आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना सङ्क्रमण देखिएको १० दिनपछि भर्ना भए प्रधानमन्त्री जोनसन, केछ अवस्था ?

प्रकाशित
1.9K
SHARES

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा” चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ। डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ: “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।”

“कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।”

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

यसैबीच विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो धेरै संक्रमित स्पेनमा भएका छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । अहिलेसम्म स्पेनमा १२ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ६९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ५२५ जनाको मृत्यु भएको छ।

उता मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन् ।

मोरक्कोको न्याय मन्त्रालयले कैदी रिहाइबारे आएको समाचारलाई पुष्टि गर्दै जारी विज्ञप्तिमा भनेको छ, “बन्दीहरुको आचरण र व्यवहारिक बिषयलाई मध्यनजर राख्दै राजा मोहम्मद छैठौँको आदेश बमोजिम उनीहरूलाई रिहा गर्न लागिएको हो । मुक्त गरिने कैदीको छनौटको आधार उमेर, स्वास्थ्य, राम्रो आचरण र हिरासतमा रहँदाका गतिविधिलाई बनाइएको छ ।”

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आपतकालिन स्वास्थ्य अवस्था र आवश्यक सावधानीका कारण असाधारण अवस्थाको कारण निश्चित चरणमा उनीहरूको रिहा हुनेछ ।”

उत्तर अफ्रिकी मुलुक मोरक्कोमा कोभिड–१९ सङ्क्रमणका कारण ६६ जनाको मृत्यु भएको छ भने ९६० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ ।

राजाले जेलमा रहेका कैदीको सुरक्षाका लागि हदैसम्मको उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ । तीन करोड ५० लाख जनसङ्ख्या रहेको मोरक्कोमा प्रति लाख जनसङ्ख्या बराबर २३२ कैदी रहेका सरकारी तथ्याङ्क छ ।

मारक्कोका मानवअधिकारवादी समूहहरूले कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपले आफ्नो मुलुकमा पनि प्रभाव पारेको र यसका कारण कैदीको जीवन धरापमा रहेको भन्दै बाच्न पाउने अधिकारको रक्षा गर्दै राजनीतिक तथा छेकथुन मुद्दामा कैदमा रहेका र कैदको अन्त्यतिर पुगेका सम्पूर्ण कैदीलाई रिहा गर्न आग्रह गरेका छन् ।

सरकारको निर्णयमा सन् २०१६ र २०१७ मा मोरक्कोमा भएको ‘हिरक’ आन्दोलन अभियानमा लागेका कारण जेल जीवन विताइरहेका कैदीहरूलाई रिहा गरिने छ वा छैन यसबारे तत्काल प्रस्ट पारिएको छैन ।

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बाचेलेटले गत महिना देशहरूले बृद्ध बन्दी र माफी दिनसकिने अवस्थाका अपराधीहरूलाई सङ्कटलाई मध्यनजर गर्दै रिहा गर्ने बारे विचार गर्नुपर्ने बताएका थिए ।

इरान, अफगानिस्तान र इन्डोनेसियालगायत अन्य धेरै देशहरूले भाइरसको ठूलो प्रकोपको जोखिम कम गर्न जेलमा रहेका हजारौं कैदीहरूलाई रिहा गर्ने प्रस्तावलाई अघि सारेका छन् ।

प्रतिक्रिया