आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोइरालाको आरोप – पद बाँडेर देउवा बलियो बन्न खोजे

प्रकाशित
0.9K
SHARES

मोरङ। कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले पद बाँडेर बलियो बन्‍न खोजेको आरोप लगाएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार प्राध्यापक र बुद्धिजीवीहरूसँगको छलफलमा कोइरालाले देउवाले आफू निकटका व्यक्तिलाई पद बाँडेर बलियो भएको अनुभूति गरिरहेको बताएका हुन् ।

‘शेरबहादुर देउवाजी समग्र पार्टीको सभापति हुन नसकेकाले पार्टी कमजोर हुँदै गएको छ,’ उनले भने, ‘नेतृत्वले गुटको राजनीति गर्ने होइन, सभापति भनेको सबैको हुनुपर्छ।’ पार्टीभित्र विचारको बहस हुन नसक्दा नेतृत्वलाई समस्याको बारेमा जानकारी नभएको कोइरालाको भनाइ छ। देउवाले हालै पार्टीका विभागहरु गठन गरेका छन् ।

‘गिरिजाबाबु सभापति हुँदा पनि समस्या थियो तर उहाँ पद बाँड्‍नु हुन्नथ्यो,’ उनले भने, ‘गिरिजाबाबु आफू अप्ठ्यारोमा पर्दा जिल्ला जिल्लामा गएर नेता कार्यकर्तालाई भेट्‍नु हुन्थ्यो र उनीहरुको विचार बोकेर काठमाडौं फर्किनु हुन्थ्यो र आफ्‍नो धारणा सार्वजनिक गर्नुहुन्थ्यो।’

भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको पनि उनले बताए। उनले देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गरे। ‘१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदै गर्दा देउवाजीले पार्टीलाई एकढिक्का बनाउने र भागबण्डाको राजनीति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो,’ कोइरालाले भने, ‘तर उहाँको कार्यकाल सकिँदै गर्दा पनि भागबण्डा गरिरहनु भएको छ, गुटगत राजनीतिलाई बढावा दिइरहनु भएको छ।’

भागबण्डाको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत साथ दिइरहेको कोइरालाको आरोप थियो। ‘आफ्‍नो मान्छे पर्दा चुप बस्‍ने अनि नपर्दा विरोध गर्ने चरित्र वरिष्ठ नेताहरूमा समेत देखिएको छ,’ उनले भने। उनले नेविस‌ंघमा भएको भागबन्डालाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गरे।

कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गरे। सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको विश्वास गुम्दै गएको बताए। ‘वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बाँस्कोटाको डिफेन्स गरिरहनुभएको छ किन?’

उनले कांग्रेसको संसदमा पनि सशक्त उपस्थिति हुन नसकेको बताए। नेकपाकै साथीहरूले पनि प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु पर्ने धारणा राख्दै आएको कोइरालाको भनाइ थियो। ‘नेकपाका नेताहरू समेत सरकारको कामबाट सन्तुष्ट नरहेकोले गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको अपेक्षा छ,’ उनले भने।

प्रतिक्रिया