आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कैलाली सीमा क्षेत्रका ७ स्थानमा सशस्त्र प्रहरीको चेकप्वाइन्ट स्थापना

प्रकाशित
1.1K
SHARES

कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न चेकप्वाइन्ट स्थापना गरिएको हो ।

धनगढी उपमहानगरपालिका–९ बङ्गराकटान, वडा नं १० जुगेडा, कैलारी गाउँपालिका खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर, वडा नं ६ कौवाखेडा, वडा नं ३ मौरीयाँघाट र टीकापुर नगरपालिका–९ श्रीलङ्कामा नयाँ चेक प्वाइन्ट स्थापना गरिएका हुन् ।

मुख्य नाका बन्द भएपछि सहायक नाका प्रयोग गरेर सर्वसाधारण नेपाल भित्रिन थालेपछि सीमामा नयाँ चेकप्वाइन्ट स्थापना गरिएको कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल ३४ नं गणले भारतसँग सिमाना जोडिएको एक सय किमी लामो सिमानामा हालसम्म एक गुल्म र चार बिओपीमार्फत सीमा सुरक्षा गर्दै आइरहेकामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सात चेकप्वाइन्ट स्थापना गरेको जनाइएको छ ।

नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गरिरहेको जनाइएको छ । चौबिसै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवतजावतमा पूर्णरुपमा निगरानी गरी नियन्त्रण गर्ने जनाइएको छ ।

यसैबीच कोभिड –१९ को परीक्षणका लागि भैरहवामा स्थापित प्रयोगशालामा परीक्षण गरिएका १० जनाकाे कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो । डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन् ।

प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो । प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि

लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन् । प्रदेश नं ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ । प्रयोगशालामा संघीय सरकारले पठाएको पीसीआर मेशिनबाट कोरोना परीक्षण हुने छ ।

प्रतिक्रिया