आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेनाले देशभर त्रास फैलाएकाे बेला धादिङमा देखियाे अर्काे डरलाग्दाे राेग, २ जनाको मृत्यु, १५० बिरामी

प्रकाशित
1.8K
SHARES

धादिङ । यति बेला देशभर काेराेना भाइरसकाे त्रास छ । तर धादिङको चेपाङ बस्तीमा भने डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् ।

मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।

उनका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । गाउँपालिकाको वडा–६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन् । हरिहरसिंह राठौरले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

गत फागुन ६ मा पहिलोपटक चरौदीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा चार बालकलाई उपचारका लागि ल्याइएपछि दादुरा फैलिएको पत्ता लागेको हो । चेपाङ बस्तीहरुमा दादुरा फैलिएको थाहा पाए लगत्तै फागुन ७ मा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली रोतेस, सोलडाँडालगायतका स्थान पुगेको थियो । ४५ जना दादुरापीडित पत्ता लगाएर ७ जनाको रक्त परीक्षणसमेत गरिएको थियो । तीमध्ये गम्भीर अवस्थाका दुई बालकलाई थप उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल पठाइएको थियो ।

२०७४ मंसिर १६ मा जिल्लालाई ‘आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा’ गरिएको थियो । तर, विकट चेपाङ बस्तीमा बालबालिकाले खोप लगाउन पाएका छैनन् । गत साता छोरी अनिसालाई गुमाएकी ६ सन्तानकी आमा सोल्टीमायाले एउटै सन्तानले पनि खोप लगाउन नपाएको बताइन् । उनका अन्य दुई छोरीहरु १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले थलिएका छन् ।

दादुराको प्रकोप फैलिएको बस्ती पुगेका बेनीघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले यसपटक मात्रै करिब २ सय जनालाई खोप लगाइएको बताए । लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका सबै बालबालिकालाई दादुरालगायतका आधारभूत खोप दिइने उनले जानकारी दिए ।

यता कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले देशैभर गरेको लकडाउनले नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालभरका स्कूल कलेजहरु बन्द छन् भने अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् ।

बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।

राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् । सडक लगभग सुनसान छ । कतै जाम छैन । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुन थाल्छ ।

सडकमा अरु बेलाका तुलनामा ट्राफिक चेकिङ भने बाक्लो छ । प्राय: व्यस्त रहने काठमाडौंको कोटेश्वर, थापाथली, सिंहदरवार, बानेश्वर लगायतका स्थानमा फाटफुट गाडी मात्र गुडिरहेका छन् । काठमाडौं पहिलेभन्दा स्वच्छ र खुला देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिबारसम्म १५३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ९९, पाकिस्तानमा ४१, बंगलादेशमा ८, अफगानिस्तामा ७ र श्रीलंकामा ५ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १५३ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन । सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा शनिबार थप १३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जना उपचाररत छन् ।

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भएको छ भने २ हजार ८१८ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण शनिबार मात्रै पाकिस्तानमा थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।पाकिस्तानमा शनिबार १ सय ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ८१८ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये १३१ जना उपचारपछि निको भएका छन् । २ हजार ६४६ जना उपचाररत छन् । उनीहरुमध्ये १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा शनिबार थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । त्यसैगरी शनिबार थप ९ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ७० पुगेको छ ।

बंगलादेशमा संक्रमित ७० जना मध्ये ३० जना उपचारपछि निको भइसकेको छन् । ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म ७ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा शनिबार थप १ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विहीबार थप १८ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या २९९ पुगेको छ । अफगानिस्तानमा संक्रमितमध्ये १० जना उपचारपछि निको भएका छन् । २८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका शनिबार थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

श्रीलंकामा विहीबार थप ७ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६६ पुगेको छ । जसमध्ये २७ जना उपचारपछि निको भएका छन् भने १३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

जसमध्ये एक जना संक्रमित उपचारपछि निको भइसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको शनिबार १३ औं दिन पुगिसकेको छ ।

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबार संक्रमित र मृत्यु हुने नयाँ घटना नदेखिए पनि हालसम्म १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ । भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जना मध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट आइतबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ७२७ पुगेको छ । विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ९६४ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

प्रतिक्रिया