आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सतुंगलबाट ८ लाख ४० हजार मास्क लुकाउनेलाई प्रहरीले जेलमापनि कोच्यो, मास्कपनि लग्यो

प्रकाशित
3.1K
SHARES

३ चैत, काठमाडौं । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो । यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवास महेश्वरी, कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जन कुमार रेग्मी छन् । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राख्नेहरुबीच सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले ती सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । त्यहिँ लगेर मास्क गणना गरिने भएको छ । प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ । यो संख्या घटिबढि पनि हुनसक्ने थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया