरामीको उपचार, रोकथाम, नियन्त्रण तथा क्वारेन्टाइनलाई व्यवस्थित गर्न कार्यविधि तथा निर्देशिकाहरु जारी गरिएको पनि जानकारी दिए । डा देवकोटाका अनुसार संक्रमण रोकथामका लागि आवश्यक पर्ने इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको कार्यविधि लागू भएको छ ।

यस्तै पीपीईको प्रयोगका लागि कार्यविधि, कोरोनाका बिरामी तथा आशंका गरिएका बिरामीको उपचार व्यवस्थापनको कार्यविधि, कोरोना संक्रमणको निदानका र्‍यापिड टेस्ट किट र पीसीआर विधिबाट कसरी परीक्षण गर्ने भनेर कार्यविधि बनाएर काम सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । संक्रमितको निधन भएका सव व्यवास्थपन कसरी गर्ने भनेर त्यसको पनि कार्यविधि बनाइएको उनले जाकारी दिए ।

प्रतिक्रिया