आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना, ओलीको बाँसुरी र जलिरहेको देश

प्रकाशित
3.9K
SHARES

लकडाउन अर्थात् बन्दाबन्दी हुनुभन्दा एकदिन अघि घरबाट बच्चाहरूले फोन गरेर भनेका थिए, “भोलिदेखि घरमै बस्ने गरी अत्यावश्यक काम सकेर आउनुहोला ।” कोरोना भाइरसका कारण केही दिनअघिदेखि मानिसहरू घरमा बस्न सुरु गरिसकेका थिए । सोही दिन बेलुकी क्याबिनेट पनि बस्दै थियो । लकडाउन हुन्छ रे भन्ने समाचार पनि आइरहेका थिए । प्रकाशनसम्बन्धी कामको चापाचाप थियो तर पनि पछिल्ला सबै परिस्थितिको समेतको आँकलन गरेर “हस्, भैहाल्छ नि” भनिदिएँ ।

म आफैँतिर फर्केर हेर्छु, मेरा पारिवारिक जीवन अनौठो पाउँछु । यो अनौठो हुनुमा म नै मुख्य कारण हुँ । म पार्टी र सङ्गठनका काममा बार र दिन नभनी दौडिरहने एउटा अनौठो खालको मानिस हुँ जस्तो लाग्दछ । यसपटक कोरोना ‘कोभिड-१९’ को महामारी आयो । समय पनि त्यस्तै बन्यो, अनुशासित भएर घरमा बसियो । केही गुनासा मेटिए । केही नयाँ जिज्ञासा पलाए । पारिवारिक मनोविज्ञानको अध्ययन गर्न पाइयो । आफ्नै आत्मसमीक्षा गर्ने मौका पनि मिल्यो ।

यताको उता र उताको यता गर्न किताबहरूको कमी थिएन । एसएलसी सकाएर डाक्टर पढ्नकाठमाडौं पसेको मान्छे मास्टरसम्म बन्न सक्यो । मास्टरबाट ऊ लेखनमा प्रवृत्त भयो । वास्तवमा उसको जीवनको सम्पत्ति भन्नु नै तिनै किताब नै थिए । यसै यसै पनि तिन किताबका माया लागेर आउने ! यसपटक निकै किताब सुमसुमाएँ तर एकाध पुस्तक मात्र पढ्न सकेकोे छु, पढ्न भ्याएको छु । लेखनकार्यलाई अलि बढी जोड गरेको छु । शरीर घरमा भए पनि मन चौतर्फी दौडिरहेको छ । मनलाई लकडाउन गर्न धेरै कठीन काम हो जस्तो लाग्छ ।

प्रत्येक सङ्कटमा अवसर हुन्छ भनेर धेरैले भनेको सुनेको छु । बिल गेट्सले पनि यो कुरालाई कतै उल्लेख गरे जस्तो लाग्छ । राजनीतिक रूपमा पनि माक्र्स, लेनिन, माओ र हाम्रै सन्दर्भमा यो पदावली निरन्तर सुन्दै आएकै हो । केही मानिसले कोरोना सन्त्रासलाई सिधै मृत्युसँग तुलना गरेको पनि देखियो । अधिकांश मानिस मृत्युलाई एउटा त्रासद्को रूपमा बुझ्छन् तर मैले भने यसलाई एक अनिवार्य प्राकृतिक महोत्सवको रूपमा बुझ्दछु । यसले मानिसले आफ्नो जीवनमा गरेको सुकार्य वा कुकार्यको द्योतन गर्दछ । फरक कुरा यति मात्र हो । कोही मरेर पनि बाँचिरहन्छन्, कोही बाँचेर पनि मरिरहन्छन् । मृत्युसम्बन्धी खास कुराचाहिँ यो होला जस्तो लाग्छ मलाई ।

लकडाउनले त्यति धेरै फरक पारेको महसुस गर्नुपरेको छैन । समाचार हेर्दा लाग्छ, नेपालका अधिकांश मानिस कोरोनाविज्ञ हुन् । नेपालीहरू यस्तो कुरामा अलि बढी नै फर्वाड नै हुन् कि जस्तो पनि लाग्छ । २०७२ सालमा आएको शक्तिशाली भूकम्पको समयमा पनि अधिकांश नेपालीहरू भूकम्पविज्ञका रूपमा प्रस्तुत भएका थिए । यो समकालीन नेपाली समाजको मनोविज्ञान पनि होला, सबैलाई आफू जान्ने सुन्ने छु भन्ने कुरा देखाउनुपर्ने ! ‘सालको रुखमा मृगको बच्चाको सिकार’ गरेजस्तो कथा हाल्ने त नेपाली समाजको मौलिक पुस्तैनी शैली पनि हो । म र मेरो परिवार मात्र घरभित्र थुनिएको छैन, आजको विश्वभर अरबौँ मानिस घरमा थुनिएका छन्, कोठामा थुनिएका छन् ।

लेखक : खेम थपलिया

मैले यो थुनिएको शब्द किन पनि प्रयोग गरेको हुँ भने अधिकांश मानिसले यसलाई एउटा कहर ठानेका छन्, यसलाई व्यक्तिगत, पारिवारिक र सामाजिक अनुशासनका रूपमा लिने सङ्ख्या एकदमै कम छ । अनुशासन राजनीतिमा मात्र होइन, जीवनको हरेक आयाममा लागु हुने कुरा हो । फेरि, आजको समाजवादी कम र पुँजीवादी बढी भएको समय हो । फेरि आजको समय पुँजीवादीहरूले आफ्नो सङ्कटबाट जोगिन समाजवादी मुटु हाल्नैपर्ने बेला पनि हो । कुनै बेला संसारको दुईतिहाइ भू–भागमा कम्युनिस्ट व्यवस्था उदाएको थियो ।

दोस्रो विश्वयुद्धपछिको वैचारिक तथा राजनीतिक सुनामीले ठुला ठुला नेता जन्माएको पनि थियो तर संसारमा कहीँ पनि स्थायी प्रकारको कम्युनिस्ट समाज बन्न सकेन । कम्युनिस्टहरू लडाइँ लड्न सक्तछन्, कम्युनिस्टहरू जित्न पनि सक्दछन् तर उनीहरू आफूले लडेर प्राप्त गरेको व्यवस्था टिकाउन सक्तैनन् भन्ने विश्वव्यापी आरोप पनि छ । हामीले यो आरोपलाई व्यावहारिक रूपमै खण्डित गरिदिनुपरेको छ । तर, यो कुरा आजको हाम्रो चिन्तन र कार्यशैलीबाट पूरै असम्भव छ ।

विश्वलाई एउटा यस्तो भ्रम परेको छ कि नेपालमा केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार रहेको छ । नेपालमा असली कम्युनिस्ट सरकार हुन्थ्यो भने लकडाउनमा नागरिक निजी घरमा होइन, कम्युनिस्ट समाजमा, कम्युनिस्ट घरमा हुन्थे । संस्कृति नै त्यस प्रकारको हुन्थ्यो तर राजनीतिक चक्र ठीक उल्टो घुमिरहेछ । नेपालका नेताहरू भन्ने एउटा र गर्ने अर्को एउटा प्रवृत्तिको रूपमा विकास भइरहेको छ । कहिलेकाहीँ म यसो हेर्छु, अनेक नामबाट राजनीति गरिएको भए पनि समकालीन विश्व उही उही प्रकृतिबाट चलिरहेको छ । अनेक कथा हाल्ने, फुँदा–फुर्का जोड्ने कुरा अर्कै हो । चलनचल्तीको भाषामा भन्ने हो भने ‘सबै एउटै ड्याङका मुला !’

फासिवादी केपी ओली सरकारद्वारा लादिएको प्रतिबन्ध एकातिर छँदै थियो, अर्कोतिर कोरोनाको लकडाउन पनि थपियो । हामीलाई त यसै पनि उसै पनि सिङ्गो देश नै जेलसरह थियो नै । कथित समाजवादी ओली सरकारले राम्ररी हिँड्डुल गर्न नपाइने, खुल्ला कार्यक्रममा जान नपाइने, गइहाले पनि फुत्त निस्कनुपर्ने, चियापसलमा बसेर साथी भाइहरूसित बसेर आनन्दसित हाँसेर चिया पनि पिउन नपाइने अवस्था बनाएकै थियो । नेपालमा ‘देश नबेच, भ्रष्टाचार नगर’ भन्दा जेल हिरासत जानुपर्ने अवस्था छ ।

म आफैँले पनि पटक पटक हिरासत भोगेको छु । क्रान्तिकारी तथा देशभक्त नागरिकहरूलाई झुट्टा मुद्दामा महिनौँ अल्झाउने गरिएको छ । कोरोना भाइरसलाई मात्र के दोष दिनू, नेपाल र नेपाली जनताका लागि केपी ओलीको सरकार नै कोरोनाको महामारीका रूपमा सन्त्रास फैलाइरहेकै थियो र, छ । त्यसकारण मलाई लाग्छ, ओलीको फासिवादी उत्पीडनमा परेका श्रमजीवी तथा उत्पीडित जनतालाई कोरोना सन्त्रास त्यति ठूलो नयाँ कुरा हुने कुरा भएन । कोरोना प्रकोपबाट आफू बँच्न र अरूलाई पनि बचाउन सचेतता र सावधानी अपनाउनु अर्कै विषय हो ।

नेपालमा चैतको पहिलो हप्तातिर कोरोना भाइरसबारे अलि बढी चर्चा सुरु हुन थालेको थियो । चीनको बुहानमा कोरोना भाइरस नियन्त्रणमा आएको र युरोप तथा अमेरिकामा कोरोनाले गाँज्दै लगेको समाचारहरू पनि आइरहेका थिए । नेपालमा एसईई परीक्षाको स्थगनपछि मात्र जनतामा ‘ओ हो ठुलै समस्या आउन लागेछ कि क्या हो !’ भन्ने परेको हो । विश्व स्वास्थ्य सङ्गठनले पनि नियमित पत्रकार सम्मेलन गरेर विश्वभर कोरोनासम्बन्धी स्वास्थ्य सन्देश पु¥याइरहेको थियो ।

यसैबिच सरकारले २०७६, चैत ११ गतेबाट देशैभर एकैचोटि लकडाउनको घोषणा गरिदियो । भूमिगत राजनीतिका विभिन्न सङ्गीन अवस्था पार गरेर आएकाहरूलाई, नेपाली जनता र माओवादी मार्न लगाइएको सङ्कटकालका विभिन्न सङ््गीन घुम्ती गुजारेर आएकाहरूलाई, विभिन्न समयमा जेल र हिरासतको मोर्चा सम्हालिसकेकाहरूलाई, पछिल्लो चरणमा ओली सरकारले थोपरेको अन्यायपूर्ण प्रतिबन्धलाई ह्याकुला मिचेर असफल पारिसकेकाहरूलाई लकडाउनले कुनै फरक पार्ने थिएन र छैन पनि ।

ओली कोरोना र कोभिड १९ कोरोनाको अन्तिम चुरो कुरा भने गरिब तथा उत्पीडित जनतालाई दुःख दिनु हो । रोग, महामारी, उपचार, सहानुभूति र राहत आदि सबै वर्गीय हुन्छ भन्ने कुरा यसपटक विश्वले नै छ्याङ्ग देखेको छ । मलाई लाग्छ, हाम्रो पुस्ताले व्यहोरेको लकडाउन सम्भवतः पहिलो हो ।

विश्वका करिब करिब सबै देशमा वा ठुल–ठुला सहरमा लकडाउन गरिएको यतिबेला कोरोना भाइरस ‘कोभिड-१९’ ले समाजवादी देशहरूका तुलनामा पुँजीवादी–साम्राज्यवादी देशहरूलाई बढी पिरलोको देखिन्छ । यसका केही सैद्धान्तिक, दार्शनिक तथा सांस्कृतिक मान्यता रहेका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुट्रेसले चेतावनी दिंदै भनेका छन्, “कोरोना ‘कोभिड १९’ दोस्रो विश्वयताकै ठूलो चुनौती बनेर उपस्थित भएको छ ।” कोरोना ‘कोभिड १९’ ले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे राष्ट्रसङ्घले प्रतिवेदन सार्वजनिक गर्दै कोरोना महामारीका कारण विश्वव्यापी आर्थिकमन्दीको प्रक्षेपण गरेको छ ।

यसका कारण आउने भयावहको अवस्थाबारे चर्चा भइरहँदा ‘अमेरिकन शताब्दी’ शब्दका क्वाइनर टाइम पत्रिकाका संस्थापक–प्रकाशक हेनरी लुसे यतिबेला के सोचिरहेका होलान् ? अर्को गज्जबको कुरा के छ भने ‘अमेरिकी शताब्दी’ को अन्त्यको सम्भावना प्रवल बन्दै गएको यतिबेला ट्रम्प प्रशासन चीनमाथि थप आक्रामक भएको तथ्य अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनसम्बन्धी गरेको टिप्पणीले पनि पुष्टि गर्दैन र ! अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार कोरोनालाई ‘चाइनिज भाइरस’ भन्नुले पनि यसको राजनीतिक तथा रणनीतिक पक्षलाई उजागर गर्दैन र ! यद्यपि, पछिल्लो चरणमा ट्रम्प र सीका बिच फोनवार्ता भएपछि यो विवाद केही मत्थर भएको आँकलन गरिएको छ ।

घरमा छु, मुख्य साथी भएको छ कम्प्युटर र सामाजिक सञ्जाल । विश्वभर कोरोनाको सन्त्रास छाइरहेकै बेला यससित सम्बन्धित अनेक विकृत समाचार पनि आइरहेका छन्– भारतमा प्रधानमन्त्री मोदीकै नेतृत्वमा भाजपाका नेता तथा कार्यकर्ताले गोमूत्र, गोबर, ताली, थाली, ध्वनि तरङ्ग, मैनबत्ती जलाउनेजस्ता काम गरिरहेका छन् । भारतमै क्वारेन्टाइन बस्नुको साटो पञ्चाबका दर्जनौँ गाउँ डुलेपछि शिख धर्मगुरु बलदेव सिंहको निधन भएको छ ।

विश्वभर कोरोना महामारीको रूपमा फैलिरहेको अवस्थामा धर्मसम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने चितवनकी जानकी ढुङ्गाना पक्राउ परेकी छिन् । यसुका अनुयायीलाई कोरोनाले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने पोखराका केशवराज आचार्य पनि पक्राउ परेका छन् । नेपालमा विभिन्न संस्थाले २०७६ चैत २३ गते ‘हामी जहाँ छौँ, घरको दैलो, छत जहाँ सम्भव छ, दियो बालौँ; कोरोनाविरुद्धको विश्व लडाइँमा ऐक्यवद्धता व्यक्त गरौँ; स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समस्त मानव कल्याणका लागि प्रार्थना गरौँ’ भन्ने उर्दी जारी गरेका छन् ।

समाचारहरूका अनुसार चीन एक्लैले आफूलाई कोरोनाबाट मुक्त गरेर आफ्नो पूर्ववत् लयमा फर्किसकेको छ । उत्तर कोरियाले पनि आफू कोरोना महामारीबाट मुक्त भएको घोषणा गरिसकेको छ । क्युबाले उच्च मनोबलका साथ इटालीलगायत विश्वका दर्जनौँ देशमा आफ्नो चिकित्सक र मेडिकलजन्य सामग्री पठाएर सहयोग गरिरहेको छ । भियतनामले स्वास्थ्य क्षेत्रमा आफ्नो असाधारण कुशलता देखाएको छ ।

क्युबाले पनि आफूलाई शानदार ढङ्गले कुशल राष्ट्र भएको दृष्टान्त पेश गरेको छ भने रसिया सावधानीका साथ सामान्य अवस्थामै छ तर अमेरिकामा कोरोना महामारी असामान्य बन्दै गएको छ । अमेरिकी साम्राज्यवाद र मिस्टर ट्रम्प हैरानी परेसानीमा छन् । तोराबोरामा बम खसालेर स्कुल, शरणार्थी शिविरमा बालबालिका, बुढाबुढी मारेजस्तो सजिलो छैन अमेरिकालाई कोरोनासँग लड्न । माओले त्यसै भन्नुभएको होइन– साम्राज्यवादीहरू–प्रतिक्रियावादीहरू कागजीबाघ हुन् ।

चीनले कोरोनाबाट सान्त्वनाको सास फेरे भए पनि भारत तवाह–तवाहको स्थितिमा छ । भारतमा लकडाउनका कारण पाँच करोड श्रमिक विपत्तिमा फस्ने देखिएको छ । अहिले बहस चलिरहेको छ कि इटालीजस्तो भयो भने भारतले के गर्ला ? यस्तो अवस्थामा कोरोनाले भन्दा भोकले मर्ने मान्छेको सङ्ख्या बढी हुनेछ । यद्यपि विश्वमा भोकको महामारी अत्यासलाग्दो रहेको छ । शक्तिशाली राष्ट्रहरूले यही भोकको महामारीलाई सत्ता र शक्ति प्राप्त गर्ने भ¥याङ बनाउँदै आएका छन् ।

यतिबेला देशका प्रधानमन्त्री गम्भीर बिरामी हुनुहुन्छ । नमरुञ्जेल कुर्सीमा टाँसिरहने संसदीय व्यवस्थाको विशेषता नै भन्नुपर्ला । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पफर्मेन्स पनि राम्रो देखिएन ! मित्रराष्ट्र चीनबाट ल्याइएको सामानमा व्यापक भ्रष्टाचार भएको सन्दर्भमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि नराम्ररी मुछिएपछि नेपाली राजनीतिक अन्तै अन्तै जाला कि जस्तो पनि भएको छ । सामाजिक सञ्जालहरूमा सरकारको कटु आलोचना भइरहेको छ । यता सत्तारुढ पार्टी–जीवनको सन्तुलन पनि खलबलिन थालेको छ भने उता ओली सरकार आफ्नै असक्षमताका कारण रक्षात्मक बन्दै गएको अवस्था छ ।

कोरोना भाइरस ‘कोभिड-१९’ को महामारीले विश्व, देश, समाज र मानवजीवनलाई चौतर्फी प्रहार गरेको छ । कोरोना भाइरस पहिलोपटक सन् २०१९ को डिसेम्बरमा चीनको बुहान सहरमा देखिएको मानिन्छ । हुन त विश्वमा यस्ता महामारी बेला–बेलामा देखिने गरेको छ । विश्वले स्पेनिस ‘फ्लु’ देखि एभियन फ्लु, हङकङ फ्लु, सार्स, स्वाइन फ्लु, मर्स, इबोला आदि महामारी भोगेकै हो । अहिले संसारभर कोलाहल मच्चाइरहेको कोरोना भाइरसलाई नयाँ खालको भएको विज्ञहरूको दाबी छ । कोरोना भाइरसको उत्पत्तिको स्रोत र मानिसमा सङ्क्रमणबारे वैज्ञानिकहरू अहिले पनि गहिरो अनुसन्धानरत छन् ।

मानिसको मन पनि कस्तो कस्तो हुने ! यस्तो महामारी र सङ्कटको बेलामा पनि विभिन्न बहानामा निजी अस्पतालहरूले सेवा बन्द गरिदिएका छन् । निजी विद्यालयका सञ्चालकहरूले शुल्कबारे घातक अभिव्यक्ति दिएका छन् । राष्ट्रिय पुँजीपति र ठुला उद्योगपतिहरू बेखबर छन् । यति समूह पनि ओम्नी प्रकरणमा परेर दुर्घटनाग्रस्त भएको छ । हुन त दलाल संसदीय व्यवस्थाको मूल विशेषता भनेकै सजिलो बेलामा राज्यलाई लुट्नसम्म लुट्ने अनि अप्ठ्यारो अवस्थामा वा राज्यको सेवा गर्ने बेलामा लुक्नु हो, बेपत्ता हुनु हो । अहिले जनस्तरबाट निजी विद्यालय र निजी अस्पतालहरूको तुरुन्त राष्ट्रियकरण गर्नुपर्ने माग उठिरहेको छ । मलाई लाग्छ, यो माग एकदमै जायज छ र सही छ ।

सत्तारुढ दल ‘डबल नेकपा’, तिनका सरकारी तथा पार्टी प्रतिनिधिहरू यति निकम्मा बन्दै गएका छन् कि न तिनका बोलीमा कुनै ओज र सङ्गति छ, न तिनका काम–कारबाहीमा कुनै एकरूपता नै छ । न ऊ प्रभावकारी काम गर्न सक्छ, न ऊ आलोचनाको स्वर नै सुन्न तयार छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनताको आलोचनात्मक स्वरलाई “गिद्धहरू गीत गाउँदैनन्, उनीहरू फूलतिर हेर्दैनन्, सिनो मात्रै हेर्छन्” भन्ने, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल “मेरो घरमा पाउना आइरा’छन्” भनेर तर्कने यो के पारा हो ।

इतिहासको यस घडीमा आफ्नो जन्मभूमिमा पाइला टेक्न महाकालीमा हामफाल्नेलाई यो सरकार पक्राउ गर्छ, लाठी बर्साउँछ । यो सरकार ‘भ्रष्टाचार नगर, जनताको सेवा गर, देश नबेच’ भन्ने राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउँछ । यो सरकार प्रतिबन्धले नपुगेर नेता तथा कार्यको हत्या गर्छ, झुट्टा मुद्दा लगाउँछ, जेल र हिरासतमा लगेर कोच्छ । हुन त जनताको आधारभूत तहबाट कटेपछि र गलत राजनीतिक कार्यदिशा लिएपछि हुने यस्तै यस्तै त हो ! मलाई गहिरोगरी महसुस भएको छ कि ओली सरकारको विधिको विधान यही छ भने यो विधिको पनि अब मिति पुग्यो ।

ओली नेतृत्वको ‘कम्युनिस्ट’ सरकारप्रति हाम्रो राजनीतिक, वैचारिक तथा दार्शनिक रूपमा गम्भीर विमति रहेको कुरा स्पष्ट नै छ । यतिखेर ऊसितको चर्को राजनीतिक लडाइँ पनि चलिरहेको छ, चल्दै पनि गर्ला तर यतिबेला विश्वभर कोरोना भाइरस भाइरसको महामारीले चर्को रूप लिँदै छ । ओली सरकारले यो महामारीबाट नेपाल र नेपाली जनतालाई सुरक्षित राख्न आफ्नो क्षमता, कौशल र बुद्धि देखाऊँला नै । यतिबेला कोरोना महामारीको अन्त्यपछि नेपालमा मात्र होइन, विश्वमै राजनीतिक प्रणालीलाई नयाँ शिराबाट उठाउनुपर्दछ भन्ने बहस पनि सुरु भइसकेको छ ।

झन्डै झन्डै तेस्रो विश्वयुद्धजस्तो देखिएको यतिबेला ओली सरकारले तुरुन्त नेपाल कम्युनिस्ट पार्टीमाथि अन्यायपूर्ण रूपमा थोपरेको राजनीतिक प्रतिबन्ध हटाउँदै झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिनुभएका नेता एवम् कार्यकर्ताको रिहाइ गर्नुपर्दछ । अपेक्षा गरौँ, ओली–प्रचण्डहरूले यस्तो संवेदनशील घडीमा ‘रोम जलिरहेछ, निरोहरू बाँसुरी बजाइरहेछन्’ को चरितार्थ गर्नेछैनन् । २३ चैत, २०७६

प्रतिक्रिया