आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारीद्वारा एकाएक देशवासीका नाममा सम्बोधन, के-के भनिन ? हेर्नुहाेस पूर्णपाठसहित

प्रकाशित
4.7K
SHARES

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीलाई सम्बोधन गरेकी छन्। शुक्रबार साँझ साढे सात बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट कोरोना भाइरस रोकथामलगायत विषयमा राष्ट्रपति भण्डारीले देशवासीलाई सम्बोधन गरेकी हुन्। यस्तो छ राष्ट्रपतिको सन्देशको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज मानव जातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ। संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन। यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन।

बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो। सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन। यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ।

हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको छ।

लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन्। तर पनि सबैले आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कनु हुँदैन। आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ।

हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक छ। पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ। यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्‍याएको छ।

यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ। यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ।

यस विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दछु। नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने समेत अपेक्षा लिएको छु।

विभिन्न देशमा रहनु भएका नेपालीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्दछु। साथै कोरोना भाइरसका विरुद्धमा जुध्न विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई धन्यवाद दिन चाहन्छु।

रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भएतापनि रोग लागेको खण्डमा विरामीहरूको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकायहरू र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै नै अहोरात्र खटिरहनु भएको छ। यसका लागि सम्बन्धीत सबैको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।

यस्तो महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दछु। तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ। यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको छ।

तर नोवल कोरोनाभाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ। कोरोना भाइरस बिरुद्धको यस लडाइमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु। कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यस महामारी विरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई हार्दिक आह्वान गर्दछु।

अन्तमा, सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास सहित तपाईँहरू सबैको सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद। २०७६ साल चैत्र २१ गते शुक्रबार

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिएका छन् ।

शुक्रबारको आफ्नो नियमित प्रभातकालीन सन्देशमा सोधिएको एक प्रश्नमा उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ।’

उनले अगाडि भने, ‘त्यस हिसाबले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विधार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्छन् । उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु यो महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको स्पष्ट पारे ।

अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनको भनाइ छ । प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको बताए ।

प्रतिपक्षीको विरोध
अस्ट्रेलियाको प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टी तथा उसका भात्री संस्थाहरुले प्रधानमन्त्री मरिसनको यो घोषणाको बिरोध गरेका छन् । अस्ट्रेलियाको मजदुर युनियनले भनेको छ, ‘अन्य बेला यहाँको श्रम बजारको अधिकांश हिस्सा ओगटेका यहाँका अस्थायी बासिन्दाहरुलाई यो दु:खका बेला सरकारले सहयोग गर्नुपर्छ ।’

नेपाली समाजमा पनि प्रधानमन्त्री मरिसनको घोषणाबारे मिश्रित प्रतिक्रियाहरु सार्बजनिक भएका छन् । अस्ट्रेलियाका नेपाली कानून व्यवसायी डा शम्शेरसिंह थापाले भने, विद्यार्थीहरुले अस्ट्रेलियामा कामको सुविधा पाएका हुन् । अधिकार होइन । सैद्धान्तिक र ब्यबहारिक कुरालाई अलग-अलग रुपमा हेरिनु पर्छ ।’

अहिले अस्ट्रेलियामा अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दाहरु पनि समस्यामा रहेको भन्दै उनले सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दाको समस्या पहिले हल गर्नु उसको कर्तव्य भएको बताए । विद्यार्थीका समस्याबारे भविष्यमा असर नपर्ने गरी ब्यबहारिक र कूटनीतिक रुपमा हल गर्नुपर्ने उनको भनाइ छ ।

‘तत्कालीन फाइदालाई हेरेर सरकारको आलोचना गर्नु हुँदैन तर यहाँ स्थित शैक्षिक संस्थाहरु र परामर्शदाताहरुले भने नैतिक रुपमा सहयोग गर्नुपर्छ ।’ नेपाली सामाजिक संस्थाहरुको अस्ट्रेलिया ब्यापी महासंघ फेंकाले यहाँ भएका विद्यार्थी तथा अस्थायी बासिन्दालाई स्वास्थ्य र सामाजिक सुरक्षा परियोजनामा समेट्न आग्रह गर्दै दुईवटा पत्र यहाँका सामाजिक सुरक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीलाई पठाएको छ ।

केही विज्ञहरुले अस्ट्रेलियामा समस्यामा परेका जो सुकैलाई पनि खाना तथा बासको ब्यबस्था गर्ने संस्थाहरु पनि भएका बताए । नेपाली सामाजिक संस्थाहरुले पनि तत्काल समस्यामा पर्नेहरुलाई मानवीयताका आधारमा सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया