आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालुवाटारमा भन्दा कोटेश्वरमा भिडभाड

प्रकाशित
3.7K
SHARES

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद साम्य हुने अवस्थामा छैन । केपी ओली अल्पमतमा पर्ने वित्तिकै बालुवाटारमा नेताहरूको भिडभाड पातलिन थालेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा नेताहरू बाक्लै देखिन थालेका छन् । ओली कमजोर हुँदै गएपछि नेपाल बलियो पोजिशनमा पुगेका हुन् ।

एमालेको नवौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा चलिरहेका बेला झलनाथ खनाल समूहबाट वामदेव गौतमले गुट त्यागेर ओली समूहमा गएका थिए । गौतमले भृकुटीमण्डपको गुट भेलामा भनेका थिए– माधव नेपाल एउटा सल्लाका रूख हुन्, आफूमाथि जाने, तल कसैलाई पनि जाग्न नदिने । यसपटक उनलाई जीवनभर उठ्न नसक्ने गरी ढाल्नुपर्छ ।

०७१ सालमा भएको महाधिवेशनमा झिनो मतान्तरबाट अध्यक्षमा पराजित नेता नेपाल पटक–पटक ढले । उत्ति नै पटक उठे । गौतम भने ढलेका ढल्यै भएका छन् । अध्यक्ष ओलीले उनलाई बारम्बार ढालेका हुन् । नेता नेपालले नै उनलाई बारम्बार उठाउनुपरेको छ । गौतमका खुट्टा ठीक ठाउँमा छैनन् भन्नेहरू पनि छन् । उनी कहिले ओली कहिले प्रचण्डनिकट भएको आरोप खेपिरहेका छन् ।

एमालेको त्यो महाधिवेशनयता नेपाललाई अध्यक्ष ओली समूहले निरन्तर प्रहार गर्‍यो । एमाले महाधिवेशनदेखि माओवादीसँग पार्टी एकतासम्म नेपाल बारम्बार लखेटिए, हेपिए र कर्नरमा पारिए । तापनि पार्टीबाट विचलित भएनन् । नेता नेपाल अहिले ओली समूहका नेताको पूजा गर्ने मौलो बन्न थालेका छन् ।

पार्टीलाई व्यक्तिको इच्छाभन्दा विधि र विधानबाट चलाउनुपर्ने अडान नेपालले तत्कालीन एमालेदेखि राख्दै आएका थिए । पार्टी एकतापछि दुई अध्यक्षको इच्छामा पार्टी चल्यो । विधि र विधानमा नचलेका कारण लाखौं कार्यकर्ताले पार्टी सरकारमा भएको अनुभूति गर्न सकेका छैनन् । पार्टीमा योगदान र क्षमताभन्दा दुई अध्यक्षको चाप्लुसी गर्नेहरू मन्त्रीदेखि पार्टीको प्रभावशाली पदमा पुगे । योग्य र क्षमतावान् कार्यकर्ता सधैँ  रछ्यानबाहिरको माली बने ।

नेपाल पक्षलाई रछ्यानबाहिरको माली बनाउने ओली समूह नै हो । उनको समूहमा बसेर गुटको खेती गर्नेहरू ओलीलाई खुसी बनाउनका लागि नेपालको सार्वजनिक आलोचना गर्न पछि पर्दैनथे । गाउँ, जिल्लादेखि केन्द्रसम्म नेपाल समूहमाथि अन्याय मात्र होइन, अत्याचार गरिएका तथ्यको चाङ छ । अत्याचारकै हिमायतीहरू यति बेला नेपाल निवास कोटेश्वरमा पालो कुरेर बसिरहेका छन् ।

नेकपाभित्रको समीकरण बदलिएको छ । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा छन् । पार्टीको प्रदेश र जिल्ला कमिटी बनाउँदा नेता नेपाललाई यसरी नै अल्पमतमा पारिएको थियो । सांसदको टिकट दिँदा पनि यसरी नै गुटको हतियार चलाएर नेपाल समूहको सफाय गर्ने नियत कार्यकर्ताले मात्र हैन, जनताले पनि बुझेका थिए । यतिसम्म कि टिकट पाएर गाउँ पुगेका नेताको टिकटै खोसिएको थियो । जुन पीडाको भारी जाजरकोटका नीरज आचार्यले भोगे ।

ओली अल्पमतमा परेपछि भने चाटुकारहरू नेपाल निवास छिर्न थालेका छन् । उनीहरूको नियत स्पष्ट छ– नेपाललाई फकाउन होइन, फसाउन हो । ओलीविरुद्धको गठबन्धन टुटाउन उनीहरू दिनरात लागिपरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बलियो गठबन्धन बनेको छ । यसलाई तोड्न ओली समूहका नेताहरूले नेपाल निवासमा लिगलिगे दौड थालेका छन् । नेपालको सधैं आलोचना गर्ने नेताहरूको मुहार अहिले बालुवाटारभन्दा कोटेश्वरमा बढी देखिन थालेको छ ।

उनीहरूले पूर्वएमालेको गुट बनाउन कसरत थालेका छन् । नियत छुट्टै गुट बनाएर नेपाललाई नेता बनाउने होइन, प्रचण्डसँग दूरी बढाएर गठबन्धन टुटाउने खेल हो । प्रचण्ड र वरिष्ठ नेता नेपालबीच अहिले सम्बन्ध राम्रो छ । यो सम्बन्धमा ब्रेक लगाउने कोसिस भइरहेका छन् ।ओली समूहका नेताहरूले जनताको बहुदलीय जनवाद (जबज)को नाम दिएर ओली र नेपाल मिल्नुपर्ने तर्क गर्न थालेका छन् । जबज पक्षधर एक हुनुपर्ने र त्यसको नेतृत्व नेपाललाई लिन आग्रह गरिरहेका छन् । नेपाल भने तत्काल जबजको बहस थाल्ने पक्षमा छैनन् ।

नेपालको आलोचना गर्न तत्कालीन एमालेभित्र एउटा संस्था खडा गरिएको थियो– मदन भण्डारी फाउन्डेसन । फाउन्डेसनबाट गरिने सबै कार्यक्रममा नेपाल समूहको चर्काे आलोचना गरिँदै आएको थियो । बिहीबार त्यही संस्थाको कार्यक्रममा नेपाललाई प्रमुख अतिथि बोलाइयो । त्यो प्रयास ओली र नेपाल एक भएको भ्रम पैदा गर्नुबाहेक अरू केही होइन । कतिपय सञ्चारमाध्यमबाट त्यो भ्रम पनि पैदा गरियो । नेपालले कार्यक्रममै जबजको बहस थाल्ने बेला नभएको अभिव्यक्ति दिएर उनीहरूको योजना भताभुंग पारेका छन् ।

ओली समूह अल्पमतमा परेपछि केही समयअघि फाउन्डेसनमा छलफल भएको थियो । त्यहाँ पनि नेता नेपालकै पक्षमा छलफल भएको स्रोतले बताएको छ । पूर्वमाओवादी र प्रचण्डका गतिविधिलाई तह लगाउन नेपाललाई नेता मानेर जाने विषयमा छलफल भएको थियो । त्यसपछि ओली समूहका नेताले कोटेश्वर धाउन थालेका हुन् ।

प्रतिक्रिया