आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका ८ जना कोरोना संक्रमितको स्वास्थ्य स्थितीबारे स्वास्थ्य मन्त्रालयले दियाे यस्ताे जानकारी

प्रकाशित
5.3K
SHARES

काठमाडाैं । नेपालमा कोरोना संक्रमित भएका ८ जना उपचाररत संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज गरिएको नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको र ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेको जानकारी दिँदै यसअघि पटकपटक गरी पुष्टि भएका ८ जना संक्रमितको अवस्था सामान्य रहेको बताईएको हो ।

कोरोना परीक्षणका लागि ४ सय ५० जनाको नमूना संकलन गर्ने र हरेक जिल्लाको क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरिने प्रवक्ता डा देवकोटाले बताए । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ वटा कोरोना आशंका गरिएका व्यक्तिको कोरोना परीक्षण भएको छ ।

ती मध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको र एक जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभ भएर विभिन्न अस्पतालमा उपचारत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज कोरोनाको नयाँ केस छैन,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमित ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ यस्तै कोरोनाको आशंकामा आज मात्र देशभर एक सय जना रहेको डा देवकोटाले बताए । काठमाडौं उपत्याकामा १६ जना र उपत्यका बाहिर ८४ गरी कूल १०० जना व्यक्ति आइसोलेसनमा रहेका पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै विभिन्न देशबाट नेपाल चैत महिनामा प्रवेश गरेको ९ हजार २ सय २८ जना देशभर क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिसँगै सम्पर्कमा रहेका र एउटै विमानमा आएका व्यक्तिहरुलाई सम्पर्क गर्ने काम ९० प्रतिशत पूरा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्स मार्फत २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो लक्षणबारे जानकारी गराएका छन् । ती मध्ये स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रेड जोनमा १७ जनालाई राखेको छ ।

उक्त एप्स मार्फत हालसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो लक्षणबारे जानकारी दिएका छन् । ती मध्ये हालसम्म १ सय ७२ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

यसैबीच सरकारले कोरोना भाइरस संत्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिबन्ध पुनः १५ दिनका लागि बढाएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध वैशाख १८ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि दोस्रो पटक निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध वैशाख ३ गते सम्मका लागि कायम राखेको थियो । सरकारले कोरोना संक्रमणका लागि जारी गरिएको लकडाउनको आदेश भने वैशाख ३ गते सम्मका लागि लम्ब्याएको छ ।

कोरोनाविरुद्धको प्रतिकार्यका लागि विश्व बैंकबाट नेपाललाई साढे ३ अर्ब ऋण सहयोग
विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा मंगलबार विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिनेछ । परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । उक्त परियोजना मंगलबारदेखि नै लागू हुनेछ । तीन साताको अवधिमा परियोजनामा लगानी गर्नेसम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सचिव ढुङ्गानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडीए)बाट बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकामा हार्दिक आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैंकले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

यसैबीच, भिडियो कन्फ्रेन्सिङको माध्यमबाट मंगलबार नै केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै विश्व बैंकका देशीय प्रबन्धक हदादले कोभिडविरुद्ध नेपाल सरकारले समयमै चालेका सुरक्षात्मक कदमको सराहना गरे । नेपालका विकासका साझेदारसँगको समन्वयमा बैंकले कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको अल्प, मध्य र दीर्घकालीन मूल्याङ्कन गर्ने जानकारी दिँदै हदादले पर्यटन, विप्रेषण, श्रम, व्यापार एव रोजगारीका क्षेत्रलाई गतिशील तुल्याउन बैंकले थप सहयोग गर्ने पनि बताए ।

आगामी शुक्रबार अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, एशियाली विकास बैंक, एशियाली पूर्वाधार विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकका उपाध्यक्षले सामूहिकरुपमा स्थितिको विश्लेषण गरी भावी सहयोगको रुपरेखा तयार पार्ने उनले जानकारी दिए । उनले नेपालको आर्थिक विकासको संवाहक निजी क्षेत्र र साना तथा मझौला उद्योगलाई पनि बैंकले सघाउने बताए ।

प्रतिक्रिया