आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाबाट दुवैमा पहिलाेपटक नेपाली महिलाको मृत्यु, काे हुन उनी ?

प्रकाशित
8.6K
SHARES

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा पहिलाेपटक घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।

उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। कान्तिपुर दैनिकले समाचार लेकाे छ ।

‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो।’

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।

आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। ‘यो दुःखद् खबर हो। हामीले अनौपचारिक सूचना पाएका छौं। औपचारिक सूचना प्राप्तको लागि सम्बन्धित ठाउँमा चिठी लेखेर पठाएका छौं,’ राजदूत कृष्णप्रसाद ढकालले कान्तिपुरलाई भने।

यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ। यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।

यसैबीच सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो। म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ।

सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा जम्मा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।

सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो। पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्‍यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्‍याएको छ।

काेनाबाट देश जाेगाउनका लागि लकडाउन पालना गर्न र घरभित्रै बसेर सहयाेग गर्न सरकारले सबैलाई अनुराेध गरेकाे छ । यस्तै सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए।

हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन्।

प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।

संक्रमण रोक्न रातदिन काम गर्दै सुदुरपश्चिमका स्थानीय सरकार
भारतबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदरपश्चिमका स्थानीय सरकारहरूले संक्रमण फैलिन नदिने तीव्रताका साथ काम गरिरहेका छन्। कोरोनासँगको लडाइँमा उनीहरूले दुइटा नीति तय गरेका छन्।

पहिलो, संक्रमण फैलन रोक्ने। दोस्रो, उपचारका लागि अस्पताल पुर्‍याउने। स्थानीय सरकारहरूले भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा राखिरहेका छन्। गाउँका विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन्। भारतबाट फर्किएर घरमा बसिरहेका कतिपयको निगरानी स्थानीयस्तरमै मिलाएका छन्।

कोरोनाको लक्षण देखापरे तत्कालै स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि नगरपालिका र गाउँपालिकाले स्वास्थ्य चौकीलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेका छन्। त्यस्तै गम्भीर लक्षण देखिएकालाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको व्यवस्था गरेका छन्। केही गाउँपालिकाले भने स्ट्रेचरको जोहो गरेका छन्।

कोरोनाविरूद्ध काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधिले संक्रमण फैलन रोक्नेसँगै लक डाउनले काम गुमाएकालाई राहत पनि बाँडिरहेका छन्। सेतोपाटीले सुदूर पश्चिमका १४ वटा स्थानीय सरकारसँग उनीहरूले गरिरहेको तयारीबारे कुराकानी गरेको छ। कुराकानीको सम्पादित अंश

कर्णबहादुर हमाल, मेयर, कृष्णपुर नगरपालिका कञ्चनपुर
हामीले कोभिड-१९ फैलन नदिन नगरपालिकामा ३ वटा हेल्प डेस्क राखेका छौँ। १० बेडको क्वारेन्टिन बनाएका छौं। नगरपालिकामा ६ वटा स्वास्थ्य संस्था छन्। तिनीहरूलाई २४ सै घन्टा सेवा दिन सक्ने अवस्थामा राखेका छौं। नगरपालिकामा ३ वटा एम्बुलेन्स छन्। जसमध्ये एउटा सुत्केरी र अन्य बिरामी बोक्न प्रयोग गर्नेछौं। २ वटा कोरोनाको आशंका गरिएकाहरूलाई बोक्ने तयारी छ।

भारतबाट नाका पार गरेर भित्रनेहरूबाट हामी भयभित छौं। नगररपालिकामा विदेशबाट भित्रिएका ८६१ मध्ये ८ सय ५४ जना भारतबाट आएका छन्। अहिले भारतबाट आएकामा पनि कोरोना देखिएको अवस्था छ। हामीले नगरपालिकामा रहेका १०३ महिला स्वयमसंवेकीलाई जनचेतना फैलाउन प्रयोग गरेका छौं। नौ वटै वडामा विपद् व्यवस्थापन प्रतिकार्य समिति बनाएका छौं।

यस्ता समितिमा २ सय ४१ जना हुनुहुन्छ। उहाँहरूले वडाअनुसार क्वारेन्टिनमा बस्नेहरूको स्थिति अवलोकन गर्नुहुन्छ। सबै वडा अध्यक्षसहित मेरो सम्पर्क नम्बर नगरपालिकाको फेसबुकमा राखेको छु। क्वारेन्टिनमा नरहे पनि कोरोनाका लक्षण देखिए सेती अञ्चल अस्पताल पुर्‍याएर स्वाब टेस्ट गराउने तयारी गरिरहेका छौँ।

स्थानीय स्तरमा ज्यालादारी मजदुरका लागि राहत उपलब्ध गराउने तयारी गरिरहेका छौं। तथ्याङ्क संकलन भैरहेको छ। ४ जनाको परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन दिने तयारी छ। ५ जना र त्योभन्दा बढी रहेको परिवारलाई ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल र १ किलो नुन दिने तयारी गरेका छौं।

दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि १ करोडको विपद् व्यवस्थापन कोष बनाएका छौं। स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई जुटाएका छौं। फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं।

मदनसेन बडायक, लालझाडी गाउँपालिका, कञ्चनपुर
हाम्रो गाउँपालिकामा अहिले विदेशबाट आएका १३ जना क्वारेन्टिनमा हुनुहुन्छ। भारतबाट आएका कतिपय घरमा क्वारेन्टिनमा बसेका समेत गरेर १३४ जना हुनुहुन्छ। हामीले सबैको अनिवार्य स्वाब टेष्ट गर्ने निर्णय गरेका छौं।

गाँउपालिकामा ३ वटा स्वास्थ्य संस्था छन्। जसमा दुई वटा सामुदायिक स्वास्थ्य संस्था छन्। १२ जना स्वास्थ्यकर्मीलाई हामीले पिपिई उपलब्ध गराएका छौं। एम्बुलेन्स एउटामात्र छ। नजिकै धनगढीमा सेती अञ्चल अस्पताल छ। त्यहाँ पुग्न ४५ मिनेट लाग्छ। हामीले गाउँपालिकामा एउटा वडाबाट अर्को वडामा जान कडाइ गरिरहेका छौं। विदेशबाट आएका मानिसहरूको नजिक नजाऊ भनेर घरपरिवारका मान्छेहरूलाई भनिरहेका छौं। हामीले एम्बुलेन्स चालकलाई पनि पिपिई दिएका छौं। सुरक्षाकर्मी र जनप्रतिनिधिलाई मास्क दिएका छौं।

धनबहादुर रोका मगर- मेयर, चुरे गाउँपालिका, कैलाली
हामीले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेका छौं। कसैलाई शंका लागेमा वडा अध्यक्ष वा स्वास्थ्य इकाइमा सम्पर्क गर्न सक्छ। सबै ६ वटा वडामा इकाइ छन्। हामीसँग एउटा एम्बुलेन्स छ। पिपिईको अभावले स्वास्थ्यकर्मीलाई दिन सकेका छैनौं। भएका ७ वटा पिपिई आपतकालिनको लागि भनेर राखेका छौं।

स्वास्थ्यकर्मीले पञ्जा र मास्कको भरमा काम गरिरहनु भएको छ। हामीसँग २५ जना स्वास्थ्यकर्मी छन्। चीनबाट पिपिई आउँछ भनेको मात्र सुनेको हो तर अहिलेसम्म आएको छैन। सबै वडाको गाउँमा एम्बुलेन्स पुग्दैन। त्यस्तो गाउँमा स्टेचरको व्यवस्था गरेका छौं।

अलिकति विकट भएकाले यातायातको समस्या छ। कुनै गाउँमा फोन लाग्दैन। त्यस्तोमा आधा घन्टा हिँडेर डाँडामा उक्लेर फोन गर्नुपर्छ। हामीसँग बिरामीको स्वाब झिक्ने स्वास्थ्यकर्मी छैनन्। हामीले बिरामीलाई धनगढी नै पुर्‍याउनु पर्छ। यहाँबाट दुई घन्टा लाग्छ।

ममताप्रसाद चौधरी- मेयर घोडाघोडी नगरपालिका, कैलाली
हामीले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन हरेक वडाहरूमा दैनिक माइकिङ गर्छौं। भारतबाट आएका १६ जनालाई क्वारेन्टाइनमा राखेका छौं। बाँकीलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं।

हामीसँग ४० बेडको क्वारेन्टाइन छ। सबै स्वास्थ्य चौकीमा फिभर क्लिनिक चलाएका छौं। सबै वडाहरूमा स्वास्थ्य चौकी छ। कसैलाई लक्षणको शंका लागेमा सिधै वडा अध्यक्ष, सदस्य वा एम्बुलेन्सको नम्बरमा फोन गर्न सक्छन्। हामीले एम्बुलेन्सको नम्बर बाडेका छौं।

बिरामीलाई राख्ने आइसोलेसन चलाउने हामीसँग क्षमता छैन। बिरामीलाई हामीले तुरून्त धनगढी पुर्‍याउने व्यवस्था गरेका छौं। त्यसको लागि दुइटा एम्बुलेन्स तयारी अवस्थामा छ। यहाँबाट बढीमा डेढ घन्टामै धनगढी पुगिन्छ।

स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा कवज र उपकरण दिन सकिएको छैन। हामीसँग जम्मा ४० वटा पिपिई छ। त्यो पनि चाहिन्छ भनेर लक डाउन अगाडि नै किनेका थियौं। ज्वरो नाप्ने थर्मल गनको अभाव छ। भएको एउटा थर्मल गन पनि टीकापुरका एकजना साथीबाट सापटी लिएको हो। बजारमा किन्न नपाइने भएकाले उसले पनि सापटीमात्र दियो।

थर्मल गन अलिक बढी भएको भए हामी आफैं अगाडि बढेर धेरैको जाँच गर्न सक्थ्यौं। स्वाब झिक्ने स्वास्थ्यकर्मी छैन। हामीले धनगढी नै लैजानुपर्छ। तर अब र्‍यापिड टेस्ट गर्ने कुरा आएको छ। त्यो भयो भने हामी क्वारेन्टाइनमा भएका सबैको परीक्षण गर्छौं।

पदम बडुवाल- मेयर, बडीमालिका नगरपालिकामा, बाजुरा
हामीसँग अहिले जिल्लामा १५ बेडको अस्पताल छ। जसमा दुईटा बेड आइसोलेसनको लागि छुट्याइएको छ। सबै पालिकाको बिरामी यहीँ आउने हो। तर पिपिई १२ वटामात्र छन्।

क्वारेन्टाइनमा ३९ जनलाई राखेका छौं। उहाँहरूमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन। हामीसँग पाँच वटा एम्बुलेन्स छन्। प्रत्येक वडामा स्वास्थ्य चौकी छ। तर स्वास्थ्यकर्मीलाई चुनौती छ। मास्क र पञ्जाको भरमा काम गर्नुपर्छ।

सबै वडामा गाडी पनि पुग्दैन। कुनै गाउँबाट ट्रयाकटरमा पनि बिरामी ल्याउनुपर्छ। यहाँबाट धनगढी स्वाब पुर्‍याउन ११ घन्टा लाग्छ। मान्छेहरूलाई बाहिर ननिस्कन साबुन पानी हात धुनु भनेर सचेतना गराएकै छौं। तर पिपिई लगायत सुरक्षा कवचको अभाव छ।

अलिकति संक्रमण बढ्यो भने पनि हामीले धान्ने अवस्था हुँदैन। त्यसपछि भगवान भरोसा हो। प्रदेश सरकारले भारतबाट आएकालाई आ-आफ्नो ठाउँ पठायो। त्यही बेला बाहिरबाट आएकाले धनगढीजस्तो सुविधा भएको ठाउँमा क्वारेन्टाइनमा राख्नुपर्थ्यो।

बरु हाम्रो पालिकाको व्यक्तिको बसेको खर्च हामी तिर्न तयार हुन्थ्यौं। तर यहाँ पठाएर मान्छेलाई मर्न पठाएजस्तो लाग्छ। हामीसँग के सुविधा छ? न अस्पताल छ। यहाँबाट धनगढी नै पुर्‍याउनु पर्छ। अहिले त जहाज पनि चल्दैनन् कसरी बिरामी पुर्‍याउने?

भुवनेश्वर उपाध्याय, अध्यक्ष थलरा गाँउपालिका, बझाङ
हरेक वडाले क्वारेन्टिन वार्ड बनाएका छन्। बिरामीलाई बोकेर लैजानका लागि १७ वटा स्ट्रेचरको व्यवस्था गरिएको छ। एउटा वडामा स्थानीयस्तरमै बनाइएका १७ सय देखि २ हजारवटासम्मका मास्कहरू वितरण गरिएको छ। साबुन पानीले हात धुन सहज होस् भनेर नसक्नेहरूका लागि साबुनको व्यवस्था गरेका छौं।

एउटा वडाबाट अर्को वडामा जान रोकेका छौं। अर्को गाउपालिकामा जान पर्‍यो भने अनुमति लिएरमात्रै जान पाउने बनाएका छौं। लक डाउनका कारण खाद्यान्नमा असर नपरोस भनेर चामल, नुन मगाएका छौं।

गाउँपालिकामा एम्बुलेन्स छैन त्यसले जीपहरू तयारी अवस्थामा राखेका छौं। केही मोटरसाइकलसमेत तयारी अवस्थामा छन्। सेती नदीमा पुल बन्ने क्रममा छ। त्यसैले झोलुंगे पुल तरेरमात्रै एम्बुलेन्स जाने सडकमा पुग्नुपर्छ।

भारतबाट आएका ७० जनालाई क्वारेन्टाइनमा राखेका थियौं अब ३ जनामात्रै छन्। स्थानीय स्तरमै बनाइएका र सदरमुकामबाट आएका गरी ५० वटा पिपिई तयार बनाइएको छ।

गाउँगाउँमा सूचनामूलक सन्देशहरू पठाएका छौं। कसैलाई केही शंका लागेमा नजिकको जनप्रतिनिधि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भन्न सकिन्छ।

त्यसपछि हामीले उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउने व्यवस्था मिलाएका छौं। ९ वटा वडामा १३ वटा स्वास्थ्य संस्था छन्। ती संस्थाबाट उपचार हुन सक्ने अवस्था आएन भने हामीले हेलिकप्टर मगाउँछौं। त्यसका लागि गाउँपालिकाको केन्द्र थलारखोलीमा हेलिप्याड समेत बनाएका छौं।

पुष्प शर्मा, अध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम
हामीले रेडियोबाट गाउँपालिकाको तर्फबाट सूचना दिएका छौं। गाउँपालिकाले २५ वटा क्वारेन्टिन वार्ड बनाएका छौं। लक डाउनका बेला मजदुरहरूलाई छाक टार्न दुःख नहोस् भनेर २० लाखको राहत कोष स्थापना गरेका छौं।

भारतबाट ६९० जना आएका थिए। उनीहरू सबै सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनीहरूको निगरानी गर्ने काम भइरहेको छ। राहतको व्यवस्थाका लागि हामीले तथ्यांकसमेत संकलन गरेका छौं।

हामीसँग एम्बुलेन्सको व्यवस्था छ। बाहिर लैजान पर्‍यो भने जीपहरू पनि भनेका छौं। स्वास्थ्यकर्मीसँग उपकरणको अभाव छ। उनीहरूको व्यक्तिगत सुरक्षाको लागि पिपिईको व्यवस्था गरिएको छ तर पर्याप्त छैन। स्वास्थ्य चौकीमा भ्याकुमको अवस्था छ। धेरै स्वास्थ्य संस्थाहरू अहेब, अनमी र सिएमएका भरमा चलेका छन् । उहाँहरूले नै फ्रन्टलाइनमा रहेर काम गर्नुभएको छ ।

गोविन्दबहादुर मल्ल- अध्यक्ष, हिमाली गाउँपालिका, बाजुरा
हामीले चैत ८ गत नै कोरोना संक्रमण रोक्न तयारी थालेका थियौं। नेपालगञ्जमा पाइएको एउटा ज्वरो जाँच गर्ने थर्मल गन ल्यायौं। ११ गते हुम्ला र भारतबाट आउने नाकामा हेल्थ डेस्क राख्यौं। सात वटामध्ये दुइटा वडामामात्र स्वास्थ्य चौकी थियो। बाँकी वडामा पनि स्वास्थ्य चौकी सञ्चालनमा ल्यायौं। हामीसँग एम्बुलेन्स छैन।

मैले प्रयोग गर्ने गरेको गाडी र अर्को एउटा जीपलाई तयारी अवस्थामा राखेका छौं। शंकास्पद बिरामी फेला परे गाडीमा जिल्ला अस्पताल पुर्‍याउँछौं। जिल्ला अस्पताल नै पुग्न ८ घन्टा लाग्छ। सबै वडामा गाडी पुग्दैन। कति ठाउँबाट एकदिन बोकेर ल्याउनु पर्ने हुन्छ।

स्वास्थ्यकर्मीलाई एउटा पनि पिपिई छैन। मास्क र पञ्जाको भरमा काम गरिरहनुभएको छ। सुरूमा त हामीले पनि कपडाकै बनायौं। तर पछि त्यसले धुलोबाहेक केही सुरक्षा गर्न सक्दैन भन्ने थाहा भयो। फेरि हामीले प्लास्टिकको सिलाउन थाल्यौं। चीनबाट पिपिई आयो भन्छ तर हाम्रोमा आएको छैन। अस्ति चीनबाट आएको सामान लिन पठायौं जम्मा २ सय वटा मास्क र पञ्जा पाइयो।

विदेशबाट आएका सात जना थिए उनीहरूको प्रत्येक दिन ज्वरो जाँच गर्‍यौं। अहिले उहाँहरू होम क्वारेन्टाइनमा हुनुहुन्छ। हामीले साढे ११ सय घरधुरी सबैलाई हात धुन दुई वटा साबुन दिएका छौं।

प्रतिक्रिया