आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कपिलवस्तुकाे आइसोलेसन वार्डमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट यस्ताे आयो, डाक्टर नै हैरान

प्रकाशित
3.8K
SHARES

बुटवल । कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताए। बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए। रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी – स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । मंगलबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ ।

हालसम्म काठमाडौँमा १६, उपत्यका बाहिर ८४ गरी कूल १०० जना आइसोलेसनमा छन् । नेपालभरि नौहजार २२८ जना क्वारेन्टाइनमा छन् । वीरेन्द्र सैनिक अस्पताल संयुक्त मेडिकल टोलीले सशस्त्र बल र नेपाल प्रहरीका अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई तालीम दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मीले अदम्य साहस र उत्साहका साथ गरिरहनुभएको अमूल्य योग्दानप्रति उच्च सम्मान व्यक्त गरे । मन्त्री ढकालद्वारा जारी विज्ञप्तिमा नेपालको स्वास्थ्यस्थिति सुर्धान ९२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेविकाको ठूलो भूमिका रहेको र उनीहरुलाई कोरोना भाइरसविरुद्धको अभियानमा लाग्न आग्रह गर्दै एकहजार ५०० प्रोत्साहनस्वरुप उपलब्ध गराउने सरकारले निर्णय गरेको उल्लेख छ ।

यस्तै सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको जानकारी दिएको हो ।

मंगलबार मात्र ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५ सय १० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बिहान ६ बजे देखि दिउँसो ४ बजे सम्म उक्त उक्त संख्यामा सवारी साधन नियन्त्रणमा लिइएकाे हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन लागू गरिरहेको छ ।

लकडाउनको उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लंघन गर्ने ५,१९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जानकारी गराएको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको छ ।

पाकिस्तानी टोलीलाई नियन्त्रणमा लिएर रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिदभित्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरु बसेकै मस्जीदमा क्वारेन्टाइनमा राखिएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘उनीहरु नेपालमा लकडाउन सुरु हुनुअघि नै आएका थिए । हामीले मस्जीदभित्रै राखेर निगरानी गरिरहेका छौं ।’

चैत ४ गते यमुनामाई गाउँपालिका वडानम्बर १ मा रहेको मुख्तम मस्जीद इदगाहमा तीन दिनसम्म बसेका उनीहरु ७ गते करुनिया गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा छन् ।

कोविड १९ (कोरोना) संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेर वैदेशिक मुलुकबाट फर्कनेहरुलाई विभिन्न स्थानका निर्माण गरिएका क्वारेन्टाइनमा राखिए पनि पाकिस्तानीहरुलाई मस्जीदमै राखिएको छ । उनीहरुको गतिविधिलाई निगरानी गरिरहेको र लकडाउनभन्दा पहिले नै नेपाल आएकाले क्वारेन्टाइन केन्द्रहरुमा नराखिएको सुरक्षा स्रोतले बतायो ।

यसैबीच कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहट जिल्लाको भारतसँग जोडिएको ३२ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ६ वटा नयाँ अस्थायी पोष्टहरु निर्माण गरेको छ ।

रौतहटको गौर नगरपालिकाको वडा नं. १ र २ मा, ईशनाथ नगरपालिकाको वडा नं. ६ र ४ मा, बौधिमाई नगरपालिकाको वडा नंं. ७ र राजदेवी नगरपालिकाको वडा नं. ९ मा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले जानकारी दिएको छ ।

अस्थायी पोष्ट स्थापना गरिएका स्थानहरुमा चौबीसै घण्टा ड्यूटी रहने र सीमामा हुने आवत–जावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

भरतपुरमा कोरोना परीक्षण गरिएको २१ नमूना नेगेटिभ
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो ।

प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार नमूनाको परीक्षण गरिएको हो ।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउँछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु¥याएर परीक्षण थालिने छ । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराईने छ । अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा छन् ।

भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु एक लाख ९७ हजार ५०० मा खरिद गरिएको बताउनुभयो ।

कलेजका छात्रछात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । कलेजमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसँग सम्बन्धित विषयमा पढाइ हुन्छ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भएबापत वार्षिकरुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो ।

काेराेना भाइरसबाट बच्न डब्लुएचओकाे सुझाव
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस अर्थात (कोभिड-१९) बाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलाे सुरक्षाकाे रुपमा लिएकाे छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोइन भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेकाे छ ।

यस्तै डब्लुएचओले अर्को व्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले सबै मानिससँग दूरी कायम गर्नु उचित हुने सङ्गठनको भनाइ छ ।

आफ्नो नाक, मुख तथा आँखा बारम्बार छोइरहने बानी धेरै मानिसको हुने भएकाले त्यस्तो बानी हटाउन पनि डब्लुएचओकाे आग्रह छ । डब्लुएचओले श्वासप्रश्वास सम्बन्धित समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न आग्रह गरेकाे छ ।

सिँगान पुछेको वा हाछ्युँ गर्दा प्रयोग गरेको कागज बन्द रहने भाँडोमा फ्याँक्न वा रुमाल भएमा बारम्बार धुन सुझाव दिएकाे छ । यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा कार्यालय वा घरबाहिर नगई घरमै बस्न सल्लाह दिएकाे छ ।

कोरोना भाइरस चाँडो सर्ने रोग भएकोले आफ्नो बानी व्यवहारमा सचेत रहन तथा समस्या देखिनासाथ स्वास्थ्य कार्यालयमा जान र सल्लाहअनुसार औषधि खाएर घरमै आराम गर्न विश्व स्वास्थय सङ्गठनले आग्रह गरेको छ ।

प्रतिक्रिया