आज : गते

ताजा शिर्षकहरु

सुदुरपश्चिममा थप ३ काेराेना संक्रमित भेटिएलगत्तै सरकारले गर्याे यसताे घाेषणा, देशभर तरंग

प्रकाशित
8K
SHARES

काठमाडाैं । सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ ।

सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घाेषाणा गरेका छन् ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएकाले क्वारेन्टाइनको अवधि बढ्न सक्ने उनले बताए ।

नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले भने, ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।’

सबैलाई पुनः आग्रह गरेको छ । १४ दिनको बसीसकेको अवस्थामा अझै पनि बस्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेल्फ क्वारेन्टाइनमा बस्ने अवधि बढ्न सक्ने बताएका छन् ।

कोरोना संक्रमित कैलालीका युवक, २४ घण्टासम्म हजार जनाको बीचमा थिए
शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत चैत ११ गते कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको करिब १ हजार जनाको भिडमा २४ घण्टा बसेर आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, सरकारले लकडाउन र सीमा नाका बन्द गरे लगत्तै उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा सहभागी थिए ।

पछि मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं ल्याइएकोमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएको हो । कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि उनलाई अहिले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पु¥याइएको छ ।

तर, गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका अधिकांश घर गएका छन् । त्यसमध्ये धेरै व्यक्ति भने क्वारेन्टाइनमा नबसी सिधै परिवारको तथा गाउँलेको सम्पर्कमा पुगेका छन् । जसका कारण अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनो संक्रमणको त्रास बढेको छ ।

कोरोनाको उपचारमा अवरोध गर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने सरकारी निर्णयको विरोध
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा स्वास्थ्य सेवा संचालनमा बाधा पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निणर्य गरेको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन् ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले शनिबार विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स गर्ने भनिएको निर्णय सच्याउन माग समेत गरेका हुन् ।

चैत १९ गते स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरको बैठकले निजी तथा सरकारी अस्पतालबाट प्रदान गरिने कोभिड १९ को उपचार तथा अन्य स्वास्थ्य सेवामा बाधा पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी पेषागत इजाजत (लाइसेन्स) नै खारेज गरिदिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता नै नबुझी चिकित्सकको मनोबल गिराउने काम गरेको भन्दै संघले स्वास्थ्य मन्त्रालयको निर्णयको आलोचना गरेको हो । संघले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई स्वास्थ्य सुरक्षा सामाग्री दिएर काममा प्रोत्साहन गर्नुपर्ने माग समेत गरेको छ ।

‘स्वाथ्यकर्मी तथा चिकित्सकलाई आवश्यक पर्ने सुरक्षाका सामाग्रीहरु वेगर नै यो कोरोना भाइरसको महामारीसँग भिड्दै निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कुन फैजदारी अभियाग गरे वा कस्तो भ्रष्टाचारमा लिप्त भएको प्रमाणिकरण गरेर कसलाई स्वास्थ्य सेवाबाट वर्खास्त गर्दै हुनुहुन्छ ?,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यहाँको निर्णयले नेपाल मेडिकल काउन्सिल जस्तो स्वायत्त संस्थालाई दिइएको नियमसम्मत नसुहाउने ठाडो आदेशका कारण देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सक चिन्तित भएका छन् ।’

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह
उता प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा जानकारी लिँदै मन्त्री बरालले यो अकल्पनीय विपद्को बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्नेमा जोड दिए ।

उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गर्न लागिपरेको बताउँदै न्यूनतम आवश्यक सामग्री व्यवस्था भइसकेको दाबी गरे ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सावधानीपूर्वक काम गरिरहेको बताउँदै मन्त्री बरालले भने, ‘प्रदेश नं. ५ सरकारले दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गरिसकेका छौँ, नपुगे मेडिकल कलेजका शिक्षण अस्पताललाई पनि खाली गरेर आइसोलेशनका रुपमा प्रयोग गरिनेछ ।’

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले मन्त्री बराललाई जानकारी गराएका थिए ।

कोरोना सर्ने डरले गम्भीर रोगका बिरामी पनि घरमै, ढुक्कसँग अस्पताल आउन चिकित्सकको आग्रह
कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउँछन् । उनले भने ‘गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ । तर अहिले २ जना पनि आउँदैनन् ।’ टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाइ छ ।

उनले घरमा नै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गरे । डा अधिकारीले भने, ‘अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन ।’

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको ८ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए । ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए । गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए ।

जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन् । डा तिवारी घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउँन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउँछन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा दैनिक दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउँछन् । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव १ सय जना मात्र विरामीले सेवा लिएका थिए ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताए । जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न डा लम्साल आग्रह गर्छन् ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडे चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउँछन् । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसंग आउन उनले आग्रह गरे ।

नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिन्छन् । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने उनको भनाइ छ । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उनी बताउँछन् ।

नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा मानिसहरुमा कोरोना भाइरसबारेको भ्रमका कारण जोखिम बढेको बताउँछन् । ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उनको बुझाइ छ ।

प्रतिक्रिया