आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनको त्रास बढेपछि आजैदेखि लागुहुने गरी लगातार १४ दिन सार्वजनिक बिदा, तर कुन कुन ठाउमा ?

प्रकाशित
17.8K
SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिंदै कुवेत सरकारले आज (बिहीबार)देखि दुई सातासम्मलाई सार्वजनिक बिदाको घोषणा गरेको छ । ठूलो संख्यामा नेपाली र अरु देशका आप्रवासी कामदार रहेको कुवेतले संक्रमण फैलिन सक्ने भन्दै यस्तो गरेको हो ।

करिब ४२ लाख जनसंख्या रहेको कुबेतमा ७० प्रतिशत आप्रवासी कामदार रहेको तथ्यांक छ । करिब ८५ हजार नेपाली कामदार कुवेतमा कार्यरत छन् । कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी कार्गो बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने भएको छ । यसले नेपाली कामदार पनि प्रभावित हुनेछन् ।

कुवेतमा हालम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अन्तरष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उता युरोपमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको बेला डेनमार्कले मानिसहरुको जमघट र शैक्षिक संस्था सञ्चालनमा रोक लगाएको छ । यस्तो प्रतिबन्ध लगाउने डेनमार्क दोस्रो युरोपेली मुलुक हो । यसअघि इटलीले यस्तै प्रतिबन्ध लगाइसकेको छ ।

डेनमार्कको प्रधानमन्त्री मेट्टे फेडेरिक्सनले सबै विश्वविद्यालय, कलेज, स्कुल र शिशु स्याहार केन्द्रहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएकी छन् । मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन भनिएको छ । सार्वजनिक सभा, सम्मेलन गर्न रोक लगाइएको छ । घरभित्रै एक सय जनाभन्दा बढी मानिसहरु सहभागी हुने कार्यक्रम गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

कम संवेदनशील सार्वजनिक सेवाका कर्मचारीहरुलाई घर फिर्ता गर्ने र निजी क्षेत्रका कर्मचारीहरुलाई घरमै बसेर काम गर्न प्रोत्साहित गरिने प्रधानमन्त्री फेडेरिक्सनको भनाइ छ । डेनमार्कमा बुधबारमात्रै चार सय ४२ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका थिए । युरोपमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजारभन्दा बढी पुगिसकेको छ । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटली हो । इटलीमा मात्रै ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय ४९ जना संक्रमित छन् ।

एक तथ्यांकअनुसार युरोपभर कोरोना भाइरसको संक्रमणबाट ९५१ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उपायस्वरुप अमेरिकाले बेलायतबाहेकका सबै युरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए ।

कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् । यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए, ‘कोरोना भाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्न तयार छ ।’

ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’ अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ ३५ छ । यसैको कारण ३८ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै चीन, इटाली, इरान र कोरियामा पाइएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ ।

यसैबीच अमेरिकाको पिट्सबर्गमा यसै महिना हुने तय भएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकको तरिका फेरबदल गरिएको छ । मार्च २४ र २५ तारिकमा हुने बैठक अब भिडियो कन्फरेन्समार्फत् हुने छ ।

यस्तै लस एन्जलेन्समा यसै वर्षको जून महिनामा हुने ई–३ एक्सो (मनोरञ्जनात्मक इलेक्ट्रोनिक प्रदर्शनी) रद्द गरिएको छ । भिडियो गेमिङ इन्डष्ट्रीका लागि महत्वपूर्ण मानिने यो एक्स्पोमा विश्वभरका भिडियो गेम बनाउने कम्पनीहरु र गेम खेल्ने व्यक्तिहरु सहभागी हुन्छन् ।

स्यानिटाइजरले हात धुदाँ मर्छन कोरोनाका किटाणु ?
विश्वभर कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । कोरोनाको संक्रमणबाट बच्न अधिकाशं मानिले मास्क र ह्याण्ड स्यानिटाइजरको प्रयोगमा जोड दिएका छन् ।

तर अहिले बजारमा ह्याण्ड स्यानिटाइजरको कालोबजारी शुरु भएको छ । बजार मुल्य भन्दा दोब्बर तेब्बर मुल्यसम्म लिन थालिएको स्यानिटाइजरको मुल्य बारे सरकारले नियमन भने गर्न सकेको छैन । अधिकाशं औषधी पसलमा अभाव भएको स्यानिटाइजर पाइएको स्थानमा भने महंगो मुल्यमा बिक्रि हुदै आएको छ । तर स्यानिटाइजरको प्रयोगले कोरोनाको किटाणु मार्छ त ?

कुनैपनि रोगको सम्भावित किटाणुहरुलाई मार्नका लागि स्यानिटाइजरको प्रयोग गरिन्छ । तर कोरोनाको किटाणु मार्न स्यानिटाइजर भरपर्दो विकल्प भने होइन । चिकित्सकहरुका अनुसार स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै किटाणुलाई मार्छ भन्ने सोच गलत हो । धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । साबुनले हात धुनु बढी राम्रो हो ।

स्यानिटाइजरमा अल्कोहलको मात्रा कम र ट्राइक्लोस्यानको मात्रा धेरै हुन्छ । ट्राइक्लोस्यान शक्तिशाली एन्टिब्याक्टेरियल एजेन्ट हो । तर ट्राइक्लोस्यानले रुघाखोकीमा एन्टीबायोटिकले काम गर्न सक्दैन । अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । साथै स्यानिटाइजरले प्रयोगले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिन्छ ।

यो तपाईंको रोगप्रतिरोधक क्षमताका लागि पटक्कै राम्रो होइन । त्यसैले सम्भव भएसम्म समय समयमा हात धुनु नै प्रभावकारी विकल्प हो । यदि कारणवशं पटक पटक हात धुन सम्भव नभए मात्र स्यानिटाइजरको प्रयोग गर्ने विकल्पको रुपमा राख्नुपर्दछ । विशेषतः कसैसँग भेटेपछि वा खाना खानुअघि अनिवार्य हात धुनुपर्छ । कोरोनाको संक्रमण हात मिलाउँदा सर्ने भएकोले हात मिलाउन बन्द गर्नुपर्दछ ।

कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य समेटेर हाम्रा पाठकहरूका लागि यो ब्रिफिङ पेपर तयार गरेका छौं।
१.कोरोना भाइरस पक्कै पनि खतरनाक छ। तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ। त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन्।

२. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ। कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।

डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ। अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ। ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ।

३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्‍याल आदिमा चढेर यो बाहिर निस्कन्छ। त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन। अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन।

मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, र्‍यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन्।

४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ। त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।

५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन। तबसम्म यो शरिरभित्र छिर्न सक्दैन। भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो।

हामी प्राय: बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं। घरी आँखा मिच्छौं। घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्‍याउँछौं। यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ। संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्‍याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।

६.जतिसक्यो धेरै हात धुनु पर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ। जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।

कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ। त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ। यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ। भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन।

७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ। तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन। कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो।

८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ। कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन।

यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ। पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्‍यालका छिटा तपाईंको नाक-मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन्। त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ। मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ। तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ। तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ।

९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन्। त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ। चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रतिक्रिया