आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका पहिलो कोरोना संक्रमित युवाले दिए यस्ताे अनाैठाे बयान, बनायाे सबैलाई भावुक र चकित

प्रकाशित
8.2K
SHARES

काठमाडाैं । चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ९ पुगिसकेको छ। तीमध्ये पहिलो संक्रमित युवा भने निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका छन्।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। उनले कोभिडको लक्षण, अस्पतालको निगरानी र उपचार प्रक्रिया लगायतका अनुभव कान्तिपुरकी बुनु थारुलाई यसरी सुनाए :

म चीनको वुहानमा अध्ययनको क्रममा थिए। जनवरी ३-४ को बीचमा मलाई सामान्य लक्षण देखिन थालेको थियो। सुरुमा त खोकी लाग्यो। त्यसबेला मसँग तापक्रम नाप्ने थर्मोमिटर थिएन। ज्वरो आएको छ/छैन भनेर थाहा पाउनै सकिएन।

त्यसबेला वुहानमा शून्य डिग्रीको तापक्रम थियो। एसी भएको कोठा तातो थियो। सिरक ओढेर सुत्दा हल्का पसिना आउने हुन्थ्यो। त्यसैले ज्वरो नै हो कि होइन, खुट्याउन सकिएन। जाडो बिदाको सदुपयोग गर्न म नेपाल फर्कने तयारीमा थिएँ। यसका लागि एक महिनाअगाडि नै टिकट बुक गरेको थिएँ।

घर फर्कन ४-५ दिन बाँकी थियो। वुहानमा नयाँ भाइरस देखियो भन्ने खालका समाचार आउन थाले। त्यसलाई सुरुमा गम्भीर रुपमा लिएको थिइनँ। त्यतिबेला संक्रमितको संख्या ज्यादै कम थियो। फेरि वुहानमा मात्रै देखिएको थियो। मलाई ज्वरो आएको त्यति महसुस थिएन। अलिअलि खोकीचाहिँ थियो। कोरोनाकै संक्रमण होला भनेर म आफैंमा विश्वस्त हुन सकिरहेको थिइनँ। रुममै बसिरहेँ। बाहिर हिँड्यो भने झन् बिरामले सताउँछ भनेर निस्किइनँ। किनकि घर जाने समय पनि आउनै लागेको थियो।

जनवरी ९ मा बिहान साढे ७ बजेको फ्लाइट थियो। वुहानदेखि कुनमिङ, कुनमिङदेखि काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि म काठमाडौंको आफ्नो कोठामा गएँ। ३-४ दिन नै बसेँ। त्यसबेला औषधिको रुपमा कफसिरप र सन्चो प्रयोग गरें। ठीक नभएपछि जनवरी १३ मा १० बजेतिर टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल गएँ।

डाक्टरलाई देखाउँदा त्यतिबेला मेरो शरीरको तापक्रम ९९.६ थियो। डाक्टरले ट्राभल हिस्ट्री र ब्याकग्राउन्डबारे सोधे। उनीहरुलाई वुहानको अवस्थाबारे पक्कै थाहा थियो। त्यसपछि मलाई अस्पतालको निगरानीमा बस्न आग्रह गरियो।

म अस्पतालमा ४ दिन बसें। दुई दिनसम्म चाहिँ सुत्दाखेरि श्वासप्रश्वासमा समस्या देखिन्थ्यो। श्वास छिटोछिटो चलेकोजस्तो लाग्ने। अक्सिजन लेभल ९० भन्दा माथि हुनुपर्ने रहेछ। श्वासप्रश्वासमा समस्या हुँदा मलाई २ दिन ३० देखि ४० मिनेटसम्म अक्सिजन दिइयो। एन्टिबायोटिक कफ सिरफजस्ता औषधि खुवाइयो।

तेस्रो दिन नै निको भइसकेको थिएँ। ममा पहिलेका लक्षण देखिन छाडिसकेका थिए। काठमाडौंको तापक्रम र शरीरको प्रतिरक्षा प्रणालीले काम गर्‍यो होला। तेस्रो दिनदेखि खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन छाड्यो। थप लक्षण देखिन सक्छ कि भनेर चौथो दिन पनि निगरानीमा राखियो। लक्षण नदेखिएपछि जनवरी १७ को बिहान १० बजेतिर म अस्पतालबाट डिस्चार्ज भएँ। र, सरासर आफ्नै रुममा फर्किएँ।

डिस्चार्जपछि पोजिटिभ रिपोर्ट
त्यतिबेला कोभिड-१९ को परीक्षण सुविधा नेपालमा उपलब्ध रहेनछ। डाक्टरका अनुसार मेरो लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। यसैले म शंकाको घेरामा भने थिएँ। अस्पतालमा भर्ना हुँदा स्याम्पलहरु लिइएको थियो। मेरो स्याम्पल ३ दिनपछि हङकङको ल्याबमा पठाइयो। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनवरी २४ मा मेरो कोरोना परीक्षणको रिपार्ट पोजिटिभ आएको जानकारी दियो। यो खबर मैले पनि मिडियाबाट नै सुरुमा थाहा पाएको हुँ।

सुरुमा त विश्वास लागेन। जानाजान पोजिटिभ भनेको जस्तो पनि लाग्यो। तर, लक्षण भने मिल्दोजुल्दौ नै थियो। किनकि, रुघाखोकी लाग्दा हाम्रो शरीर त्यति कमजोर हुँदैन। कोरोनाले भने कमजोर बनाउने रहेछ। श्वासप्रश्वास छिटोछिटो हुन्थ्यो। पोजिटिभ रिपोर्ट आएको सुन्दा परिवारमा खासै डराउनुभएन किनकि म ठीक भइकसकेको थिएँ।

रिपोर्ट आएपछि रुममै बस्नु भनेर डाक्टरहरुले भने। निको भएपछि मैले साथी र एक-दुई जना आफन्तलाई मात्र भेटेको थिएँ। अस्पतालमा (जनवरी २६ तिर) मेरो पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। फेरि अर्कोपटक पनि परीक्षण भयो। जनवरी ३१ को रिपोर्टमा पनि नेगेटिभ नै आयो। त्यसपछि मात्र बल्ल मलाई घर जान सक्नुहुन्छ भनेर डाक्टरहरुले भने।

कोरोना संक्रमित भइसकेको म चाँडे रिकभर भएँ। र, निको भएर घर फर्किएँ। अहिले म घरमै सामान्य दिनचर्या बिताइरहेको छु। युनिभर्सिटीको अनलाइन मिटिङ भइराखेको हुन्छ। पेपर वर्कहरु छन्, त्यसमै व्यस्त छु। प्रोजेक्ट वर्क पनि गरिराख्नुपर्ने हुन्छ।

अहिले कोभिड-१९ बारे सामाजिक सञ्जालमार्फत धेरै भ्रामक सूचना/समाचार प्रवाह भइराखेका छन्। यही कारण पनि धेरै मानिसमा ‘कोरोना फोबिया’ भएको देख्छु। संक्रमण भइहाले अलि बूढापाकालाई केही गाह्रो होला तर हामीजस्ता युवालाई सामान्य लक्षण नै हुन्छ। मलाई चौबीसै घन्टा ज्वरो आएन। तापक्रम थपघट हुन्छ। तर, एकदमै उच्च पनि हुँदैन। मेरो ९९ देखि १०२.४ सम्म उच्च ज्वरो थियो।

यदि कसैलाई संक्रमण भइहाले नडराउनु, बिस्तारै निको हुन्छ। जसमा प्रतिरक्षा प्रणाली कमजोर छ वा कुनै रोग छ, त्यस्ता व्यक्तिलाई अलि गाह्रो हुने हो। तर कोरोना लाग्दैमा मरिँदैन, निको भइन्छ। यसका लागि आशावादी बन्नुपर्छ, नकारात्मक सोच्नुहुन्न। (समय सान्दर्भिक भएकाले कान्तिपुरबाट साभार गरिएकाे)

यसैबीच कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ ।

अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ । वैज्ञानिकहरुले भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको बताएका छन् ।

१७ मार्चमा चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो, चीनका शीर्ष सैनिक बायो– वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।

१८ देखि ६० वर्ष उमेर समुहका कुल १ सय ८ स्वस्थ व्यक्तिलाई यस्तो भ्याक्सिन लगाइएको थियो । उनीहरुलाई तीन समुहमा विभाजन गरेर फरक मितिमा विभिन्न परिमाणका भ्याक्सिन लगाइएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

यसपछि अवस्था निगरानीका लागि उनीहरुलाई उहान स्पेशल सर्भिस हेल्थ सेन्टरस्थित आइशोलेसनमा राखियो । फरक मितिमा इन्जेक्सन लगाइएकाले फरक मितिमै उनीहरुको मेडिकल परीक्षण पूरा हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

‘मेरो स्वास्थ यो अवधीमा पूर्ण ठिक रह्यो । मैले कहिल्यै बिरामी वा पीडादायी अनुभव गरिँन,’ निगरानी अवधी समाप्त भएपछि निस्कदैं गरेका पहिलो समूहका एक सहभागीले पियर भिडियोमार्फत भनेका छन्, ‘मलाई जहाँ इन्जेक्सन लगाइएको थियो, त्यहाँ सुरुका केही दिन हल्का दुख्यो । म यस भ्याक्सिनलाई लिएर पूर्णत विश्वस्त छु । मलाई आशा छ यो छिट्टै सार्वजनिक हुनेछ ।’

अर्का एक सहभागीले आफु दैनिक जीवनमा फर्किइसकेको र सबै सामान्य रहेको बताएका छन् । ‘नियमित सुईभन्दा यो फरक थिएन । लामखुट्टेले टोकेजस्तो महसुस भयो,’ जिन गुआनपिङले साउर्थन मेट्रोपालिस डेलीसँग भनेका छन् ।

अनुुसन्धानकर्ताहरुले पहिलो परीक्षणको नतिजा सकारात्मक आएमा अन्तर्राष्ट्रिय रुपमै यसलाई बिस्तार गरिने जनाएका छन् । ‘यदी सुरुवाती नतिजाले भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी देखाएमा हामी अन्तर्राष्ट्रिय सहकार्यमार्फत विदेशमा पनि यसको प्रभावकारीताबारे जाँच गर्नेछौं,’ चेन वेईले भनेकी थिइन् ।

चाइना डेलीले यसको क्लिनिकल परीक्षण अप्रिलमा प्रकाशित गर्ने जनाएको थियो । इबोलालगायत भ्याक्सिनहरुबारे महिना दिनभन्दा लामो समयसम्म अध्ययन र अनुसन्धान गेपछि ‘रि कम्बिनेन्ट नोबेल कोरोनाभाइरस भ्याक्सिन’ विकास गरिएको थियो ।

को हुन् वी ?
५४ वर्षीय चेन वी जेनेटिक इन्जिनियरिङ भ्याक्सिनबारे चीनकी अग्रणी विशेषज्ञ हुन् । यसअघि सार्स महामारीको समय २००३ मा मेडिकल स्प्रे विकास गरेका थिए । चीनको सरकारी मिडिया रिपोर्टका अनुसार यस स्प्रेले झन्डै १४ हजार स्वास्थकर्मीलाई भाइरसको संक्रमणबाट जोगाएको थियो ।

यी वैज्ञानिक चीनमा ‘टर्मिनेटर अफ इबोला’ भनेर पनि चिनिन्छिन् । उनको टोलीले यस प्राणघातक रोगको भ्याक्सिन बनाएको थियो । उनी चिनियाँ जनमुक्ती सेनाकी मेजर जनरल हुन् । ‘यो महामारी सैन्य अवस्थाजस्तै हो । इपिसेन्टर र युद्धमैदान बराबर हो,’ नोबेल कोरोना भाइरसको लडाँइबारे चेनले भनेकी छिन् ।

यसअघि अमेरिकाको एक टोलीले पनि मुसामा कोरोनाको सम्भावित भ्याक्सिन परीक्षण गरेको थियो । यस टोलीले परीक्षणलाई सार्वजनिक रुपमा उपलब्ध गराउन कम्तिमा १२ देखि १८ महिना लाग्ने जनाएको छ ।

यसक्रममा हरेक दिन दशौं हजार डोज भ्याक्सिन उत्पादन गर्नुपर्ने टोलीले जनाएको थियो । यो टोलीले मानिसमा पहिलो परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनसँग अनुमति लिदैंछ र केही महिनाभित्रै परीक्षण सुरु गर्ने आशा व्यक्त गरेको छ ।

यसैबीच शनिबार चीनका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन हवाइट बनाइएका छन् । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा सरकारले शनिबार शोक दिवस मनाउने घोषणा गरेपछि ग्लोबल टाइम्स, पिपुल्स डेल्ली, सिन्हा लगायतका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन ह्वाइटका रुपमा प्रकाशित गरिएका हुन् ।

स्मृति दिवस मनाउने क्रममा स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म देशभर मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।

मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो । मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसको कारण अझै पनि ८१ हजारभन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो । चीनमा दिवङ्गत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।

प्रतिक्रिया