आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोलीले चाल्याे यस्ताे कदम, अब के हाेला ?

प्रकाशित
1.6K
SHARES

काठमाडाै । कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ। भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए।

‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने–‘गाडीको पछाडि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्‍याएको थियो।’

उनले सो दिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए। ‘उद्धार गरिएकामध्ये एक जनालाई संक्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ’, उनले भने, ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन।’

सशस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

चैतको दोस्रो साता लकडाउनको सुरूआत बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो। सशस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसँग पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए।

‘अरुमा त्यस्तो कुनै समस्या छैन’, उनले भने,‘संक्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौं।’ उनले संक्रमितसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताए।

‘अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन्,’ उनले भने,‘यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन्।’ कञ्चनपुरका नौ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्यांक संकलन गरेर सावधानी अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन्।

सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि र्‍यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ। ‘संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो,’ सहायक प्रजिअ उपाध्यायले भने–‘किट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गर्छौं।’

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देश तथा विदेशबाट आएका व्यक्तिलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

प्रदेशवासीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने,‘बाहिर मुलुकबाट आउनु भएका दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो नातेदार तथा नजिकका अरू व्यक्तिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी २१ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा रहन अपिल गर्दछु ।’

पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पनि अनिवार्य स्वास्थ्य जाँच गराउन आग्रह गरे । कोरोनाबाट बच्न सतर्क हुनुको विकल्प नभएको भन्दै मुख्यमन्त्री भट्टले लकडाउनलाई पूर्ण रूपमा पालना गरी सेल्फक्वारेन्टाइनमै सुरक्षित हुन अपिल गरेका छन् ।

साथै संक्रमित देखिएका कैलाली र कञ्चनपुरमा संघीय सरकारले ¥यापिड टेस्ट सुरु गर्ने निर्णय गरिसकेको जानकारी दिदै उनले थप अन्य जिल्लामा पनि विस्तारका लागि आग्रह गरिएको बताए ।

सुदूरपश्चिमबाट कोरोनाले नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि मुख्यमन्त्री भट्टले प्रदेशवासीलाई सम्बोधन गरी सतर्क रहन आग्रह गरेका हुन् । कैलालीमा विदेशबाट आएका एक व्यक्तिबाट उनको परिवारकै सदस्यमा कोरोना संक्रमित देखिएको छ ।

कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेसँगै केन्द्र सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाउने निर्णयसमेत गरी लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरिसकेको छ ।

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको रोष-सुरक्षा सामग्री नदिने, अनि लाइसेन्स खारेजको चेतावनी!
सुदूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो ।

सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको जानकारी दिए । उनका अनुसार कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोलापाखा झोलुङ्गे पुल सञ्चालनमा समेत रोक लगाइएको छ ।

जामु कुइने कैलाली जोड्ने यहाँको मुख्य नाका हो । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र कैलाली जिल्लासँग सीमा जोडिएको यस गाउँपालिकाले कैलालीमा सङ्क्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको हो ।

गाउँपालिकाले पुलका साथै फेरी, डुङ्गा सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ । त्यस्तै, अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ काटई झोलुङ्गे पुल पनि पूर्णरुपमा बन्द गरिएका छन् ।

“फेरी, डुङ्गा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडाध्यक्षले स्वयंसेवक टोली परिचालन गर्नेछन्”, अध्यक्ष शाहीले भभे, “यसका लागि प्रतिवडा कम्तीमा १० जनाको स्वयंसेवक टोली खटाउन आवश्यक निर्देशन दिएका छौंँ ।”

धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यसंगै उनका दुई जना आफन्तको रिपोर्ट पनि नेगेटिभ आएको छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका ८ जना परिवारका सदस्य र दुई जना आफन्तको नमूना संकलन भएकोमा परिवारका सात जना सदस्य र दुई जना आफन्तको रिपोर्ट नेगेटिभ आएको हो।

१० जनामा ९ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपोर्ट आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। आज रिपोर्ट आएका दुई जनामा एक जनाले संक्रमितलाई मोटरसाईकलमा अस्पताल पुगाएका थिए भने एक जना संक्रमितकै आफन्त हुन्।

कोरोना संक्रमित युवकी र उनकी भाउजुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। संक्रमित युवकको दोश्रो रिपोर्ट पनि ‘पोजेटिभ’ देखाएको छ।

प्रतिक्रिया