आज : गते

ताजा शिर्षकहरु

यी भीआईपीहरुलाई पनि लाग्याे कोरोना – नेता, सेलिब्रेटीदेखि सेनापतिसम्मकाे सूचिसहित

प्रकाशित
2K
SHARES

काठमाडौं । तीन महिनाअघि चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरसका कारण हालसम्म ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ । यसबाट संक्रमित १ लाख ८२ हजार ६ सयमध्ये करिब ७९ हजार निको भइसकेका छन् ।

कोरोना भाइरसकै कारण अमेरिका, स्पेन, इटाली लगायतका मुलुकमा संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट आम सर्वसाधारणसहित नेता, सेलिब्रेटी र उच्च पदस्थ व्यक्ति पनि संक्रमित भएका छन् । आज हामी कोरोना भाइरसबाट प्रभावित सेलिब्रेटी र उच्च पदस्थ व्यक्तिहरुको चर्चा गर्दैछौं ।

१. इटालीको चियेने नगरका मेयर गियोर्गियो भलोटी – इटालीको चियेने नगरको मेयर गियोर्गियो भलोटीले कोरोना भाइरसका कारण ज्यानै गुमाए । उनमा गत मार्च ७ बाट कोरोना भाइरसको लक्षण देखा परेको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

७० वर्ष उमेर रहेका उनले गत शुक्रबार ज्यान गुमाएका थिए । चियेने नगर इटालीको सबैभन्दा बढी प्रभावित उत्तरी भेगमा पर्छ । कोरोना भाइरसका कारण उनको फोक्समा संक्रमण भएको र निमोनिया भएपछि शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।

२. फातेमाह रहबर इरानी सांसद – इरानी सांसद फातेमाह रहबरको कोरोना भाइरसकै कारण अघिल्लो साताको शुक्रबार मृत्यु भएको थियो । इरानको अर्ध सरकारी समाचार संस्था तस्नीमले उनको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । उनी गत फेब्रुअरी २१ मा भएको आम निर्वाचनमा तेहरानबाट निर्वाचित भएकी थिइन् ।

१. क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी – लण्डन भ्रमण गरी स्वदेश फर्केपछि सोफी ट्रुडोमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको गत बिहीबार क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको थियो ।

उनी हाल आइसोलेसनमा छिन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिने आइसोलेसनमा बसिरहेका छन् । यद्यपि ट्रुडोले कोरोना भाइरसको परीक्षण भने नगरिने क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यससँगै यसअघि तय भएका कुनै पनि कार्यक्रममा प्रधानमन्त्री ट्रुडोको उपस्थिति रहने छैन । क्यानाडामा हालसम्म ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ जनाको मृत्यु भइसकेको छ भने २७ जना निको भइसकेका छन् ।

२. बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिज -बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री एवं कन्जरभेटिभ पार्टीकी सांसद् नदिन डोरिजमा गत बिहीबार नै कोरोना भाइरसको लक्षण देखा परेको थियो ।

६२ वर्षे डोरिजलाई कोरोनाको संक्रमण देखिएकै दिन उनी प्रधानमन्त्री बोरिस जोनसन उपस्थित रहेको कार्यक्रममा सहभागी थिइन् । उनीसँगै उनकी आमामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । ८४ वर्षे उनकी आमाले पनि कोरोना भाइरसको लक्षण देखाएकी थिइन् । आमासँगै डोरिज यतिबेला सेल्फ आइसोलेसनमा छिन् ।

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १ हजार ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ५५ जनाको ज्यान गइसकेको छ । ५२ जना भने कोरोनालाई जितेर निको हुन सफल भएका छन् ।

३. अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन – उनीहरुलाई गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु अष्टे«लिया भ्रमणमा रहेका बेला कोरोनाबाट संक्रमित भएका थिए ।

उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुमा शुरुमा यसको सामान्य लक्षण देखा परेको र परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताएका छन् । एल्भिस प्रेस्लीको बायोपिक शुटिङका क्रममा अष्टे«लियामा रहँदा उनीहरुमा कोरोनाको लक्षण देखा परेको थियो ।

उनीहरु दुबैले स्वास्थ्य अधिकारीको सल्लाहबमोजिम निश्चित स्वास्थ्य सतर्कता अपनाएको बताएका छन् । अस्ट्रेलियामा हालसम्म ४ सय ०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन् ।

४. ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेन – ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेनलाई गत बिहीबार कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पुष्टि भएको थियो ।

उनले अघिल्लो साता राष्ट्रपति बोल्सोनारोसँगै अमेरिका भ्रमणमा गएको थिए । अमेरिका भ्रमणका क्रममा उनी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागि कार्यक्रममासँगै देखिएका थिए ।

प्रेस सचिवमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ब्राजिलका राष्ट्रपतिले पनि कोरोना भाइरसको परीक्षण गराएका थिए । शुरुमा बोल्सोनारोलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएपनि पछि सामाजिक सञ्जालमार्फत् उनले यस्तो समाचारको खण्डन गरेका थिए ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ कोरोना कै कारण भने कसैको पनि ज्यान गएको छैन । कोरोनाबाट संक्रमितमध्ये त्यहाँ केबल २ जनामात्र निको भएका छन् ।

५. इटालीका सेनापति साल्भाटोर फरिना – इटालियन सेनाका सेनापति साल्भाटोर फरिनालाई गत सोमबार कोरोना भाइरस लागेको पुष्टि भएको थियो । उनलाई आइसोलेसनमा राखिएको छ भने उनको स्थानमा फेडेरिको बोनाटोलाई सेनापतिको जिम्मेवारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको केन्द्रविन्दु तोकेको युरोपेली मुलुक इटाली कोरोना भाइरसबाट चीनपछि सबैभन्दा धेरै प्रभावित मुलुक हो । त्यहाँ हालसम्म २७ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । तीमध्ये २ हजार १ सय ५८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये २ हजार ७ सय ४९ जना निको भइसकेका छन् ।

६. अस्ट्रेलियन गृहमन्त्री पटर डटन – अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डटनले शुक्रबार सबेरै ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए ।

उनले चिकित्सकको परामर्श अनुसार आफू अस्पतालमा उपचार गराइरहेको र अरुबाट अलग्गै बसिरहेको समेत जनाएका छन् । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अस्ट्रेलियामा मानिसहरुलाई भेला नहुन भनिएको छ ।

७. फ्लोरिडाको मियामी शहरका मेयर फ्रान्सिस सुआरेज – मियामी शहरका मेयर फ्रान्सिस सुआरेजलाई गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

ब्राजिलियन राष्ट्रपति तथा उनका प्रेस सचिवसहितको टोलीसँग एउटा कार्यक्रममा सहभागी भएको चार दिनपछि उनले स्वास्थ्य परीक्षण गरेको र त्यसपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यद्यपि उनले कोरोना भाइरसको लक्षण भने नदेखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले आफूलाई कोरोना भाइरस लागेकोबारे ब्राजिलका राष्ट्रपतिलाई जानकारी गराइएको बताएका थिए ।

मियामी डाडे काउन्टीमा कोरोना भाइरसबाट संक्रमित हुने उनी दोश्रा व्यक्ति बनेका थिए । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ३ हजार ८ सय २ जना संक्रमित भएका छन् । अमेरिकामा यसका कारण ६९ जनाको मृत्यु भइसकेको छ भने ७३ जना निको भएका छन् ।

८. इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर बेलायती – इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीलाई गत बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । इरानी सञ्चारमाध्यमले जनाए अनुसार उनको स्वास्थयमा सुधार आइरहेको छ । उनले कोरोना भाइरसको सामान्य लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालरोग विशेषज्ञ समेत रहेका उनी खामेनीको निकटस्थ मानिन्छन् । इरानमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ७२४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय ९० जना निको भइसकेका छन् ।

९. इरानी उपराष्ट्रपति मासुमेह एब्टेकार – इरानी उपराष्ट्रपति मासुमेह एब्टेकारमा दुई साता अघि नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । महिला एवं बालबालिका मामिलाका लागि उपराष्ट्रपति मासुमेह इरान सरकारको सबैभन्दा वरिष्ठ पदमा रहकी महिला हुन् ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा आइसकेपछि पनि उनले राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेकी थिइन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उपराष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको थियो । उनको घरमै उपचार भइरहेको जनाइएको छ ।

१०. स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेज फर्नाण्डेज – स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेजलाई कोरोना भाइरसको पुष्टि भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले शनिबारमात्र जनाएको थियो । हाल उनी आइसोलेसनमा बसिरहेकी छिन् ।

त्यसबाहेक प्रधानमन्त्री पेद्रो सान्चेज पनि आइसोलेसनमा छन् । स्पेनमा कोरोना भाइरसलाई मध्यनजर गरी आपतकालको घोषणा गरिसकिएको छ । स्पेनमा हालसम्म ९ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३ सय ४२ जनाको मृत्यु भइसकेको छ भने ५ सय ३० जना निको भइसकेका छन् ।

११. स्पेनी समानता मन्त्री आइरेने मोन्तेरो – स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरो पनि कोरोना भाइरसबाट संक्रमित छिन् । उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतीसँगै क्वारेन्टाइनमा राखिएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य स्थीर रहेको जनाइएको छ ।

१२. आर्सनलका म्यानेजर मिकेल आर्टेटा – राजनीतिज्ञबाहेक खेलाडी तथा खेलकुदमा संलग्न मानिसहरुलाई पनि यतिबेला कोरोना भाइरसले सताएको छ । कोरोना भाइरसले सताउनेमा परेका छन्, आर्सनलका म्यानेजर मिकेल आर्टेटा ।

उनलाई अघिल्लो साता नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आइसोलेसनमा छन् । उनलाई कोरोना भाइरसको संक्रमण देखा परेपछि शुक्रबार ब्राइटनविरुद्धको खेल नै रद्द गरिएको थियो । आर्सनलले आफ्ना सबै खेलाडी तथा कोचिङ स्टाफलाई उच्च निगरानीमा राखेको छ ।

१३. चेल्सीका खेलाडी कलम हडसन अडोये – चेल्सीका उदयीमान खेलाडी कलम हडसन अडोयेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै हडसन अडोयेले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका थिए ।

उनले सन्देशमा चिकित्सकहरुको परामर्श अनुसार सतर्कता अपनाएको जनाएका थिए । हडसन अडोयेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चेल्सी क्लबले पनि आफ्ना सबै खेलाडी एवं कोचिङ स्टाफहरुलाई उच्च निगरानीमा राखेको छ ।

१४. एनबीए खेलाडी रुडी गोबर्ट – अमेरिकाको राष्ट्रिय बास्केटबल प्रतियोगिता नेशनल बास्केटबल एसोसिएसन अन्तर्गत युटा जाज क्लबका खेलाडी रुडी गोबर्टमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनबीएले सम्पूर्ण खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

१५. युटा जाजका खेलाडी डोनोभान मिचेल – युटा जाज कै अर्का खेलाडी डोनोभान मिचेलमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्पोट्र्स साइट ईएसपीएनले जनाएको छ । ओक्लाहोमा सिटीमा गत बुधबार युटा जाजका सबै खेलाडीहरुको परीक्षण गरिएकोमा मिचेलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । खेलाडीहरुमा कोरोना भाइरस पुष्टि भएसँगै एनबीएले ओक्लाहोमा सिटी थण्डर्सविरुद्ध जाजको खेल नै रद्द गरेको थियो ।

१६. एनबीए खेलाडी क्रिस्टियन उड – एनबीएमा डेट्रोइट पिस्टन्सका फरवार्ड क्रिस्टियन उडमा गत शनिबार कोरोना भाइरस पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । उनीनिकट मानिसहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले उनमा कोरोना भाइरस पुष्टि भएको जनाएका थिए ।

एनबीएमा कोरोना भाइरसको संक्रमण देखिने उनी तेस्रा खेलाडी हुन् । यससँगै एनबीएले प्रतियोगिताका सबै खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया